योगशास्त्रमा मन

शान्त खरेल १२ जेठ २०८१ ९:०१
98
SHARES
योगशास्त्रमा मन

नेपाली बृहत् शब्दकोशमा प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार, संकल्प, विकल्प आदिलाई नियन्त्रित तथा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्तिलाई मन भनिएको छ। अर्थात् ज्ञानेन्द्रियले थाहा पाएको कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रियलाई मन भनिन्छ। मनलाई एघारौँ इन्द्रिय पनि भनिन्छ तर यो प्रत्यक्ष रूपमा देखिँदैन।

अन्तस्करणका विषयमा पनि विभिन्न मतहरू पाइन्छन्। सामान्यतया मन, बुद्धि, चित्त र अहंकारलाई अन्तस्करण भनिन्छ। ज्ञानेन्द्रियको सहयोगद्वारा मनमा विचार उत्पन्न हुन्छ। त्यसरी उत्पन्न विचारलाई बुद्धिले आफ्नो तर्कशक्तिद्वारा राम्रो र नराम्रो कुन खालको हो? विवेक शक्तिका माध्यमले छुट्टयाउने काम गर्छ। त्यसपछि चित्त सक्रिय हुन्छ। चित्त व्यक्तिको पहिलेको संस्कारअनुसार चल्छ। त्यो आफैँमा स्वतन्त्र छैन।

चित्त भनेको कम्प्युटरको हार्ड डिस्कजस्तै हो। जसरी कम्प्युटरमा गरिएको कामको डाटा हार्ड डिस्कमा सञ्चित भएर बस्छ त्यसरी नै व्यक्तिले गरेको सम्पूर्ण क्रियाकलापको प्रभाव चित्तमा सञ्चित भएर बस्छ। चित्तमा सञ्चित भएर नबस्ने हो भने ती सिकेका/गरेका काम बिर्सिइन्छ र हरेक दिन त्यो नै दोहोर्‍याइरहनुपर्ने हुन्छ।

जसरी एकपटक साइकल चलाउन राम्ररी जानेपछि पुनः पुनः सिकिराख्न जरुरी हुँदैन त्यो संस्कारका रूपमा चित्तमा रहिरहन्छ। बुद्धिले गरेको निश्चयलाई चित्तमा भएको संस्कारले परिवर्तन गर्न सक्छ। त्यसैले चित्तलाई शुद्ध बनाउनुपूर्व कर्म शुद्ध हुनुपर्छ। त्यसपछि अहंकारको पालो आउँछ। ‘म हुँ’ भन्ने एक प्रकारको जागरुकतालाई अहंकार भनिन्छ। कुनै पनि विषयको निर्णय लिने समयमा अहंकारको महत्त्वपूर्ण भूमिका रहन्छ।

आफ्ना बारेमा निश्चित गरिएको भावना, मान्यता, विचार, विश्वास र आदर्शलाई अहंकार भन्न सकिन्छ। ‘म को हुँ’? भन्ने प्रश्नको उत्तर व्यक्तिअनुसार फरकफरक हुने गर्छ किनभने आफ्नो मान्यताअनुसार व्यक्ति त्यस्तै बनेको हुन्छ। अतः मनमा उत्पन्न विचारलाई बुद्धिले चित्तमा भएको संस्कारको सहायताद्वारा राम्रो/नराम्रो छुट्टयाउँछ र अहंकारले निर्णय दिन्छ। यस प्रकार विचार उत्पन्न हुन्छ। यो एकै क्षणमा हुने प्रक्रिया हो। समय धेरै लाग्दैन। त्यसैले यो प्रक्रियाका बारेमा खासै थाहा हुँदैन।

योगशास्त्रमा चित्त र मनलाई एकै रूपमा प्रस्तुत गरिएको पाइन्छ। चित्तमा उत्पन्न हुने सम्पूर्ण क्रियालाई वृत्ति मानिन्छ। सामान्यतया चित्तले इन्द्रियका माध्यमबाट ज्ञान आर्जन गर्दछ र क्रियाको सम्पादन गर्दछ। कुनै समयमा इन्द्रियका अतिरिक्त अनुमान, आगम (वेदादि शास्त्र) आदिद्वारा पनि भ्रामक, संशयात्मक अथवा प्रमात्मक ज्ञान उत्पन्न हुन्छ।

यी पनि चित्तका कार्य (व्यापार) हुन्। जब चित्तमा यी सम्पूर्ण क्रियाकलाप शान्त हुन्छन् तब चित्त पूर्ण रूपमा एकाग्र हुन्छ। यो अवस्थामा ज्ञाता (जान्नेवाला) ज्ञान र ज्ञेय (जानिने विषय) केही पनि रहँदैन, यो नै समाधिको अवस्था हो। योगको अवस्था हो।

योगको मात्र होइन सम्पूर्ण दर्शनको अन्तिम लक्ष्य प्राप्त गर्न चित्त शुद्ध हुनुपर्छ। जसरी योग चित्तमा उत्पन्न हुने वृत्तिको निरोध गर्नु हो त्यसरी नै सम्पूर्ण दर्शनको अन्तिम लक्ष्य चित्तमा उत्पन्न हुने वृत्तिलाई सही मार्गमा लानु हो। यस्तो हुन सक्यो भने सिंगो समाजमा सुव्यवस्था स्थापना हुन पुग्छ। किसान होस् वा कर्मचारी, राजनीतिज्ञ होस् वा प्रशासक, विद्यार्थी होस् वा युवा, गृहिणी हुन् वा सर्वसाधारण, सबैको सोच सकारात्मक हुन पुग्छ र अन्ततः सबै सुखी र आनन्दित हुन्छन्।

(योगशास्त्रमा स्नातकोत्तर खरेल विगत दुई दशकदेखि काठमाडौँ इन्जिनियरिङ कलेज, कालिमाटीमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।)

योग र अध्यात्म

के हो मन?

मन, मस्तिष्क र मुटु

प्रकाशित: १२ जेठ २०८१ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =