काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर गर्ने भएको छ। भदौ २४ गतेदेखि सुरु हुने भनिएको महाधिवेशनलाई सहमतिका साथ अघि बढाउने प्रयासस्वरूप संस्थापनले कार्यतालिका केही पर सार्न लागेको हो।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वडा अधिवेशनको मिति सार्ने निर्णय गर्ने नेताहरूले बताएका छन्। पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै महाधिवेशनलाई सहमतिका साथ अघि बढाउने प्रयासस्वरूप वडा अधिवेशन केही पर सार्ने तयारी गरिएको केन्द्रीय सदस्य बजरंग नेपालीले जानकारी दिए।
यसअघि कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत भदौ २४ गते वडा अधिवेशन, भदौ २७ गते गाउँ/नगर अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालालाई पनि महाधिवेशनमा सहभागी गराउने प्रयास गरिरहेको छ। पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षका कार्यक्रममा सहभागी हुँदै आएका खड्का र कोइराला संस्थापन पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी हुने तयारीमा रहेको बताइएको छ।
खड्का र कोइरालालाई समेत समेट्ने प्रयासस्वरूप संस्थापनले महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर गर्न लागेको नेताहरूको भनाइ छ। सभापति गगन थापाले सहमति जुटाउने प्रयासस्वरूप पूर्वउपसभापति खड्का र नेता कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
शनिबार भएको भेटमा खड्काले १५औँ महाधिवेशनमा सहभागी हुन क्रियाशील सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने सर्त राखेका थिए। खड्काको उक्त प्रस्तावमा सभापति थापा सकारात्मक रहेको बताइएको छ।
यसअघि खड्काले महाधिवेशनमा सहभागी हुन क्रियाशील सदस्यता अद्यावधिक नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका थिए।
पछिल्लो समय पूर्वसभापति देउवासँग असन्तुष्ट देखिएका खड्का संस्थापन पक्षसँग नजिकिएका छन्। देउवाले इतर पक्षको महाधिवेशन तयारी समितिको संयोजकमा शशांक कोइरालालाई जिम्मेवारी दिएपछि खड्का असन्तुष्ट बनेको बताइएको छ। त्यसपछि उनी संस्थापन पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी हुने तयारीमा रहेको नेताहरूको भनाइ छ।
सभापति थापाले आइतबार नेता शेखर कोइरालासँग पनि भेटवार्ता गरेका छन्। भेटमा पार्टीको आन्तरिक विवाद समाधान र महाधिवेशनलाई एकताबद्ध रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो। भेटका क्रममा कोइरालाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको भन्दै त्यसका लागि आफू आफ्नो तर्फबाट आवश्यक त्याग गर्न तयार रहेको बताएका थिए। जवाफमा सभापति थापाले पनि आफू पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका थिए।
संस्थापननिकट नेताहरूका अनुसार निर्वतमान उपसभापति खड्का र नेता कोइरालालाई १५औँ महाधिवेशनमा सहभागी गराउने गरी छलफल सकारात्मक रूपमा अघि बढिरहेको छ। यद्यपि इतर समूहका अन्य नेताहरूसँग भने अहिलेसम्म औपचारिक संवाद अघि बढ्न नसकेको उनीहरूको भनाइ छ।
‘पूर्णबहादुर र शेखर दाइ पनि संस्थापनले आयोजना गर्ने १५औँ महाधिवेशनमा सहभागी हुने गरी छलफल अगाडि बढेको छ,’ संस्थापननिकट एक नेताले भने, ‘छलफल सकारात्मक ढंगले अगाडि बढेको छ। उता (इतर पक्ष) का अन्य नेताहरू भने छलफलका लागि त्यति उत्सुक देखिनुभएको छैन।’
संस्थापन पक्षले असोजमा १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला इतर पक्षले पनि समानान्तर कार्यक्रम अघि बढाएको छ। देउवा समूहका तर्फबाट महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले मंसिरमा १५औँ महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका सार्वजनिक गरेका छन्।
दुवै पक्षले महाधिवेशनका लागि छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक गरेपछि कांग्रेस विभाजनको संघारमा पुगेको देखिएको छ। यद्यपि आफूहरू विभाजनको पक्षमा नरहेको बताउँदै आएका खड्का र शेखर कोइराला पछिल्लो समय संस्थापन पक्षसँग नजिकिन थालेका छन्।


