म्याग्दी- धवलागिरि गाउँपालिका-७ मा रहेको ताकम माध्यमिक विद्यालयलले तरकारी खेती सुरु गरेको छ।
विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने, विद्यार्थीलाई प्राविधिक र व्यावसायिक ज्ञान सीप सिकाउने उद्देश्यले तरकारी खेती सुरु गरेको हो।
ताकम माविका प्रधानाध्यापक केशर रावलले टनेल बनाएर मौसमी र बेमौसमी तरकारी खेती सुरुवात गरेको जानकारी दिए।
‘विद्यार्थी र शिक्षकले फुर्सदको समयमा प्रयोगात्मक अभ्यासका लागि पहिलो चरणमा एउटा टनेलमा बन्दा, काउली र गाजर लगाएका छौँ,’ उनले भने,‘थप जमिनमा हिउँदे आलु र साग प्रजातिका तरकारी लगाउने तयारीमा छौँ।’
ताकमको मैदानमा रहेको तीन रोपनीभन्दा बढी क्षेत्रफलको जग्गामा तरकारी खेतीलाई निरन्तरता दिने विद्यालयको योजना छ। कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई तरकारी खेतीमा सहभागी गराइएको छ।
तरकारी खेतीका लागि गाउँपालिकाले ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रममार्फत आर्थिक वर्ष २०८२/८३ मा रु एक लाख ५० हजार सहयोग गरेको छ।
दातृ संस्था ‘गुड नेवर्स इन्टरनेसनल’को सहयोगमा संगम म्याग्दीतर्फबाट सञ्चालिक एकीकृत सामुदायिक विकास परियोजनाले प्राङ्गारिक प्रविधिबाट खेती गर्ने तरिकाका विषयमा प्राविधिक सहयोग गरेको छ।
उक्त परियोजनाले करेसाबारी कार्यक्रममार्फत थप सहयोग गर्ने जनाएको प्रअ रावलले बताए। कक्षा आठ देखि १२ सम्म इलेक्ट्रिक इञ्जिनियरिङ विषयको पठनपाठन हुने ताकम माविमा २२१ जना विद्यार्थी अध्ययनरत छन्।
विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
करेसाबारीमा बिताउँदा विद्यार्थीहरुले जीवनोपयोगी र व्यावसायिक सीप सिक्नाका साथै ‘रिफ्रेस’ महसुस गरेका छन्।


