काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधिसभाको पूर्ण बैठक बस्नुअघि आज विभिन्न चार वटा संसदीय समितिका बैठकहरू समेत बस्दै छन् । संसद् सचिवालयका अनुसार बिहान १०ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरिनेछ । सो क्रममा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग दफावार छलफल गर्ने तयारी छ । सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
बिहान ११ः१५ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक डाकिएको छ। उक्त बैठकमा नेपालमा स्वदेशी, वैदेशिक, निजी तथा सार्वजनिक लगानीको वर्तमान अवस्था, जलवायु परिवर्तनले लगानीमा पारेको प्रभाव, लगानी सम्मेलनको व्यवस्थापन एवं लगानीमैत्री वातावरणका लागि आवश्यक नीतिगत र कानुनी सुधारबारे विस्तृत छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारले अघि बढाएको ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग राय–परामर्श गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।


