शाश्वत विषय हो- प्राणी उत्पन्न हुन्छ, केही समय जीवित रहन्छ अनि मर्छ। प्रश्न उठ्छ, बाँच्नु र मर्नु हो के? के जीवन कतैबाट आउने र मृत्यु केही समय रहेर कतै जाने ढोका हो? धेरै समयपहिले ‘कठोपनिषद्’ मा नचिकेताले मृत्युलाई सम्बोधन गर्दै यी प्रश्न उठाएका थिए। प्राणी यहीँ पैदा हुन्छन् या कतैबाट आउँछन्? यहीँ समाप्त हुन्छन् या कतै जान्छन्? यो शरीर आदि र अन्त्य हो त?
जीव, आत्मा, पुनर्जन्म आदि पूर्वीय आस्तिक दर्शनका प्रमुख विषय हुन्। प्राचीनतम् ऋषि/महर्षिमध्ये एक चार्वाकले भने ‘भष्मीभूतस्य देहस्य पुनरागमनं कुतः’ भनेका छन्। अर्थात् यो नष्ट हुने शरीरको पुनरागमन सम्भव छैन। चार्वाकलाई नास्तिक दर्शन भनिन्छ।
पूर्वजन्ममा विश्वास गर्ने पूर्वीय र पाश्चात्य विद्वान्हरूको मतअनुसार शरीरका अतिरिक्त शरीरभित्र सूक्ष्म रूपमा एउटा त्यस्तो तत्त्व विद्यमान छ, जसलाई कोही चेतना र कोही आत्माको नामले सम्बोधन गर्छन्। आत्माको अस्तित्व अस्वीकार गर्नेहरू शरीर नष्ट भएपछि कुनै पनि तत्त्वको अस्तित्व नरहने तर्क प्रस्तुत गर्दछन्। आत्मवादीहरू आत्मा स्वयंसिद्ध वस्तु भएकाले प्रमाणित गरिरहन आवश्यक ठान्दैनन्। हरेकलाई ‘अहंत्व’ अर्थात् ‘मपाईँत्वको’ को अनुभूति हुन्छ। यो नै सबैभन्दा बलियो प्रमाण हो- आत्माको उपस्थितिको।
सोह्रौँ शताब्दीका प्रसिद्ध पाश्चात्य दार्शनिक डेकार्टले भनेका छन्, ‘सोच्न सक्ने भएकाले म छु।’ ‘मको अनुभूति’ तथा ‘विचार गर्नु’ या ‘सन्देह गर्नु’ भन्नु यसको बलियो प्रमाण हो। ‘म’ भन्नेवाला, ‘विचार’ एवम् ‘सन्देह’ गर्नेवाला शरीरभन्दा अलग छ। शरीर जड हो। जड वस्तुबाट ‘म’ को ध्वनि निस्कने सम्भावना रहँदैन। विचार गर्न सक्ने क्षमता पनि हुँदैन। जडभित्र जडभन्दा भिन्न कोही विद्यमान छ, आफूलाई जडभन्दा भिन्न सम्झँदै र आफूलाई ‘म’ भन्दै।
यस सन्दर्भमा अमेरिकामा गरिएको एउटा अध्ययन प्रासंगिक हुन्छ। प्रयोगशालामा केही कुकुरलाई अति चिसो स्थानमा राखियो, जसले गर्दा उनीहरूको जीवनको सम्पूर्ण क्रिया बन्द भयो। मेडिकलको भाषामा उनीहरूको मृत्यु भयो। करिब दुई घण्टापछि तापक्रम बढाउँदै जाँदा उनीहरू पुनः जीवित भए। कुकुरहरूको मुटु चल्न थाल्यो, मस्तिष्कले पनि काम गर्न थाल्यो।
यो प्रयोगबाट के सिद्ध हुन्छ भने शरीर मरेर पनि कुनै शक्ति जीवित रहन्छ, जसले शरीरलाई जगाइदिन्छ। यही शक्तिलाई नै आत्मा भन्न सकिन्छ। कोषिकाहरू परिवर्तित हुँदा शरीर नयाँ बन्न जान्छ। परन्तु बाल्यकाल, युवावस्था, वृद्धावस्थामा पनि परिवर्तन नहुने तत्त्व नै ‘म’ हो। शरीर, मस्तिष्क, तन्त्रिकातन्त्र यसै जन्ममा बदलियो तर यी सम्पूर्ण अदलबदललाई शरीरभित्रै बसेर एकरूपले जानिराख्ने त्यही त आत्मा हो, जसको पुनर्जन्म हुन्छ- अर्को कुनै माध्यमबाट।
यस धराधामका प्रत्येक व्यक्तिको स्वभाव अलगअलग देखिन्छ। प्रायः एकअर्कासँग मेल खाएको पाइँदैन। यस्तो हुनुमा पूर्वजन्मको संस्कारको मुख्य भूमिका देखिन्छ। आनुवंशिकता तथा पर्यावरणले मात्र यस्तो भएको हो भने कैयन् यस्ता दृष्टान्त देखिन्छन्, आफ्ना मातापिता या पूर्वजहरूको अधिकांश गुण सन्तानमा देखिँदैन।
पुनर्जन्मको सिद्धान्तअनुसार आत्मा पुनर्जन्म लिनका लागि ती मातापितातिर आकर्षित हुन्छ, जसको प्रवृत्ति तथा स्वभाव आफूअनुकूल रहोस् र जहाँ गएर उसको उचित विकास सम्भव होस्। पुनर्जन्मको सिद्धान्तको मतलब जहाँ पायो त्यहीँ केवल अर्को जन्म लिनु मात्र होइन, यसको अर्थ यो पनि हो कि आत्माले जन्म लिँदै गर्दा ऊ उतैतिर आकर्षित हुन्छ, जहाँ उसको अधिकांश प्रवृत्ति र स्वभाव सहज रूपमा विकसित हुनुमा सहयोग प्राप्त हुन्छ, जसरी बीजले आकार ग्रहण गर्न उपयुक्त वातावरणको अपेक्षा गरेको हुन्छ।
पुनर्जन्मका विपक्षमा प्रमाणका रूपमा केही विद्वान्हरूले पूर्वजन्मको स्मृतिलाई पनि आधार मानेको देखिन्छ। यही जन्मको बाल्यकालको स्मृति त वृद्धावस्थासम्म रहन कठिन छ भने पूर्वजन्मका घटनाक्रम विस्मृत हुनु स्वाभाविक हो। यस क्रममा विशेष ध्यान दिनुपर्ने के हो भने पूर्वजन्मका घटना बिर्सिनु प्रकृतिले मनुष्यमाथि गरेको कृपा हो। किनभने यो जन्मको छोरो अर्को जन्मको श्रीमान् हुन सक्छ। यो जन्मको आमा अर्को जन्मको श्रीमती हुन सक्छ। यस्तो अवस्थामा सम्पूर्ण कुरा याद रह्यो भने जीवन कसरी चल्ला र?
यो जन्ममा पनि केही व्यक्तिहरूले पूर्वजन्मको स्मरण गरेको पाइन्छ। परन्तु ती स्मरण नियम नभई अपवाद मात्र हुन्। चेतनासँग पूर्वजन्मका स्मृतिहरूको सम्बन्धविच्छेदका कारण स्मृतिमा नआएका हुन्, बिर्सिइएका होइनन्। मनुष्यको मानसिक रचनाको यो एउटा रूप हो, जसले गर्दा विगतका घटना मस्तिष्कको एउटा कुनामा गएर थुप्रिएर बसून् र विस्मृत भइराखून्।
भौतिक जगत्को ‘कार्यकारणको नियम’लाई आध्यात्मिक जगत्मा ‘कर्मको सिद्धान्त’ भनिन्छ। त्यसैगरी भौतिक जगत्को ‘ऊर्जा संरक्षण’को नियमलाई आध्यात्मिक जगत्मा ‘पुनर्जन्मको सिद्धान्त’ भनिन्छ। जीवन तथा मृत्यु एक यात्रा हो। यात्राका क्रममा स्टेसन आई नै रहन्छन्। जसलाई जुन स्टेसनमा पुग्नु छ, पुग्छन् र ओर्लन्छन् अनि अर्को स्टेसनको यात्रा प्रारम्भ गरिहाल्छन्। यो यात्रामा जो सहयात्री हुन्छन्, उनीहरूसँग त्यति नै समय नाता रहन्छ, जबसम्म यात्रा चलिरहन्छ। त्यसपछि पुनः सहयात्री बदलिन सक्छन्। नयाँ सहयात्री थपिन्छन्, पुरानाको याद नरहन सक्छ। यही नै जीवन र मृत्युको चक्र हो। अन्तिमसम्म जीवन नै जीवन हो, मृत्यु पुनर्जन्म मात्रै हो।
(योगशास्त्रमा स्नातकोत्तर खरेल विगत दुई दशकदेखि काठमाडौँ इन्जिनियरिङ कलेज, कालिमाटीमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।)