कप्तान स्मित मच्छर।
काठमाडौँ- फ्लाईदुबईको एउटा उडानका भारतीय पाइलटले सहपाइलटको आक्रमणबाट आफूलाई जोगाउँदै सम्भावित दुर्घटनाबाट बचाएपछि उनलाई नायकका रूपमा प्रशंसा गरिएको छ। भारत र इजरायलका नेताहरूले उनको साहसका कारण ठूलो दुर्घटना टरेको बताएका छन्।
कप्तान स्मित मच्छरमाथि उडिरहेको विमानमै सहपाइलटले चक्कु प्रहार गरेपछि भएको नाटकीय झडपका क्रममा उनले प्रतिकार गरेका थिए। उनले ककपिटको ढोका खोलेपछि यात्रु र अन्य चालक दलका सदस्यले ककपिटमा प्रवेश गरी आक्रमणकारी सहपाइलटलाई नियन्त्रणमा लिन सफल भएका थिए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मच्छरलाई ‘आकाशमै हुन लागेको विनाशकारी दुर्घटना रोकेको’ भन्दै प्रशंसा गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले मच्छरलाई ‘सच्चा नायक’ भन्दै शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, ‘कप्तान स्मित मच्छर नायक हुन्। अत्यन्त गम्भीर जोखिमका बीच र गम्भीर घाइते हुँदासमेत उनले अरूको ज्यान जोगाउन असाधारण साहस र अटल दृढता देखाए। उनको वीरताले सयौँ मानिसको ज्यान जोगाउन र ठूलो दुर्घटना टार्न सहयोग गर्यो।’
यूएईको दुबईबाट इजरायलको तेल अभिवतर्फ उडेको उक्त विमान ९० सेकेन्डमा १८ हजार फिट तल झरेको फ्लाइटराडार २४ को विवरणमा उल्लेख छ। विमानको पुच्छरतर्फको रडरमा ठूलो क्षति पुगेपछि साउदी अरबको उत्तरपश्चिममा रहेको तबुकमा आपत्कालीन अवतरण गरिएको थियो।
प्रत्यक्षदर्शीहरूले यात्रु र चालक दलका सदस्य ककपिटमा प्रवेश गरी सहपाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेको बताएका छन्। उनीहरूले घटनास्थल अस्तव्यस्त र रक्ताम्य रहेको बताएका छन्। सहपाइलटले विमानलाई दुर्घटनाग्रस्त बनाउने प्रयास गरिरहेको हुन सक्ने प्रारम्भिक विवरणमा उल्लेख छ।
विमानमा रहेका १७४ यात्रुको सकुशल उद्धार गरिएको छ। उनीहरूमध्ये अधिकांश इजरायली थिए। उनीहरू बुधबार नै अर्को विमानबाट तेल अभिव पुगे।
इजरायली एक अधिकारीका अनुसार सहपाइलट ओमानी नागरिक हुन्। नेतन्याहुले साउदी अधिकारीहरूले उनलाई सोधपुछ गर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै सहपाइलट सायद आतंकवादी वा मानसिक रूपमा अस्थिर व्यक्ति हुन सक्ने शंका गरेका छन्।
ओमानी अधिकारीहरूले घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। सहपाइलटले आक्रमण गर्नुको कारण पनि तत्काल स्पष्ट हुन सकेको छैन।
फ्लाईदुबईको विमान साउदी अरबतर्फ मोडिएपछि यात्रुहरू टर्मिनलमा पुगेका थिए। उनीहरू बुधबार पछि अर्को विमानबाट इजरायल फर्किएका थिए।
साउदी अरबस्थित भारतीय दूतावासका अनुसार मच्छरको तबुकस्थित अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको छ। दूतावासले विज्ञप्तिमा भनेको छ, ‘उनी आफ्ना चोटबाट चाँडै निको होऊन् भन्ने हाम्रो कामना छ।’
मच्छर चार वर्षअघि दुबई सरकारको स्वामित्वमा रहेको फ्लाईदुबईमा कप्तानका रूपमा आबद्ध भएका थिए। उनको लिंक्डइन प्रोफाइलअनुसार उनी यसअघि भारतीय सस्तो हवाई सेवा कम्पनी स्पाइसजेटमा कार्यरत थिए। स्पाइसजेटमा उनले बोइङ ७३७ विमान उडाउँदै नौ हजार ७५० घण्टा उडान अनुभव हासिल गरेका थिए। उनले त्यहाँ लाइन-ट्रेनिङ कप्तानका रूपमा समेत काम गरेका थिए।
गत वर्ष एक पोडकास्टमा मच्छरले आफू पाइलट बन्ने निर्णय गर्दा उनकी आमा डराएकी बताउँदै आएका थिए।
उनले हवाई सुरक्षामा चालक दलको भूमिका महत्त्वपूर्ण रहने बताएका थिए। उनले भनेका थिए, ‘हामी आकाशमा हुँदा केही भयो भने तपाईंलाई कसले बचाउने? अवस्था बिग्रँदै जाँदा तपाईंलाई उनीहरूको आवश्यकता पर्छ।’
फ्लाई दुबईको उडान नम्बर एफजे १०७३ विमान यूएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तेलअभिभको बेन गुरियन विमानस्थलका लागि उडेको थियो।



