काठमाडौँ- शिक्षा विभाग, सानोठिमी, भक्तपुरले देशैभरका ७७ वटै जिल्लाका विद्यालयहरूमा रहेका प्राथमिक (प्रा.वि.), निम्न माध्यमिक (नि.मा.वि.) र माध्यमिक (मा.वि.) तहका शिक्षक दरबन्दीको विस्तृत विवरण सार्वजनिक गरेको छ।
विभागको तथ्यांक अनुसार देशभर कुल १ लाख ९ हजार १२५ शिक्षक दरबन्दी कायम रहेको छ। जसमा प्राथमिक तहमा ८० हजार १७६, निम्न माध्यमिक तहमा १६ हजार २२४ र माध्यमिक तहमा १२ हजार ७२५ दरबन्दी रहेका छन्।
प्रदेशगत विवरण अनुसार कोशी प्रदेशका १४ जिल्लामा गरी कुल २२ हजार ७४३ दरबन्दी रहेको छ। जसमा प्रा.वि. तर्फ १६ हजार ६३७, नि.मा.वि. तर्फ ३ हजार ६०६ र मा.वि. तर्फ २ हजार ५०० दरबन्दी छन्।
कोशी प्रदेश अन्तर्गत ताप्लेजुङमा १,२५६, पाँचथरमा १,३८७, इलाममा १,८३६, झापामा ३,१३८, संखुवासभामा १,३५६, तेह्रथुममा १,०७४, भोजपुरमा १,४६७, धनकुटामा १,२३०, सुनसरीमा १,९२७, मोरङमा ३,२०७, सोलुखुम्बुमा १,००६, खोटाङमा १,५०२, उदयपुरमा १,२५८ र ओखलढुंगामा १,०९९ दरबन्दी कायम गरिएको छ।
यसैगरी मधेश प्रदेशका ८ जिल्लामा कुल १३ हजार १३ शिक्षक दरबन्दी रहेका छन्। जसमा प्राथमिक तहमा ९ हजार ५३७, निम्न माध्यमिक तहमा १ हजार ८७४ र माध्यमिक तहमा १ हजार ६०२ दरबन्दी समावेश छन्। जिल्लागत आधारमा सप्तरीमा १,८०७, सिरहामा १,७४६, धनुषामा १,८१७, महोत्तरीमा १,४८६, सर्लाहीमा १,६८२, रौतहटमा १,४१५, बारामा १,५८४ र पर्सामा १,४७६ दरबन्दी रहेका छन्।
बाग्मती प्रदेशका १३ जिल्लामा कुल २१ हजार ७५२ शिक्षक दरबन्दी छ, जसमा प्रा.वि. तर्फ १५ हजार ७०५, नि.मा.वि. तर्फ ३ हजार २४४ र मा.वि. तर्फ २ हजार ८०३ दरबन्दी निर्धारण गरिएको छ। जस अनुसार सिन्धुलीमा १,२४८, रामेछापमा १,२०१, दोलखामा १,२७०, सिन्धुपाल्चोकमा १,५४३, रसुवामा ४४७, धादिङमा १,६४२, नुवाकोटमा १,५५९, काठमाडौँमा ३,५७८, ललितपुरमा १,५६७, भक्तपुरमा १,२५७, काभ्रेपलाञ्चोकमा २,२९५, मकवानपुरमा १,७३८ र चितवनमा २,४०७ दरबन्दी कायम भएका छन्।
गण्डकी प्रदेशका ११ जिल्लामा कुल १७ हजार ७२६ दरबन्दी रहेको छ। जसमा प्राथमिक तहका १२ हजार ८२२, निम्न माध्यमिक तहका २ हजार ७११ र माध्यमिक तहका २ हजार १९३ दरबन्दी छन्। जिल्लागत रूपमा नवलपरासी पूर्वमा १,१८१, स्याङ्जामा २,५८९, तनहुँमा २,६६५, गोरखामा २,०७२, मनाङमा १९२, लमजुङमा १,७५२, कास्कीमा २,३९०, पर्वतमा १,६८१, बागलुङमा १,८७९, म्याग्दीमा ९८९ र मुस्ताङमा ३२६ दरबन्दी रहेका छन्।
लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल १६ हजार ५२२ शिक्षक दरबन्दी रहेको छ, जसमा प्रा.वि. तर्फ १२ हजार २४६, नि.मा.वि. तर्फ २ हजार ३३४ र मा.वि. तर्फ १ हजार ९४२ दरबन्दी समावेश छन्।
लुम्बिनी प्रदेश अन्तर्गत रूपन्देहीमा २,०८७, नवलपरासी पश्चिममा ८५९, कपिलवस्तुमा १,२९५, अर्घाखाँचीमा १,५२९, पाल्पामा २,१६४, गुल्मीमा २,०११, रुकुम पूर्वमा ३३८, रोल्पामा १,०४६, प्युठानमा १,०९१, दाङमा १,७४०, बाँकेमा १,१६२ र बर्दियामा १,२०० दरबन्दी निर्धारण गरिएको छ।
त्यसैगरी कर्णाली प्रदेशका १० जिल्लामा कुल ७ हजार ७२२ शिक्षक दरबन्दी कायम छ, जसमध्ये प्रा.वि. तर्फ ६ हजार २८, नि.मा.वि. तर्फ १ हजार १६ र मा.वि. तर्फ ६७८ दरबन्दी छन्। जस अनुसार रुकुम पश्चिममा ६६५, मुगुमा ४४५, डोल्पामा ४७६, हुम्लामा ४१८, जाजरकोटमा ७८१, जुम्लामा ५८०, कालिकोटमा ६०४, सल्यानमा १,०७८, सुर्खेतमा १,५९८ र दैलेखमा १,०७७ दरबन्दी रहेका छन्।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा कुल ९ हजार ६४६ शिक्षक दरबन्दी रहेको छ। जसमा प्राथमिक तहमा ७ हजार २००, निम्न माध्यमिक तहमा १ हजार ४३९ र माध्यमिक तहमा १ हजार ७ दरबन्दी छन्। जिल्लागत विवरण अनुसार कैलालीमा १,४१६, डोटीमा ९६१, अछाममा १,०७३, बाजुरामा ७४६, बझाङमा १,०६५, दार्चुलामा १,०२४, बैतडीमा १,२९७, डडेलधुरामा ८४७ र कञ्चनपुरमा १,२१७ शिक्षक दरबन्दी कायम रहेको शिक्षा विभागले जनाएको छ।



