तनहुँका विभिन्न ठाउँमा पहिरो,पृथ्वी राजमार्ग अवरुद्ध

हिमाल प्रेस २८ असार २०८१ ६:५५ | Friday, July 12, 2024
तनहुँका विभिन्न ठाउँमा पहिरो,पृथ्वी राजमार्ग अवरुद्ध फाइल तस्बिर।

काठमाडाैँ- तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर पुन राजमार्ग अवरुद्ध भएको छ। निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

यस्तै बन्दीपुर गाउँपालिका–५ नयाँपुल नजिकसमेत पहिरोले सडक अवरुद्ध भएको छ। पहिरोका कारण व्यास–१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

यस्तै व्यास–१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डसमेत अवरुद्ध भएको छ। पहिरोका कारण सडक छेउ रहेका मेसिन समेत केही पुरिएको छ। डोजरलगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरो पन्छाउन जान सकिएको छैन। यस्तै म्याग्दे –६ मौरीओडारमा समेत पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ।

त्यस्तै वर्षाका कारण बुल्दीखोला बस्तीमा पस्दा तनहुँको व्यास–४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन्। बुल्दीखोलामा आएको बाढीले खोला बस्तीमा पस्दा तल्लो सिमलटारका करिब ४० घर डुबानमा परेका हुन्।

बुल्दीखोलाको बाढीले यहाँका घरका तल्लो कोठा र सटरमा रहेका सामग्री बगाएको स्थानीय श्रीराम कार्कीले जानकारी दिए। रातिको समयमा आएको बाढीका कारण मानवीय क्षति नभए पनि आर्थिक नोक्सानी भएको उनको भनाइ छ।

उनले भने, ‘खोला पसेर घरको तल्लो कोठा र सटरमा रहेका सरसामान, फर्निचरलगायतमा ठूलो क्षति पुगेको छ। मानवीय जोखिम रहँदा हारगुहार गरी ज्यान बचाउन सफल भइएको छ। बस्ती जोखिममा रहेकाले सुरक्षित गर्न तुरुन्तै उच्च तारबार बलियो बनाउनुपर्ने अवस्था आएको छ।’

प्रकाशित: २८ असार २०८१ ६:५५ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast