बाढीको जोखिमबारे नेपाल-चीनबीच सूचना आदानप्रदानमै प्रश्न

हिमाल प्रेस १५ भदौ २०८३ २१:३१ | Monday, August 31, 2026
बाढीको जोखिमबारे नेपाल-चीनबीच सूचना आदानप्रदानमै प्रश्न रसुवास्थित जल विद्युत् आयोजनाको सुरुङमा उद्धारमा खटिएका उद्धारकर्मी। तस्बिर : रासस

काठमाडौँ- गत साता नेपाल-चीन सीमामा आएको विनाशकारी बाढीले नौ सयभन्दा बढीको ज्यान लिएर करिब पाँच हजारलाई बेपत्ता बनाएपछि विपत्तिको पूर्वानुमान र पूर्वसूचनाका लागि नेपाल र चीनबीच भइरहेको सूचना आदानप्रदानमाथि प्रश्न उठेको छ।

नेपालको लाङटाङ हिमशृंखलाबाट हिमनदी अचानक भत्किएर नेपाल र तिब्बतलाई छुट्याउने सीमा क्षेत्रमा खसेपछि भीषण बाढी आएको थियो। विपत्तिको केन्द्रमा रहेको हिमनदीको अवस्थाबारे चीनसँग त्यसअघि कति सूचना थियो भन्ने स्पष्ट हुन सकेको छैन। विशेषगरी चिनियाँ सीमाभन्दा बाहिर रहेका हिमनदीको अवस्थाबारे तथ्यांक आदानप्रदान कस्तो थियो भन्ने विषय अहिले बहसमा आएको हो।

हिमनदी भत्किने घटना आफैँमा पूर्वानुमान गर्न कठिन हुने विज्ञहरू बताउँछन्। चीनको सरकारी सञ्चारमाध्यम चाइना डेलीसँग चेंग्दु युनिभर्सिटी अफ टेक्नोलोजीअन्तर्गत स्टेट की ल्याबोरेटरी अफ जियोहाजार्ड प्रिभेन्सन एन्ड जियोएनभाइरोन्मेन्ट प्रोटेक्सनका निर्देशक फान सुआनमेईले यस्ता घटना हुनुअघि नै पहिचान गर्नु अत्यन्त कठिन हुने बताएका छन्।

उनका अनुसार सम्भावित जोखिमका स्रोत प्रायः समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि हुन्छन्। त्यस्ता क्षेत्रमा परम्परागत स्थलगत अनुगमन कठिन हुन्छ। हिउँ र बरफले ढाकिएका तथा अत्यन्त भिराला भूभागका कारण उपग्रहबाट गरिने अवलोकनसमेत सीमित हुन सक्छ। त्यसमाथि अत्यधिक चिसो र उच्च हिमाली क्षेत्रमा अनुगमनका उपकरण सञ्चालन गर्नु अर्को चुनौती हो।

प्राकृतिक विपत्ति पूर्वानुमान गर्न कठिन हुनु र जोखिमसम्बन्धी उपलब्ध सूचना दुई देशबीच पर्याप्त रूपमा आदानप्रदान नहुनु भिन्न विषय हुन्। यही प्रश्नमा नेपालले चीनसँग थप सहकार्य र नियमित तथ्यांक आदानप्रदानको आवश्यकता औँल्याउँदै आएको छ।

गत जेठ १३ काठमाडौँमा भएको नेपाल-चीन बैठकमा पनि हिमनदीजन्य जोखिमको अनुगमन र विपद् सूचना आदानप्रदानको विषय उठेको थियो। बैठकमा नेपालका १० जना तथा चीनका पनि त्यत्तिकै संख्यामा अधिकारीहरू सहभागी थिए। नेपालले हिमनदीको जोखिम, हिमताल तथा पानीको सतहलगायत विषयमा थप सूचना आदानप्रदानका लागि सहकार्य विस्तार गर्न प्रस्ताव गरेको थियो।

बैठकमा चिनियाँ पक्षले नेपालका मागअनुसार सम्झौता गर्ने अधिकार आफूहरूसँग नभएको र यस विषयमा थप छलफल आवश्यक रहेको बताएको नेपालका जलविज्ञ विनोद पराजुलीले समाचार एजेन्सी रोयटर्ससँग बताएका छन्।

हिमनदी अनुगमनमा व्यापक सहकार्य गर्न नेपालले राखेको माग तथा सीमावर्ती समुदायलाई जोखिममा पार्ने हिमनदीबारे दुई देशबीच भएको उक्त छलफलका विवरण यसअघि सार्वजनिक भएका थिएनन्।

नेपालस्थित चिनियाँ दूतावासले भने नेपाल र चीनबीच यस विषयमा निरन्तर निकट सम्पर्क रहेको दाबी गरेको छ। शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत दूतावासले मे महिनाको बैठकमा सीमापार विपद् सूचना आदानप्रदान प्रवर्द्धन गर्ने विषयमा महत्त्वपूर्ण प्रगति भएको जनाएको छ।

चीनले नेपालसँग मौसम, जलस्रोत तथा विपद् रोकथाम र न्यूनीकरणका क्षेत्रमा राम्रो सहकार्य भइरहेको बताउँदै आएको छ। तर पछिल्लो विपत्तिले सीमावर्ती हिमाली क्षेत्रमा हुने जोखिमको अनुगमन, त्यससम्बन्धी सूचना संकलन र दुई देशबीच तत्काल सूचना आदानप्रदान गर्ने संयन्त्र कति प्रभावकारी छ भन्ने प्रश्न भने थप गम्भीर बनाएको छ।

नेपालका धेरै ठूला नदी प्रणाली तिब्बतबाट उत्पत्ति हुन्छन्। हिमनदी भत्किने, हिमताल फुट्ने वा पहिरोका कारण नदीको बहाव अचानक बढ्ने घटनाले नेपालतर्फका बस्तीमा केही समयमै विनाशकारी प्रभाव पार्न सक्छ।

पछिल्लो बाढीले कम्तीमा १६८ किलोमिटर तलसम्म ठूलो क्षति पुर्‍याएको र अनुगमनका केही केन्द्रसमेत बगाएको अवस्थामा सीमापार जोखिमको सूचना नेपालसम्म कति छिटो र कति विस्तृत रूपमा आइपुग्छ भन्ने विषय अब विपद् पूर्वतयारीको प्रमुख प्रश्न बनेको छ।

रोयटर्सका अनुसार विपत्ति आउनुभन्दा १२ दिनअघि चीनको विश्व मौसम विज्ञान केन्द्रले नेपालका अधिकारीहरूलाई इमेल पठाउँदै अगस्ट १४ देखि १९ सम्म उक्त क्षेत्रमा मनसुनी न्यूनचापीय प्रणाली रहने पूर्वानुमान गरेको थियो।

चीनले नेपालमा ‘धेरैजसो क्षेत्रमा वर्षा बढ्ने सम्भावना रहेको’ भन्दै पहिरो र आकस्मिक बाढीलगायत दोस्रो चरणमा निम्तिन सक्ने तथा एकपछि अर्को रूपमा उत्पन्न हुने जोखिमतर्फ ध्यानाकर्षण गराएको थियो।

चिनियाँ दूतावासले गत साताको विपत्तिबाट बनेको तालको अनुगमनसम्बन्धी तथ्यांकलगायत सूचना नेपालसँग आदानप्रदान गरिरहेको जनाएको छ।

वातावरणीय मानवशास्त्री तथा वासिङ्टनस्थित स्टिम्सन सेन्टरका वरिष्ठ फेलो अस्टिन लर्डका अनुसार नेपाल–चीनबीचको द्विपक्षीय सहकार्यको कमी पछिल्लो विपत्तिमा नेपालको उद्धार तथा प्रतिक्रिया कमजोर हुनुको प्रमुख कारण थिएन। ‘यसले स्पष्ट र व्यवस्थित प्रणाली छैन भन्ने तथ्यलाई माफ गर्दैन। नेपाल र चीनबीच सूचनाको आदानप्रदान पनि निकै सीमित छ,’ नेपाल सरकारलाई विपद् तथा जलवायु जोखिम व्यवस्थापनमा सहयोग गरिरहेको टोलीका सदस्य लर्डले रोयटर्ससँग भनेका छन्।

चीन सरकारले नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि विपद् प्रभावित क्षेत्रका तस्बिर, भूउपग्रह तथा जलविज्ञानसम्बन्धी तथ्यांक र माथिल्लो क्षेत्रमा बनेको ताल थुनिएको अवस्थाबारे पूर्वसूचनालगायत महत्त्वपूर्ण सूचना नेपालसँग आदानप्रदान गरेको दाबी गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनमा चीनले विपद्को सुरुवाती अवस्थादेखि नै नेपाललाई सूचना तथा उद्धारमा सहयोग गरिरहेको बताएको सिन्हवाले उल्लेख गरेको छ।

जलविज्ञ पराजुलीका अनुसार बाढीको भेल नेपालसम्म आइपुग्न लागेको समयले पूर्वसूचना प्रणालीको महत्त्व देखाउँछ। नेपाली समयअनुसार बुधबार बिहान करिब ८:३२ बजे तिब्बतको एउटा सीमा नाकामा मानिसहरू भाग्ने प्रयास गरिरहेका बेला भीषण भेल प्रवेश गरेको निगरानी क्यामेराको दृश्यमा देखिन्छ। उक्त दृश्य अहिले विपत्तिको प्रमुख प्रतीक बनेको छ।

त्यसको २६ मिनेटपछि नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुखले पराजुलीलाई फोन गरी त्रिशूली नदीमा बाढी आएको जानकारी दिएका थिए। पराजुलीको टोलीले सीमा क्षेत्रमा रहेको अनुगमन केन्द्रले बिहान ८:४० देखि कुनै तथ्यांक प्रसारण नगरेको पत्ता लगायो।

‘त्यसपछि हामीले तलतर्फका अनुगमन केन्द्रसँग पनि सम्पर्क गर्ने प्रयास गर्‍यौँ। तर तलतर्फका केन्द्रहरूले पनि तथ्यांक पठाउन सकेनन्’, उनले भने। त्यसपछि ती उपकरणहरू बाढीले बगाएको हुनसक्ने आशंका टोलीले गरेको थियो।

स्थानीय नेपाली अधिकारीसँग सम्पर्क गरी बाढी आएको पुष्टि गरेपछि पराजुलीको टोलीले बिहान ९:१३ बजे मोबाइल प्रयोगकर्तालाई सार्वजनिक चेतावनी पठाएको थियो।

नेपाल सरकारको प्रारम्भिक मूल्यांकनअनुसार नेपाल-चीन सीमाबाट तलतर्फ १६८ किलोमिटर बगेको बाढीले कम्तीमा चारवटा अनुगमन केन्द्र नष्ट गरेको थियो। बाढीमा करिब पाँच करोड ७४ लाख घनमिटर पानी बगेको थियो।

तीव्र वेगमा आएको बाढीले विशाल चट्टानहरू बगाउनुका साथै ठूला भवनहरूलाई समेत बगाएर लग्यो। १९ वटा पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएको तथा नेपालको विद्युत् उत्पादन क्षमताको १० प्रतिशतभन्दा बढी प्रभावित भएको सरकारको प्रारम्भिक तथ्यांक छ।

अफगानिस्तानदेखि म्यान्मारसम्मका करोडौँ मानिसको बसोबास रहेको हिन्दुकुश हिमालय क्षेत्रमा ध्रुवीय क्षेत्रबाहेक विश्वकै सबैभन्दा ठूलो परिमाणमा बरफ सञ्चित छ। यहाँ ६३ हजार ७ सयभन्दा बढी हिमनदी छन्, जसले करिब ५६ हजार वर्ग किलोमिटर क्षेत्र ढाकेका छन्। यी हिमनदीमा करिब ५ हजार ७ सय घनकिलोमिटर बरफ सञ्चित रहेको अनुमान छ।

पछिल्लो विपत्ति निम्त्याउने हिमनदीको टुक्रामा करिब ५० लाख घनमिटर बरफ र चट्टान रहेको अनुमान गरिएको नेपालस्थित त्रिभुवन विश्वविद्यालयको विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारीले बताए।

जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएको छ। हिउँको आवरण घट्दै गएको र हिमपातको स्वरूप अनियमित बन्दै गएका कारण यस्तो भएको इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) को सन् २०२३ को अध्ययनले देखाएको छ।

यी परिवर्तनले बाढीपहिरोको सम्भावना बढाउने तथा हिमाली समुदायले गेग्रान थुप्रिने र भूक्षयजस्ता जोखिमसमेत सामना गर्नुपर्ने इसिमोडको प्रक्षेपण छ।

नेपालका धेरै प्रमुख नदी प्रणाली तिब्बतबाट उत्पत्ति भएर विश्वकै भूकम्पीय रूपमा सक्रिय र बाढीको उच्च जोखिम भएको क्षेत्रमा हुँदै बग्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast