काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले कानुनी राज्यको मर्म र संवैधानिक सीमाको उपेक्षा गर्दै शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले पूर्वप्रधानन्यायाधीशको मध्यरातमा भएको पक्राउ, अर्थतन्त्रको निराशाजनक अवस्था र विपद् व्यवस्थापनमा सरकारको कमजोरीलाई सरकार असफल भएको तीन प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरे।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कुनै ठोस आधार र कानुनी प्रक्रियाबिना पक्राउ गरिएको भन्दै उनले उक्त घटनाले लोकतान्त्रिक मूल्यमान्यताको उपहास गरेको बताए।
‘राज्यले विधिको शासनलाई बिर्सेर शक्तिको तुजुक देखाउन मिल्दैन। सरकारले यस घटनाको सत्यतथ्य छानबिन गरी संसद्लाई स्पष्ट पार्नुपर्छ। यो सरकारको संवैधानिक दायित्व हो,’ उनले भने।
सरकारले असोज १० गते राति पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेको थियो। चौतर्फी आलोचना भएपछि उनलाई भोलिपल्ट रिहा गरिएको थियो।
अर्थतन्त्रको अवस्थाप्रति पनि आङदेम्बेले सरकारको आलोचना गरे। लगानीमैत्री वातावरण निर्माण गर्नुको सट्टा निजी क्षेत्रलाई तर्साउने र अपराधीसरह व्यवहार गर्ने प्रवृत्तिले विकास प्रभावित भएको उनको भनाइ थियो।
महँगी र कालोबजारीका कारण नागरिकको जनजीवन कष्टकर बनेको उल्लेख गर्दै उनले चाडबाडको समयमा समेत सरकार उदासीन बनेको आरोप लगाए।
‘विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिरहँदा सरकार भाषणमा मात्र सीमित छ। पुँजी निर्माण हुन नसक्दा रोजगारी सिर्जना रोकिएको छ, जसको प्रत्यक्ष असर आम नागरिकको भान्सासम्म परेको छ,’ उनले भने।
विपद् व्यवस्थापनमा समेत सरकारको कार्यक्षमता कमजोर देखिएको आङदेम्बेको आरोप थियो। विपद्का बेला प्रभावित क्षेत्रमा सरकारको प्रभावकारी उपस्थिति आवश्यक हुने भए पनि त्यस्तो उपस्थिति महसुस हुन नसकेको उनले बताए।
‘विपत्ति आउँदा नीति होइन सरकारको उपस्थिति खोजिन्छ तर प्रभावित क्षेत्रमा सरकार हराएको महसुस भइरहेको छ,’ उनले भने, ‘रसुवा वा बाढी प्रभावित अन्य क्षेत्रमा सरकारको कार्यक्षमता कमजोर देखिएको छ।’
उनले शिलान्यास गर्नेभन्दा समयमै आयोजना सम्पन्न गर्ने सरकार अहिलेको आवश्यकता भएको बताए। पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती र बेथिति अन्त्य गर्न तत्काल सुधारका कदम चाल्न उनले सरकारसँग आग्रह गरे।



