युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव
काठमाडौँ- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील रहेको बताएका छन्।
नेपाली युवा उद्यमी मञ्चले आइतबार आयोजना गरेको ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’लाई सम्बोधन गर्दै मन्त्री यादवले युवालाई सीप, रोजगार र उद्यमशीलतासँग जोड्न सरकारले राष्ट्रिय अभियान अगाडि बढाएको बताए।
उनले सरकार एक्लैले रोजगार सिर्जना गर्न नसक्ने र रोजगार सिर्जना गर्ने निजी क्षेत्रले नै भएको बताए। मन्त्री यादवले आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवद्र्धनको दशक’का रूपमा मनाइने बताए। देशको समृद्धि युवाको पसिना स्वदेशमै बगाउँदा मात्र सम्भव हुने उनको भनाइ थियो।
मन्त्री यादवले आफ्नो मन्त्रालयको ८० प्रतिशत समय वैदेशिक रोजगारीका समस्या समाधानमा खर्च भइरहेको बताए।
‘सरकार, रोजगारदाता र श्रमिक’ बीचको त्रिपक्षीय सहकार्यमार्फत रोजगारीका अवसर वृद्धि गरिने उनको भनाइ थियो। सूचना प्रविधि, पर्यटन, कृषि प्रशोधन र ‘ग्रीन इकोनोमी’मा नेपालको उज्ज्वल भविष्य रहेको मन्त्री यादवले उल्लेख गरे। उनले सरकार सधैँ उद्यमीको साथमा रहेको बताए।




