काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन्।
सोमबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई सपथग्रहण गराउँदै अध्यक्ष ओलीले विगतमा पटकपटक पार्टीलाई घेराबन्दीको प्रयास भइरहेको भन्दै आगामी निर्वाचन नजिकिँदै गर्दा अहिले पनि पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताए।
उनले लोकतन्त्र मासिएको, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको अवस्थामा तिनको पुनरुत्थान अनिवार्य सर्त रहेको उल्लेख गरे। राष्ट्रियताको पक्षमा उभिँदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिने उनले बताए।
अध्यक्ष ओलीले पार्टीलाई सशक्त रुपमा अघि बढाउनुपर्ने भएकाले आन्तरिक विरोध र असहमतिमा अल्झिनु नहुने धारणा राखे।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने, सत्य, समानता र मानवताको बाटोमा हिँड्ने उद्देश्य बोकेको पार्टी एमाले भएकाले साना–मसिना गलत कुरामा अल्झिन नहुने बताए।




