बैंक घोटालाको गम्भीर आरोपमा पाराग्वेका पूर्वराष्ट्रपति पेनाको घरमा प्रहरीको छापा

हिमाल प्रेस २३ कार्तिक २०८३ १०:४५ | Monday, November 9, 2026
बैंक घोटालाको गम्भीर आरोपमा पाराग्वेका पूर्वराष्ट्रपति पेनाको घरमा प्रहरीको छापा

असुनसियोन- पाराग्वेको बैंकिङ संकट र आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्वराष्ट्रपति सान्टियागो पेनाको घरमा छापा मारेको छ। युएनो बैंकको पतनसँग जोडिएको यस प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध आपराधिक अभियोगसमेत लगाइएको छ।

अधिकारीहरूले गत साता पाराग्वेको लोकप्रिय अनलाइन ऋणदाता युएनो बैंक नियन्त्रणमा लिएका थिए। उक्त बैंकमा देशका करिब ६५ लाख जनसङ्ख्यामध्ये झन्डै आधाको खाता रहेको थियो भने सरकारी निकायको ८० करोड अमेरिकी डलरभन्दा बढी रकमसमेत जम्मा थियो। बैंकको पतनपछि देशभर विरोध प्रदर्शन भएको थियो।

सन् २०२३ मा राष्ट्रपति बनेका पेनाले गत वर्षसम्म बैंकको होल्डिङ कम्पनी युएनो होल्डिङमा सेयर स्वामित्व राखेका थिए। उनीमाथि राष्ट्रपतीय प्रभाव प्रयोग गरी बैंकमा सरकारी निक्षेप जम्मा गराएको तथा वित्तीय अनियमितता र शंकास्पद ऋणका विषयमा जानकारी हुँदाहुँदै पनि समस्या लुकाएको आरोप छ।

अभियोजकहरूका अनुसार सरकारी निकायबाट निक्षेप संकलन गरिरहेको युएनो बैंकले बैंकका उच्च अधिकारीसँग सम्बन्धित कम्पनीहरूलाई शंकास्पद ऋणसमेत प्रवाह गरेको थियो। यही प्रकरणको अनुसन्धानका क्रममा असुनसियोनबाहिर रहेको पेनाको निवासमा छापा मारिएको हो।

अभियोगपत्रमा सन् २०२४ मा घर निर्माणका लागि पेनाले युएनो बैंकबाट दुईपटक गरी पाँच लाख अमेरिकी डलर ऋण लिएको उल्लेख छ। उनको मासिक घरकर्जा किस्ता ३८ हजार अमेरिकी डलर रहेको र यो राष्ट्रपतिका रूपमा प्राप्त गर्ने मासिक तलबको छ गुणा भएको अभियोगपत्रमा जनाइएको छ।

सिनेटले गत शुक्रबार पेनालाई पदबाट हटाउने निर्णय गरेपछि उपराष्ट्रपति पेद्रो एलियानाले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन्। उनले आइतबार बैंक धराशायी भएपछि निक्षेप रोकिएका १२ लाख ग्राहकको रकम सरकारले फिर्ता गरेको जानकारी दिए।

हालसम्म करिब १५ करोड ८० लाख अमेरिकी डलर फिर्ता गरिएको र बाँकी रकम वितरणको काम यसै साता पनि जारी रहने एलियानाले बताए।

प्रकाशित: २३ कार्तिक २०८३ १०:४५ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast