आत्मज्ञान

निद्रा र शरीर

शान्त खरेल २६ जेठ २०८१ ९:५५
578
SHARES
निद्रा र शरीर

केही समय चेतना प्रकट नहुने र शारीरिक तथा मानसिक विश्राम प्राप्त हुने अवस्थालाई निद्रा भनिन्छ। चेतनसत्ता, तन्त्रिका तन्त्र या मस्तिष्कभन्दा पर जहाँ आनन्द, उत्साह, उल्लास आदिको प्रत्यक्ष अनुभव हुन्छ, त्यो नै निद्राको अवस्था हो। निद्राको अवस्थामा चेतनसत्ता शरीर र जगत्‌लाई छोडी मरेतुल्य हुन्छ र संसार नभएको भान हुन्छ। चेतना शरीर र संसार भुलेर जब निद्राको स्थितिमा पुग्छ र फिर्ता आउँदा शरीर एवम् मनमा हुने फुर्तीको अनुभूति, थाकेको शरीरमा आउने ताजापन, चिन्ताले आकुलव्याकुल भएको मनमा हुने प्रसन्नता आदि देख्दा निद्रा अपरिहार्य तत्त्व हो भन्ने प्रमाणित हुन्छ।

गहिरो निद्रामा चेतना गएन र दिनरात जागा भइरह्यो भने मानिस जीवित रहन गाह्रो पर्न सक्छ। निद्रा नलाग्ने रोगले पीडित व्यक्ति शरीर र संसारलाई भुल्दै त्यो आनन्दको अवस्थामा प्राप्त नहुँदा आत्मघातसम्म गर्न तयार भएको पाइन्छ। चेतनाको त्यस्तो कुन स्थिति हो, जहाँबाट फिर्ता हुँदा उत्साह र उमंगको भण्डार लिएर फर्कन्छ? या त चेतना संसार र शरीरको बन्धनबाट मुक्त भई आफ्नो वास्तविक स्वरूपमा फर्किएपछि यस्तो सम्भव छ या आनन्दको अथाह समुद्र जसलाई विश्वचेतना भनिन्छ, त्यससँग स्वतः सम्पर्क स्थापित भई फर्कंदा प्रफुल्लताले परिपूर्ण भई फर्कन्छ।

के निद्रा मात्रले मानिसमा उत्साह र प्रफुल्लता प्राप्त हुन्छ त? तमाम वैज्ञानिक परीक्षणपश्चात् प्रमाणित भएको छ कि यस्तो सम्भव छैन। इलेक्ट्रो-इन्सेफेलो-ग्राफ (Electro-encephalo-graph) अर्थात् EEG को सहयोगले निद्रालाई मापन गरिएअनुसार सुतेको समयमा मस्तिष्कमा विद्युत् तरंगहरू निस्कन्छन्, ती अत्यन्तै सूक्ष्म हुन्छन्।

ती तरंगका आधारमा निद्राको गुणका बारेमा व्याख्या गर्ने गरिन्छ। EEG बाट प्राप्त सूचनाका आधारमा निद्रालाई चार स्तरमा वर्णन गरिएको पाइन्छ। निद्रा प्रारम्भ हुने समयमा मस्तिष्कबाट अत्यन्त निम्न स्तरको विद्युत् तरंग उत्पन्न हुन्छ, जुन EEG को ग्राफमा छोटा र गहिरा संकेतका रूपमा देखा पर्छन्। यो समयमा मांसपेशीहरू शिथिल हुन थाल्छन्, नाडीको गति कम देखिन्छ र व्यक्तिले आफू  निदाएको अनुभव पनि गर्दैन। यही स्थितिमा सुतेको व्यक्तिलाई उठाउने हो भने उसले म जागी नै रहेको थिएँ भन्छ। नउठाउने हो भने केहीबेरमा ऊ निद्राको दोस्रो स्तरमा प्रवेश गर्छ।

निद्राको दोस्रो स्तरमा मस्तिष्कमा विद्युत् तरंगहरू तीव्र गतिमा चल्न थाल्छन् र गहिराइमा पनि वृद्धि हुन थाल्छ। आँखाको डल्लो भाग दायाँबायाँ तीव्र गतिमा चलिरहेको हुन्छ जसलाई Rapid Eye Movement (REM) भनिन्छ। यो अवस्थाबाट व्यक्तिलाई जगाउने हो भने ‘म निदाएको थिइनँ, जागै थिएँ’ भन्न सक्छ। अर्थात् ऊ कुन अवस्था थियो, निदाएको वा जागेको स्पष्ट भन्न गाह्रो पर्न सक्छ। उसले सपना देखेको जस्तो अनुभव गरेको पनि हुन सक्छ।

यस्तो अवस्थामा केहीबेर छोड्ने हो भने व्यक्ति तेस्रो स्तरमा प्रवेश गर्दछ। यो अवस्थामा मस्तिष्कबाट प्रवाहित हुने तरंगका रेखाहरू पहाडको उचाइ-गहिराइजस्तै देखिन्छन्। यस्तो अवस्थामा सुतेको व्यक्ति चल्न र निद्रामा बोल्न पनि सक्दछ तर उसलाई केही थाहा हुँदैन। उसले पटकपटक कोल्टे फेर्न सक्छ। यो बेला मांसपेशी शिथिल हुन्छन्। श्वास सन्तुलित रूपमा चलिरहेको हुन्छ। तापमान घटेको हुन्छ। रक्तचाप कम हुन्छ।

यो अवस्थाको निद्राबाट ब्युँझाउन गाह्रो पर्दछ। तेस्रो स्तरबाट चौथो स्तरमा व्यक्ति सीधै प्रवेश गरिहाल्छ। यो निद्राको गहनतम अवस्था हो। पहिलो र दोस्रो स्तरलाई Rem Sleep भनिन्छ भने तेस्रो र चौथो अवस्थालाई Delta Sleep भनिन्छ। यो समयमा मस्तिष्कबाट जुन तरंग चलिरहेको हुन्छ, त्यसलाई Delta Waves भनिन्छ। यो बेलाको तरंगलाई ग्राफमा हेर्ने हो भने पहाडी शृंखला (Mountain Ranges) जस्तै देखिन्छ। यो समयको निद्रा गहनतम अन्धकारमय हुन्छ। Rem मा सपना देखिन सक्छ तर Delta मा देखिँदैन, यसलाई सपनाहीन निद्रा भनिन्छ। अति थाकेको समयमा यस्तो निद्रा लाग्छ।  शास्त्रहरूमा Rem Sleep लाई सपनावस्था र Delta Sleep लाई सुषुप्तावस्था भनिएको छ।

सपनाहीन निद्रा अर्थात् Delta Sleep लाई यथार्थ निद्रा हो भन्ने गरिन्छ, जुन धारणा गलत हो। यो त निद्राको एक हिस्सा मात्र हो। व्यक्ति प्रगाढ निद्रामा मात्र रहन सक्दैन, सपना र सुषुप्तिको चक्र चलिरहन्छ। निद्रा प्रारम्भ भएपछि केहीबेर सुषुप्तिमा रहेर पुनः सपनावस्थामा आइहालिन्छ। त्यसपछि पुनः अलि लामो समय प्रगाढ निद्रामा रहेर अनि माथिल्लो स्तर सपनावस्थामा पुग्छ।

यसप्रकार सपना-सुषुप्ति-सपना यो चक्र चलिरहन्छ। रातभरिमा करिब तीनचारपटक यो चक्र चलिरहेको हुन्छ। प्रातः कालमा व्यक्ति सपनावस्था अर्थात् Rem Sleep मा हुन्छ, जुन अलि लामो हुन्छ।

सन् १९६० को दशकका विभिन्न अनुसन्धानका आधारमा भन्नुपर्दा मान्छेको निद्रा एक निश्चित उतारचढावमा चलेको हुन्छ र करिब एउटै उमेरका स्वस्थ व्यक्तिहरूका निद्राको आरोहअवरोह पनि एउटै जस्तो हुने गर्दछ।

स्वास्थ्यका दृष्टिकोणले हेर्ने हो भने पनि दुवै अवस्था आवश्यक छ। स्वस्थ निद्रामा सपना देखिन्छ तर जाग्नासाथ तत्काल बिर्सिइन्छ। सपनावस्थामा पुग्न लागेको व्यक्तिलाई जगाइदिने हो भने त्यो व्यक्तिको स्वभावमा चिडचिडाहट तथा झगडालुपन देखिन्छ। अतः मानव स्वास्थ्यका लागि सपनावस्था अत्यन्त आवश्यक छ। मानिसका अपूर्ण इच्छा सपनाद्वारा पूर्ण हुन्छन्। अन्यथा मानिसमा चिडचिडाहट र झगडालु स्वभाव देखापर्छ।

त्यसैगरी व्यक्तिलाई सुषुप्तावस्था Delta Sleep बाट तुरुन्तै जगाइदियो अर्थात् केवल सपनावस्थामा मात्र राखियो भने लामो समयसम्म Delta Sleep मा नरहेको मानिसमा उत्साहहीनता अर्थात् हीनभाव र डिप्रेसनयुक्त स्वभाव देखिन्छ। जुन हानिकारक हो। अतः मानिसको स्वास्थ्यका लागि सपनायुक्त र सुषुप्तियुक्त दुवै निद्रा आवश्यक छ।

मानव शरीरको रचना यस प्रकार भएको छ कि हरेक दिन निद्राको माध्यमले शरीर र संसारसँगको नाता टुटोस् र यथार्थ सत्यको झझल्को प्राप्त भइरहोस्। निद्रा र ध्यानको अवस्थामा शरीर र संसारबीचको सम्बन्धविच्छेद हुन पुग्छ। निद्राबाट अञ्जानमा प्राप्त हुने प्रफुल्लता प्रयत्नबाट पनि प्राप्त गर्न सकिन्छ, जसलाई ध्यान भनिएको छ।

(योगशास्त्रमा स्नातकोत्तर खरेल विगत दुई दशकदेखि काठमाडौँ इन्जिनियरिङ कलेज, कालिमाटीमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।)

योगशास्त्रमा मन

मन, मस्तिष्क र मुटु

के हो मन?

योग र अध्यात्म

प्रकाशित: २६ जेठ २०८१ ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =