काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ।
समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीको नीति, मर्यादा र अनुशासनविपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्म सबैलाई पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन समितिले निर्देशन दिएको छ।
समितिले १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि कतिपय व्यक्तिहरू कांग्रेसकै नाममा पार्टीविरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको जनाएको छ। त्यस्ता गतिविधिमाथि समितिले गम्भीरतापूर्वक निगरानी गरिरहेको धमलाले बताए।
पार्टीको मर्यादा र नीतिविपरीतका गतिविधि नगर्न आह्वान गर्दै धमलाले त्यस्ता गतिविधि जारी रहे समितिले आवश्यक कडा कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए।
वडा, पालिका र क्षेत्रीय तहका निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भएकोमा समितिले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ।



