दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुंग्याउन शिक्षामन्त्रीको निर्देशन

हिमाल प्रेस ८ असोज २०८३ १२:२६ | Thursday, September 24, 2026
418
SHARES
दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुंग्याउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया दसैँअघि नै टुंग्याएर लागू गर्ने गरी काम अघि बढाउन मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका छन्।

बुधबार मन्त्रालयका सचिव, उच्च अधिकारी र सचिवालयसँग भएको छलफलमा उनले एघारौँ संशोधनको मस्यौदा शीघ्र तयार गरी नयाँ नियमावली कार्यान्वयनमा ल्याउने गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्।

मन्त्रालयका अनुसार शिक्षा नियमावलीको दसौँ संशोधनपछि उठेका गुनासा र व्यवहारिक समस्यालाई सम्बोधन गर्ने उद्देश्यसहित एघारौँ संशोधनको काम अघि बढाइएको हो।

दसौँ संशोधनका केही प्रावधानप्रति असन्तुष्टि जनाइएपछि मन्त्री पोखरेल, उनका प्रमुख सल्लाहकार, मन्त्रालयका उच्च अधिकारी र सचिवालयले विभिन्न सरोकारवालासँग चरणबद्ध छलफल गरेका थिए।

त्यसक्रममा सातै प्रदेशमा शिक्षा संवाद सञ्चालन गरी रायसुझाव संकलन गरिएको थियो। केही कार्यक्रममा मन्त्री पोखरेल स्वयं सहभागी भएका थिए भने प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका अधिकारी र विज्ञहरूको टोलीले देशभरबाट सुझाव संकलन गरेको मन्त्रालयले जनाएको छ।

विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिसम्बन्धी जटिलता तथा अन्य व्यवहारिक पक्षलाई आवश्यक संशोधनमार्फत समेट्ने गरी मस्यौदा तयार गर्न मन्त्रीले निर्देशन दिएका छन्।

छलफलका क्रममा उनले सरकारले यस वर्षलाई ‘कानुन निर्माणको वर्ष’ घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रभित्र रहेका ऐन तथा नियमावलीको काम पनि तीव्र गतिमा टुंग्याउन पदाधिकारीलाई निर्देशन दिएका छन्।

मन्त्रालयका अनुसार शिक्षक सरुवा लगायत दसौँ संशोधनपछि देखिएका समस्यालाई सम्बोधन गर्ने गरी शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको छ।

प्रकाशित: ८ असोज २०८३ १२:२६ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast