रास्वपाले गर्‍यो उपसभामुखको बचाउ, ‘उपसभामुख निष्कलंक हुन्’

हिमाल प्रेस ६ साउन २०८१ ९:२३ | Sunday, July 21, 2024
रास्वपाले गर्‍यो उपसभामुखको बचाउ, ‘उपसभामुख निष्कलंक हुन्’ इन्दिरा रानामगर। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरको विषय विवादमा ल्याएर पार्टीलाई बदनाम गर्न खोजेको आरोप लगाएको छ। रास्वपाले विज्ञप्तिमार्फत उपसभामुखसँग जोडेर पार्टीको छविलाई धूमिल पार्ने प्रयास भएको बताएको छ। यद्यपि, रास्वपाले उपसभामुखको बचाउ गरेको छ।

यसअघि ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ का कारण उपसभामुख विवादित बनेकी थिइन्। उनले आफूसँग ५ नेपालीलाई अमेरिका लैजान पैसा असुलेको समेत आरोप लागेको थियो। तर रास्वपाले उपसभामुख निष्कलंक छविकै भएकाले सांसद र उपसभामुखको बनाएको बताएको छ।

‘केही समयअघि उक्त विषय (रानाविरुद्धको आरोप) बारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो। सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देशबाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन’, रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो कुराकानी पनि पार्टीसँग सुरक्षित रहेको उनले उल्लेख गरेका छन्।

‘विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन, भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ’, रास्वपाले विज्ञप्तिमार्फत भनेको छ, ‘उपसभामुखज्यूलगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भएरनभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैँ रहिआएको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौँ।’

यस क्रममा रास्वपाले निष्कलंक छविकै कारण रानालाई सांसद र उपसभामुखको उम्मेदवार बनाएको दाबी पनि रास्वपाले गरेको छ। साथै हाल उनी पार्टीबाट अलग रहेको स्पष्टीकरण पनि रास्वपाले दिएको छ।

‘आफ्ना सारा आम्दानी र सम्पत्ति निःस्वार्थ समाजसेवामा लगाउनुभएकी उपसभामुखज्यू विभिन्न प्रतिष्ठित राष्ट्रियरअन्तर्राष्ट्रिय पुरस्कारबाट समेत विभूषित हुनुहुन्छ’, विज्ञप्ति भनिएको छ, ‘उहाँको निष्कलंक र उज्यालो छविकै कारण रास्वपाले उहाँलाई पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको हो। यद्यपि पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहनुभएको सर्वविदितै छ।’

 

प्रकाशित: ६ साउन २०८१ ९:२३ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast