रसुवा बाढी : ४ हजार १७७ जनाको उद्धार, चिलिमे टनेलबाट १०० मिटर डेब्रि हटाइयो

हिमाल प्रेस २९ भदौ २०८३ १७:५४ | Monday, September 14, 2026
रसुवा बाढी : ४ हजार १७७ जनाको उद्धार, चिलिमे टनेलबाट १०० मिटर डेब्रि हटाइयो

काठमाडौँ- नेपाली सेनाले यही भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार १७७ जनाको उद्धार गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी छन्। नेपाली सेनाको हवाई साधनमार्फत आज मात्रै २० जनाको उद्धार गरिएको छ।

रसुवागढी जलविद्युत् आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। लाङ्गटाङ्ग जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले ड्रोनमार्फत टनेलभित्र खोजी गरेको भए पनि हालसम्म केही फेला परेको छैन।

चिलिमे हाइड्रोमा संयुक्त टोलीले एक्स्काभेटर र लोडर प्रयोग गरी हालसम्म करिब १०० मिटर डेब्रिस हटाएको छ। टनेलभित्र पानी भेटिएकाले पानी हटाउने कार्य भइरहेको छ भने खोज तथा उद्धार टोलीले डोरीको सहायताले टनेलभित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। खोला वारपार गर्न तुइनसमेत जडान गरिएको छ। यसबाट स्याफ्रुबेँसीलाई स्थलमार्गबाट धुन्चेसम्म जोड्न सहयोग पुग्ने सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली-१ मा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिले खोजी कार्य जारी राखेका छन्। त्रिशूली-३ए मा पावरहाउस तथा टनेल क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको छ। त्रिशूली-३बी मा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी आयोजनाको आवासगृह, कार्यालय भवन तथा टनेल क्षेत्रमा खोजी गरिरहेको छ। टोलीले अहिले पावरहाउस इलाकातर्फ खोजी कार्य अघि बढाएको छ।

रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत विभिन्न प्रभावित क्षेत्रमा नेपाली सेनाले पैदल गस्तीमार्फत खोजी गरिरहेको छ। स्याफ्रुबेँसी क्षेत्रमा तीन वटा समूहले खोजी कार्य गरिरहेका छन्।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेका छन्।

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज ३१ जनाले स्वास्थ्य सेवा लिएका छन्। यी केन्द्रबाट हालसम्म ३ हजार ७८४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ।

बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ स्थित शीतल बजारको सडक खुलाउने काम भइरहेको छ। सडकको भित्तातर्फ रहेको कडा चट्टान फुटाउन ब्लास्टिङको काम भइरहेको सेनाले जनाएको छ।

तस्बिर नेपाली सेना

प्रकाशित: २९ भदौ २०८३ १७:५४ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast