काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाको शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) को नेतृत्वमा नेपाल शिक्षा क्लस्टरका साझेदारहरूसँग मिलेर गरिएको ‘द्रुत क्षति तथा आवश्यकतासम्बन्धी स्थलगत सर्वेक्षण’ अनुसार बाढीका कारण कुल ६३ वटा शैक्षिक संस्थाहरू प्रभावित भएका छन् भने १४ हजार ५०० भन्दा बढी बालबालिकाको सिकाइमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अवरोध सिर्जना भएको छ।
प्रभावित विद्यालयहरूमध्ये धेरैजसो पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने केही विद्यालयहरू विस्थापित समुदायका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेका कारण नियमित पठनपाठन, विद्यार्थी तथा शिक्षकको सुरक्षा र बालबालिकाको मनोसामाजिक अवस्थामा गम्भीर असर परेको छ।
विपद् लगत्तै सञ्चालन गरिएको द्रुत आवश्यकता मूल्यांकनले शिक्षा क्षेत्रको बहुआयामिक क्षतिको दर्दनाक चित्र सार्वजनिक गरेको छ। विभागका अनुसार अध्ययन गरिएका ३४ वटा शैक्षिक संस्थाहरूमध्ये ३१ वटामा भौतिक क्षति पुगेको पाइएको छ। यसअन्तर्गत ४५ वटा विद्यालय भवन र २६८ वटा कक्षाकोठा पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
कुल सार्वजनिक शैक्षिक पूर्वाधारको भौतिक क्षतिमा भवनतर्फ ७१ प्रतिशत र कक्षाकोठातर्फ ६२ प्रतिशतभन्दा बढी हिस्सा रहेको विभागले जनाएको छ। क्षतिकै कारण १९ वटा विद्यालय पूर्णरूपमा बन्द भएका छन्। ४ वटा विद्यालय अस्थायी रूपमा बन्द छन् भने ७ वटा विद्यालय मात्र सामान्य रूपमा सञ्चालित छन्।
भौतिक संरचनाका अलावा ८२ वटा शौचालय, ३५ वटा खानेपानी आपूर्ति प्रणाली र २० वटा प्राथमिक खानेपानी स्रोतहरू बाढीले नष्ट पारेको विभागको तथ्यांक छ।
मानवीय क्षतिको विवरण झनै भयावह रहेको छ। बाढी प्रभावित क्षेत्रमा कुल ९,४३० विद्यार्थी र ५५९ शिक्षक रहेको प्रारम्भिक अभिलेखमा ५ जना विद्यार्थी र २ जना शिक्षकको मृत्यु भएको पुष्टि भइसकेको छ।
त्यसैगरी ५०० जना बालबालिका तथा २४ जना शिक्षक अझै पनि बेपत्ता वा सम्पर्कविहीन रहेका छन् भने १,३७२ जना विद्यार्थी विस्थापित भएका छन्। शैक्षिकमा ३,२३२ थान पाठ्यपुस्तक, २,२२७ सेट शिक्षण सिकाइ सामग्री, ४,५६१ डेस्क बेञ्च, १९४ डेस्कटप कम्प्युटर र १४४ वटा ल्यापटप क्षति भएका छन्।
विभागले जिल्लागत रूपमा हेर्दा नुवाकोट जिल्ला, विशेष गरी विदुर नगरपालिका भौतिक क्षतिको हिसाबले सबैभन्दा बढी प्रभावित बनेको जनाएको छ। नुवाकोटमा ३,००८ विद्यार्थी र १७७ शिक्षक प्रभावित भएकोमा २२७ विद्यार्थी र ११ शिक्षक बेपत्ता छन् भने ५ विद्यार्थी र १ शिक्षकको ज्यान गएको छ।
जिल्लामा ६३ वटा भवन र २९४ वटा कक्षाकोठा पूर्ण रूपमा क्षति हुँदा प्रारम्भिक कुल क्षति अनुमानित रु. ३२५.५० करोड बराबरको रहेको छ। त्यस्तै, नुवाकोटमा सञ्चालित २२ वटा होल्डिङ सेन्टर मध्ये १३ वटा विद्यालय परिसरमै बनाइएकाले नियमित सिकाइ सञ्चालनमा थप जटिलता थपिएको छ।
त्रिभुवन त्रिशूली मा.वि. (जसको मात्रै क्षति १५० करोड अनुमान गरिएको छ), त्रिशूली कम्युनिटी बोर्डिङ, उत्तरगया बोर्डिङ, रामचन्द्र आ.वि. र पोष्टबहादुर बोगटी बहुप्राविधिक विद्यालयलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ। धादिङ जिल्लामा पनि बाढी र पहिरोले विद्यालयका भवन, खानेपानी, सरसफाइ संरचना र पहुँच मार्गमा ठूलो क्षति पुर्याएको छ।
वागेश्वरी मा.वि.,बुद्धिविकास आ.वि.,धुस्सा सामुदायिक अध्ययन केन्द्र र अम्लेश्वर गुरुकुल विद्यालयमा बाढी र हिलो पसेर सामग्रीहरू नष्ट भएका छन्। विशेष गरी अम्लेश्वर गुरुकुलको भवन पूर्ण रूपमा बाढीले पुरिएकाले सोही स्थानमा पुनः विद्यालय सञ्चालन गर्न असम्भव देखिएको छ।
त्यसैगरी जलेश्वरी, चन्द्रोदय, शङ्खादेवी मा.वि. र भद्रकाली गुरुकुलमा खानेपानीका लिफ्ट तथा बोरिङ प्रणाली नष्ट हुनुका साथै झोलुङ्गे पुल र बाटो बगेका कारण बालबालिकाहरू विद्यालयसम्म पुग्न सकिरहेका छैनन्।
विभागको प्रतिवेदन अनुसार रसुवामा मात्रै २८५ जना विद्यार्थी सम्पर्कविहीन रहेका छन् भने ४० जना बालबालिकाले आफ्ना दुवै अभिभावक गुमाएका छन्। टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्ण रूपमा नष्ट भएको छ जहाँका २५ विद्यार्थी र ६ शिक्षक सम्पर्कविहीन छन्।
यस बहुआयामिक संकटलाई सम्बोधन गर्न शिक्षा विभाग र नेपाल शिक्षा क्लस्टरले सुरुका ३ महिनाका लागि एकीकृत विशेष प्रतिकार्य योजना तयार पारेका छन्। योजनाअनुसार प्रभावित क्षेत्रमा ४६ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरिनेछ। जसमा धादिङमा ९ र नुवाकोटमा ३७ वटा रहनेछन्।
यसैगरी ८२ वटा अस्थायी शौचालय निर्माण, ५५ वटा खानेपानी प्रणाली पुनःस्थापना, २० बाकस ईसीडी किट, ९३ बाकस विद्यालय किट, ९,४३० विद्यार्थीका लागि विद्यार्थी किट र १,३७२ विस्थापित विद्यार्थीका लागि आपत्कालीन सहयोग किट वितरण गरिने विभागको भनाइ छ।
२,२२७ सेट स्वःअध्ययन सामग्री, ९३ वटा शिक्षक किट, ३,२३२ थान पाठ्यपुस्तक, ४,५६१ सेट फर्निचर उपलब्ध गराउनुका साथै २० वटा विद्यालय परिसरको भग्नावशेष सफाइ र ३१ वटा विद्यालयको विस्तृत प्राविधिक मूल्यांकन गरिने विभागले जनाएको छ।
स्थलगत सर्वेक्षणमा शिक्षा विभागका निर्देशक डा.श्यामप्रसाद आचार्यको संयोजकत्वमा युनिसेफका सदस्य ई.डोरबहादुर योगी, विभागकै ई.विष्णु प्रसाद पौडेल,ई.सुरज पराजुली, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशका ई.यशव खड्का र सेभ द चिल्ड्रेनका ई.नविन चौधरी रहेका थिए।
विभागले स्थानीय तहबाट प्राप्त अद्यावधिक जानकारी अनुसार यी तथ्यांकहरूमा भिन्नता हुन सक्ने जनाएको छ।


