बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

हिमाल प्रेस १५ भदौ २०८३ २०:५१ | Monday, August 31, 2026
बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौँ- नेकपा (एमाले) ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि केन्द्रीय राहत, उद्धार तथा पुनःनिर्माण सहयोग समिति गठन गरेको छ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीका केन्द्रीय सचिव एवं बागमती प्रदेशका सचिव महेश बस्नेतको संयोजकत्वमा ४० सदस्यीय समिति गठन गरिएको हो।

समितिमा प्रभावित जिल्लाका पार्टी नेतृत्व र भातृ संगठनका प्रमुख राखिएको छ। समितिअन्तर्गत विभिन्न कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारीे बाँडफाँट गरिएको छ।

कार्यविभाजनअनुसार समितिका टोली मंगलबार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा प्रस्थान गर्ने जनाइएको छ। टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग र समन्वय गर्नेछ।

यसअघि एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले बाढी प्रभावित नुवाकोटलगायत क्षेत्रमा स्थलगत अध्ययन गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा उल्लेखित सुझावका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार समिति गठन गरी कार्यविभाजनसहित जिम्मेवारी तोकेको एमालेले जनाएको छ।

यसैबीच एमालेको तेस्रो केन्द्रीय कमिटीको बैठक आगामी असोज ५, ६ र ७ गते काठमाडौँमा बस्ने तय भएको छ। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले बैठकको मिति तय भएको जानकारी दिए।

उनका अनुसार बैठकमा विपद्पछिको अवस्था, समसामयिक राजनीतिक विषय, पार्टीको सांगठनिक अवस्था तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित: १५ भदौ २०८३ २०:५१ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast