आत्मज्ञान

मृत्युबोध

शान्त खरेल १५ असार २०८१ १२:४०
278
SHARES
मृत्युबोध

जो जन्मिएको छ, उसको अन्त्य निश्चित छ, त्यति हुँदाहुँदै पनि धेरैलाई मृत्यु के हो भन्ने थाहा छैन। प्रत्येक व्यक्ति कुनै न कुनै कार्यमा लागिरहेको हुन्छ। यसै क्रममा प्रत्यक्ष-परोक्ष रूपमा सबैलाई मृत्युले सताइरहेको छ, जसबाट बच्न अनेक कार्य भइरहेको हुन्छ। चाहे व्यक्तिगत होस् या सामाजिक, हरेक व्यक्ति मृत्युसँग जुधिरहेको हुन्छ वा मृत्यु भुल्न खोजिरहेको हुन्छ।

यस सम्बन्धमा महात्मा बुद्धसँग जोडिएको एउटा प्रसंग स्मरणीय छ। एकपटक एक महिला आफ्नो बेचैनीको समाधान प्राप्त गर्न बुद्धसँग जान्छिन्, जसको छोराको मृत्यु भएको हुन्छ। बुद्धले समस्या समाधान गर्न सकिने आश्वासन दिँदै भन्नुहुन्छ, ‘मलाई त्यस्तो घरबाट दूध लिएर आऊ, जसको घरमा कोही मरेको नहोस्।’

ती महिलाले खुब प्रयास गरिन् तर सम्भवै भएन। कुनै घर त्यस्तो भेटियोस्, जहाँ मृत्यु नभएको होस्। अन्त्यमा बुद्धले भन्नुभयो- मृत्यु निश्चित छ, सबैको हुन्छ। यसबाट छुटकारा पाउनु भनेको यसलाई भुल्नु मात्रै हो।

पौरस्त्य दर्शनका अनुसार मृत्युको अस्तित्व छैन। जब मृत्युको स्वरूपका बारेमा जानकारी प्राप्त हुन्छ, त्यसपछि मात्र मृत्युबोध हुन्छ। शरीर र आत्मा दुई अलगअलग अस्तित्व भएका तत्त्व हुन्। शरीर आत्मा होइन र आत्मा शरीर होइन। जो जन्मिएको हुन्छ, त्यही नै मर्छ। शरीर जन्मिएको हो र शरीरको मृत्यु सम्भव छ।

आत्माले शरीरलाई धारणमात्र गरिरहेको हुन्छ। हरेक समय शरीरका कोषिका (Cells) मरिरहेका हुन्छन् र नयाँ पनि बनिरहेका हुन्छन्। जब नयाँ बन्ने क्रम स्थगित हुन्छ, त्यसपछि मृत्यु घोषणा हुन्छ। काँचो नरिवललाई फुटाउने प्रयास गरियो भने बाहिरको खोल र भित्रको गुदी दुवै फुट्न पुग्छ। पोकेको नरिवल फोर्दा गुदी र खोल अलगअलग हुन्छन्, जसले गर्दा गुदीमा कुनै प्रकारको चोट लाग्दैन। पाकेको नरिवलको गुदी र बोक्रा अलग भएजस्तै शरीर र आत्मा पनि अलगअलग हुन्। दुवैको अस्तित्व अलग हुन्छ।

भनिन्छ, शरीरका परमाणु परिवर्तन हुँदाहुँदा करिब सात वर्षमा पूरा शरीर नै बदलिन्छ। यसप्रकार जिन्दगीभरिमा ९/१० पटक शरीर परिवर्तित भइसकेको हुन्छ, अथवा भनौँ मरिसकेको हुन्छ। यहाँ शंका रहन सक्छ- जसले शरीरलाई जीवित राखेको थियो वा नयाँ कोषिकाको निर्माण गरिरहेको थियो, त्यो तत्त्व जब शरीर निकम्मा भएपछि शरीरसँगै मरेर जान्छ या अन्य कुनै लक्ष्य पूरा गर्न बाहिर निस्केर जान्छ? केही दर्शनशास्त्री शरीर नष्ट भएपछि चेतनशक्ति पनि नष्ट हुन्छ भन्ने मत राख्छन्, जुन युक्तिसंगत देखिँदैन।

के मानिस यो संसारमा बिना उद्देश्य त्यत्तिकै उत्पन्न भयो? संसारमा बिना उद्देश्य केही पनि सम्भव छैन। उद्देश्यबाट विचलित हुनु अर्कै कुरा हो। प्रत्येक वस्तु कुनै लक्ष्य पूरा गर्न उत्पन्न भई क्रियाशील भइरहेको हुन्छ। कुमालेले माटाका भाँडाकुँडा बनाउँछ। घडी मिस्त्रीले घडी बनाउँछ। जसरी घैँटो फुट्दैमा कुमालेलाई केही हुँदैन र घडीका सबै पुर्जाले काम नगर्दैमा घडी मिस्त्रीलाई केही हुँदैन, त्यसरी नै शरीर नष्ट हुँदैमा आत्मालाई केही पनि हुँदैन। मिलेसम्म मिस्त्रीहरू आफ्ना सिर्जनालाई मर्मत गरी काम चल्ने बनाउन प्रयास गर्छन्। मर्मत सम्भव नभएपछि नयाँ बनाउन थाल्छन् र ती बिग्रिएका सामानसँग आफू नष्ट हुँदैनन्। त्यसरी नै प्राणीको शरीरमा टुटफुट हुन सक्छ र भित्र बसेको कुनै शक्तिले त्यसलाई मर्मत गरिरहेको हुन्छ। एउटा यस्तो समय आउँछ, त्यो टुटफुटको मर्मत सम्भव हुँदैन र शरीर नष्ट हुन्छ। अन्ततः आत्माले फेरि अर्को शरीर निर्माण गर्छ, त्यसैलाई रूपान्तरण भनिन्छ।

विज्ञानको एउटा अटल नियम छ कुनै पनि वस्तु नष्ट हुँदैन, रूपान्तरित मात्र हुन्छ। आकाशबाट झरेको पानी नदीमा परिवर्तित हुन्छ। नदी समुद्रमा पुग्छ। सूर्यको तापद्वारा समुद्रमा उत्पन्न बाफबाट बादल बन्छ र फेरि पानी पर्न थाल्छ। जब थोपा नदी बन्छ, भ्रमवश त्यो थोपा नष्ट भयो भनिन्छ। नाश केहीको पनि सम्भव छैन, रूप मात्र बदलिने हो। यसैगरी शरीर नष्ट हुनुलाई मृत्यु भनिन्छ, जुन सत्य होइन, त्यो पनि रूपान्तरण मात्र हो।

पाँच तत्त्वबाट निर्मित शरीर समय आउनासाथ तिनै पाँच तत्त्वमा मिल्न जान्छ। अतः परमाणु नष्ट सम्भव छैन। चेतना परमाणुहरूको संयोगले बनेको होइन। शरीर त नष्ट हुँदैन भने झन् चेतना नष्ट हुने त कुरै भएन। त्यसैगरी आत्माको पनि रूपान्तरण हुन्छ, एउटा शरीर छोडेर अर्को शरीरमा। शरीरको रूपान्तरणलाई मृत्यु भनिन्छ। आत्माको रूपान्तरणलाई पुनर्जन्म भनिन्छ।

चेतनसत्ता पाञ्चभौतिक शरीर जसरी विलीन हुँदैन। विलीन त्यही वस्तु हुन्छ, जुन भौतिक हो। पार्थिव वस्तु विलीन सम्भव छ, खण्ड-खण्ड हुन र विभिन्न टुक्रामा विभक्त हुन सम्भव छ। चेतनसत्ता पनि भौतिक हो भने विभाजन सम्भव थियो। चेतनसत्ता आत्मा भौतिक हो भने त्यो कसरी चेतन सत्ता हुन सक्छ र? त्यो त शरीर नै भइहाल्यो नि! आत्माको रूपान्तरण भनेको जुन शरीरमा थियो, त्यो नष्ट भयो, अब अन्य कुनै शरीरको आश्रय लिन जानु हो। अतः आत्माको नाश सम्भव छैन। चोला बदल्ने मात्रै हो, जसलाई भ्रमवश मृत्यु भनिन्छ। यथार्थमा आत्माको मृत्यु सम्भव छैन।

मृत्यु एक भ्रममात्र हो, जसको सत्ता विद्यमान छैन। मृत्यु छायासमान हो, प्रकाशको प्रवाह हुनासाथ छाया नष्ट भइहाल्छ। मृत्युको भय भनेको छायासँग डराएजस्तै हो। प्रकाश नहुँदा अँध्यारोको अस्तित्व रहन्छ, प्रकाश आउनासाथ अँध्यारो नष्ट हुन्छ। स्वतन्त्र सत्ता प्रकाशको रहन्छ, अँध्यारोको होइन। मृत्यु एउटा अँध्यारो मात्र हो, जसको स्वतन्त्र सत्ता हुँदैन। मृत्यु एक निद्रा हो, अलि लामो निद्रा! व्यक्ति हरदिन मरिरहेको हुन्छ, छोटो छोटो मृत्यु! ब्याट्री चार्ज भएजस्तै जागरणपछि शरीर तरोताजा भइहाल्छ। निद्रा जागरणको आधार हो। शरीर जब बिल्कुल काम गर्न लायक रहँदैन, आत्माले यसलाई छोडिदिन्छ, ब्याट्री निकम्मा भएर फ्याँकिदिएजस्तै।

कारखानाको मालिक पुरानो ब्याट्रीलाई छोडेर नयाँ ग्रहण गरी काम लिन सुरु गरिहाल्छ। आत्मा पनि पुरानो शरीर छोडेर नयाँ शरीरमा बच्चाको रूपमा प्रवेश गरी पूर्ण शक्तिका साथ तरोताजा हुँदै काम गर्न प्रारम्भ गरिहाल्छ।

मृत्यु र जीवन दुई स्वतन्त्र सत्ता हो भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ। यथार्थ सत्ता त जीवनको मात्र हुन्छ। मृत्यु आगामी जीवनको प्रवेशद्वार मात्रै हो। मृत्यु र जीवन दुवैको स्वतन्त्र सत्ता रह्यो भने समानान्तर रेखाजस्तै चल्छ। जसको कहिले पनि मिलन सम्भव हुँदैन। परन्तु यस्तो हुँदैन, जीवन र मृत्यु एकआपसमा घुलमिल भएर रहेको हुन्छ। जहाँ जीवन छ, त्यहीँ मृत्यु पनि छ। जीवन र मृत्यु भिन्नभिन्न दृष्टिबाट एउटै वस्तुको दुईवटा नाम हो। प्रकाश र अन्धकार, जागरण र स्वप्न, जिउनु र मर्नु यी सबै जोडी हुन् र सधैँ साथ रहन्छन्। यथार्थ सत्ता प्रकाशको, जागरणको र जीवनको मात्र हुन्छ। अन्धकार प्रकाशबिना रहन सक्दैन। स्वप्न जागरणबिना रहन सक्दैन र मृत्यु जीवनबिना रहन सक्दैन।

(योगशास्त्रमा स्नातकोत्तर खरेल विगत दुई दशकदेखि काठमाडौँ इन्जिनियरिङ कलेज, कालिमाटीमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।)

निद्रा र शरीर

प्रकाशित: १५ असार २०८१ १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =