विपद्‌मा मानिसलाई सधैँ बचाउनुपर्दैन, उसको आफ्नै शक्ति देख्नुपर्छ

माधव खतिवडा १४ भदौ २०८३ १३:५४ | Sunday, August 30, 2026
विपद्‌मा मानिसलाई सधैँ बचाउनुपर्दैन, उसको आफ्नै शक्ति देख्नुपर्छ

२०७२ सालको भूकम्पपछि म गण्डकी प्रदेशको कुनै गाउँमा पुगेको थिएँ। मेरो काम मानिसहरूलाई मनोसामाजिक सहायता पुर्‍याउनु थियो। पेसागत अनुभवका हिसाबले म त्यतिबेला आलोकाँचो सहायताकर्मी थिएँ। त्यसैले मानिसहरू समस्यामा छन् र उनीहरूलाई चाँडै सहयोग गर्नुपर्छ भन्ने हतार र हुटहुटी मनभित्र थियो।

सहायता गर्नुपर्ने मानिस भेटिनेबित्तिकै म प्रश्न गर्न थालिहाल्थेँ। मलाई मानिसमा भएको समस्या पहिचान र लेखाजोखा गर्नु थियो। विपद्‌ले ल्याउने संकट र आघातजन्य अनुभवसँग सम्बन्धित केही प्याथोलोजिकल शब्दावली र तिनका लक्षण जान्नु थियो। त्यसैले म उनीहरूलाई घटना, डर, निद्रा, चिन्ता र भावनात्मक अवस्थाबारे अनेक प्रश्न गरिहाल्थेँ।

जति धेरै प्रश्न गर्थेँ, त्यति नै मानिसहरू मसँग असहज हुँदै गएको अनुभव गर्थेँ। उनीहरू डराएजस्ता, मसँग फेरि बोल्न नचाहेजस्ता देखिन्थे। अहिले फर्केर हेर्दा लाग्छ- म उनीहरूलाई सहयोग गर्न गएको थिएँ तर मेरो ‘सहयोग गर्ने हतार’ नै उनीहरूका लागि अर्को असहज अनुभव बन्दै थियो। म मानिसभित्र समस्या खोजिरहेको थिएँ; उनीहरू भने भर्खरै आएको विपद्सँग आफ्नो जीवन सम्हाल्ने प्रयास गरिरहेका थिए। मेरो ध्यान उनीहरूको पीडाभन्दा उनीहरूको ‘समस्या’ मा बढी केन्द्रित थियो।

त्यही क्रममा भूकम्पले लथालिंग पारेको घरनजिकै पाल टाँगेर बसिरहेको एउटा परिवारमा पुगेँ। उनीहरूले मलाई त्यही पालको एकछेउमा सुत्न र खान दिए। म भने उनीहरूमा केके समस्या आएको होला भनेर गम खान्थेँ, हेर्थेँ र केही प्रश्न सोध्थेँ।

हुँदाहुँदा रात पर्न थाल्यो। वरपरका मानिस पनि जम्मा भए। खुला ठाउँमा आगो बालियो। गाउँमै बनाइएको पेयपदार्थ बाँडियो। केही समय उनीहरूले भूकम्पका बेला आफू कसरी जोगिए भन्ने कुरा गरे। त्यसपछि त्यही आगोको वरिपरि बसेर गीत गाए, उठे, नाचे। गीतको रन्कोले डाँडाकाँडा घन्कियो।

केही समयअघिसम्म भूकम्पले त्रसित भएका ज्यान र मनहरू फेरि सरलक्कै उठेजस्ता र जीवन्त भएजस्ता देखिए।

त्यतिबेला यो दृश्यले मलाई त्यति धेरै प्रभाव पारेन। म त मानिसको ‘समस्या’ खोज्नमै व्यस्त थिएँ। तर अहिले आएर फर्केर हेर्दा लाग्छ- हाम्रो सामूहिक जीवनपद्धतिमा संकटसँग जुध्ने र आफूलाई सम्हाल्ने कति उत्कृष्ट तरिकाहरू रहेछन्! उनीहरूले कुनै औपचारिक मनोवैज्ञानिक सत्र लिएनन्, आफ्नो ‘ट्रमा’ को परीक्षण गरेनन्, कुनै निदान खोजेनन्। उनीहरूले एकअर्काको साथ पाए, आफ्नो अनुभव बाँडे, आगो तापे, हाँसे, गाए र नाचे। त्यो सामूहिक उपस्थितिले उनीहरूलाई भूकम्पको भय र त्रासबाट केही समय बाहिर निकालेर परिचित जीवन, सम्बन्ध र सामूहिकतातर्फ फर्किने एउटा बाटो खोलिदिएको रहेछ।

आज त्यो घटना सम्झँदा लाग्छ- विपद्‌मा मानिसलाई सहयोग गर्ने नाममा हामी कहिलेकाहीँ मानिसको आफ्नै शक्ति देख्नै बिर्सँदा रहेछौं। हामी समस्या पहिचान गर्न यति व्यस्त हुन्छौँ कि समस्याबीच पनि मानिसले जोगाइरहेको जीवन, सम्बन्ध, आशा र सामुदायिक शक्तिलाई देख्न सक्दैनौँ। त्यसैले विपद्‌मा मनोसामाजिक सहयोगको सबैभन्दा महत्त्वपूर्ण प्रश्न सायद हामी कति छिटो पुग्ने भन्ने होइन कि पुगेपछि के गर्ने र के नगर्ने भन्ने रहेछ।

सामान्य परिस्थितिमा सामान्य मानवीय प्रतिक्रिया

विपद् सकिएलगत्तै प्रभावित मानिसहरूका बीच पुगेर मनोवैज्ञानिक हस्तक्षेप गर्न केही मनोवैज्ञानिक तथा मनोविमर्शकर्ताहरूमा स्वाभाविक रूपमा ठूलो तत्परता हुन्छ। सहयोग गर्ने भावना आफैँमा सकारात्मक हो। तर विपद्को समयमा देखिने हरेक पीडालाई मनोवैज्ञानिक समस्या र हरेक भावनात्मक प्रतिक्रियालाई उपचारको विषय बनाउनु आवश्यक छैन। घर बग्नु, आफन्त बेपत्ता हुनु, आफ्नो भविष्य अनिश्चित हुनु, रातभर निद्रा नलाग्नु, डराउनु, रुनु, रिसाउनु, झस्किनु वा बारम्बार घटनाबारे कुरा गर्नु- यीमध्ये धेरै कुरा असामान्य परिस्थितिमा मानिसले देखाउने सामान्य मानवीय प्रतिक्रिया हुन सक्छन्।

विपद्‌ भनेको मानिसको सामान्य जीवन, सुरक्षा र भविष्यलाई एकैचोटि हल्लाइदिने घटना हो। यस्तो अवस्थामा मनले पनि त्यसैअनुसार प्रतिक्रिया गर्छ। कसैले धेरै रुन्छ, कसैले मौन हुन्छ, कसैले लगातार बोल्छ, कसैले आफूलाई काममा व्यस्त राख्छ। कसैलाई केही दिनसम्म निद्रा नलाग्न सक्छ, कसैलाई डर लाग्न सक्छ। यस्ता प्रतिक्रियालाई तत्काल रोगको भाषामा अनुवाद गर्नु आवश्यक छैन। पीडा वास्तविक हुनु र मानसिक स्वास्थ्य समस्या हुनु एउटै कुरा होइन।

यही कुरा बुझ्न नसक्दा हामी मानिसको पीडालाई अनावश्यक रूपमा रोगीकरण गर्न सक्छौँ। विपद्पछि मानिसलाई तुरुन्तै ‘ट्रमा’, ‘डिप्रेसन’, ‘एन्जाइटी’ वा अन्य मनोवैज्ञानिक लेबलभित्र राख्ने प्रयासले उसको स्वाभाविक सामना गर्ने प्रक्रियालाई कमजोर बनाउन सक्छ। त्यसैले संकटको प्रारम्भिक चरणमा हाम्रो पहिलो प्रश्न ‘यस व्यक्तिमा के समस्या छ?’ भन्दा पनि ‘यस व्यक्तिले के भोगिरहेको छ र अहिले उसलाई के आवश्यक छ?’ हुनुपर्छ।

सहयोग गर्ने हतार र हस्तक्षेपको सीमा

पेसागत ज्ञान र सीप भएका व्यक्तिमा ‘मैले केही गर्नैपर्छ’ भन्ने भावना अझ बलियो हुन सक्छ। तर संकटको समयमा सहयोग गर्नु र हस्तक्षेप गर्नु एउटै कुरा होइन। कहिलेकाहीँ मानिसलाई सुरक्षित ठाउँमा पुर्‍याइदिनु, परिवारका सदस्यसँग जोडिदिनु, खाना-पानी वा औषधिको व्यवस्था गरिदिनु, उसको कुरा सुन्नु वा आवश्यक सेवासम्म पुर्‍याइदिनु नै सबैभन्दा महत्त्वपूर्ण मनोसामाजिक सहयोग हुन सक्छ। हामीले केही नगरेको जस्तो लागे पनि हाम्रो सुरक्षित, सम्मानजनक र उपस्थितिमूलक साथ आफैँमा ठूलो सहयोग हुन सक्छ।

संकटमा परेको व्यक्तिलाई आफ्नो कुरा भन्न ठाउँ दिनु, उसको निर्णयको सम्मान गर्नु र उसलाई आफ्नो गति र शैलीमा परिस्थिति सम्हाल्न दिनु पनि सहयोग हो। प्रत्येक पीडालाई आफ्नो पेसागत सीप प्रयोग गर्ने अवसरका रूपमा हेर्नु आवश्यक छैन। त्यसैले विपद्‌मा सहायताकर्मीले आफ्नो पेसागत तत्परतालाई केही समय रोक्न सक्नुपर्छ। जहाँ हाम्रो उपस्थितिले वास्तविक अर्थमा फरक पार्न सक्छ, त्यहाँ उपस्थित होऔँ; तर हाम्रो उपस्थितिले प्रभावित व्यक्तिलाई आफू कमजोर, असहाय वा ‘बिरामी’ भएको अनुभूति गराउन थाल्छ भने एक कदम पछाडि हट्न पनि सकौँ। कहिलेकाहीँ राम्रो सहायताकर्मीले गर्ने सबैभन्दा बुद्धिमानी काम भनेको आफूलाई केन्द्रमा नराखी मानिस र उसको समुदायलाई आफ्नै ढंगले सम्हालिन ठाउँ दिनु पनि हो।

प्राथमिक मनोवैज्ञानिक सहयोग उपचार होइन, मानवीय साथ

यसको अर्थ विपद्पछि मनोवैज्ञानिक सहयोग आवश्यक पर्दैन भन्ने होइन। केही मानिस अत्यन्त विचलित हुन सक्छन्, आफू वा अरूको सुरक्षाबारे गम्भीर चिन्तामा हुन सक्छन्, आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्थामा पुग्न सक्छन् वा आफ्नो परिवार र सामाजिक सञ्जालबाट पूर्ण रूपमा विच्छेद हुन सक्छन्। यस्ता अवस्थामा प्राथमिक मनोवैज्ञानिक सहयोग महत्त्वपूर्ण हुन्छ। प्राथमिक मनोवैज्ञानिक सहयोग तत्काल मनोचिकित्सा वा लामो समयको काउन्सिलिङ होइन। यो संकटमा परेको व्यक्तिलाई सुरक्षित अनुभव गराउने, उसको कुरा सुन्ने, तत्काल आवश्यकता पहिचान गर्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने मानवीय प्रक्रिया हो।

प्राथमिक मनोवैज्ञानिक सहयोगको अर्थ सबै प्रभावित व्यक्तिलाई बसेर घटना सुनाउन लगाउनु वा उनीहरूको मनभित्र दबिएको भावना ‘निकाल्न’ बाध्य पार्नु पनि होइन। यसको मूल आसय हेर्ने, सुन्ने र जोड्ने हो। कसलाई तत्काल सुरक्षा चाहिएको छ? कसलाई व्यावहारिक सहयोग चाहिएको छ? को अत्यन्त विचलित छ? कसलाई थप विशेषज्ञ सहयोग आवश्यक पर्न सक्छ? यी सवालहरुमा ध्यान दिइन्छ।

विशेषगरी बालबालिका, एक्लिएका वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, गम्भीर घाइते, आफन्त गुमाएका वा बेपत्ता भएका परिवार तथा आफूलाई वा अरूलाई हानि पुर्‍याउने जोखिम भएका व्यक्तिप्रति थप संवेदनशील हुनुपर्दछ।

कथा सुन्ने कि समस्या खोज्ने?

विपद्पछि प्रभावित व्यक्तिसँग पुग्दा हाम्रो पहिलो संवेदनशीलता ‘मलाई सबै थाहा छ’ होइन, ‘तपाईंले के भोगिरहनुभएको छ, म बुझ्न चाहन्छु’ भन्ने हुनुपर्छ। उनीहरूको अनुमति नलिई व्यक्तिगत प्रश्न गर्ने, घटनाको विवरण सुनाउन दबाब दिने, तुरुन्तै मनोवैज्ञानिक परीक्षण गर्ने वा ‘नडराउनुस्, सबै ठिक हुन्छ’ जस्ता सजिला आश्वासन दिने कामबाट जोगिनुपर्छ। त्यसरी नै कसैको मौनतालाई पनि सम्मान गर्नुपर्छ। कसैले कुरा गर्न चाहन्छ भने सुन्नुपर्छ; कुरा गर्न चाहँदैन भने त्यसलाई पनि स्वीकार गर्नुपर्छ। कसैको रोदन, रिस, डर, निद्रामा परिवर्तन वा घटनाबारे बारम्बार कुरा गर्नु संकटको प्रारम्भिक चरणमा स्वाभाविक हुन सक्छ। त्यसैले तुरुन्तै त्यसलाई रोगको संकेतका रूपमा अर्थ्याउनु उचित हुँदैन।

यसैगरी सहयोगका नाममा प्रभावित व्यक्तिको कथा, फोटो वा पीडालाई प्रदर्शनको सामग्री बनाउनु पनि उत्तिकै संवेदनशील विषय हो। गोपनीयता, सम्मान, स्वायत्तता र सहमति विपद्को समयमा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। मानिसको पीडा हाम्रो ‘केस’ होइन; त्यो उसको जीवनको वास्तविक अनुभव हो। अत: बाहिरबाट आएको सहायताकर्मीले आफ्नो ज्ञान र पद्धतिलाई मात्र सही ठानेर स्थानीय मानिसको अनुभव, विश्वास, सम्बन्ध र सामना गर्ने तरिकालाई बेवास्ता गर्नु हुँदैन। संकटमा सहयोग गर्न जानु भनेको मानिसको जीवन आफ्नो हातमा लिनु होइन बरु उसलाई आफ्नै जीवन सम्हाल्न सक्ने आधार बलियो बनाउन मद्दत गर्नु हो।

हाम्रो सामूहिक जीवनपद्धति : संकटमोचनको रैथाने शक्ति

नेपालको सामूहिक जीवनपद्धतिमा संकटसँग जुध्ने आफ्नै सामाजिक शक्ति छ। परिवार, आफन्त, छिमेकी, साथीभाइ, टोल र समुदाय विपद्को समयमा स्वाभाविक रूपमा सक्रिय हुन्छन्। कसैको घरमा बस्ने ठाउँ दिनु, खाना बाँड्नु, हराएका मानिस खोज्न सँगै जानु, बालबालिकाको हेरचाह गर्नु, दुःखमा साथ दिनु वा रातभर सँगै बस्नु-यी सबै मनोसामाजिक सहयोगका महत्वपूर्ण रूप हुन्। यस्ता सम्बन्धहरूले मानिसलाई ‘म एक्लो छैन’ भन्ने अनुभूति दिन्छन्। संकटको समयमा यो अनुभूति आफैँमा ठूलो मनोसामाजिक स्रोत हो। मानिसले आफ्ना सम्बन्ध र समुदायभित्र आफ्नो अनुभव बाँड्न, भावनालाई स्वाभाविक रूपमा व्यक्त गर्न र बिस्तारै दैनिक जीवनको लयमा फर्किन अवसर पाउँछ।

मैले भूकम्पपछि देखेको त्यो आगो वरिपरिको गीत र नाचलाई अहिले एउटा फरक आँखाले हेर्छु। त्यो केवल मनोरञ्जन थिएन होला। त्यो समुदायको आफ्नै ढंगले जीवन लयलाई पुनः समात्ने प्रयास थियो। सामूहिक उपस्थिति, साझा अनुभव, हाँसो, गीत, नाच र साथले मानिसलाई विपद्को क्षणबाट केही समय बाहिर निकालेर सम्बन्ध, परिचितता र जीवन्ततातर्फ फर्काएको थियो। फेरि यसको अर्थ हरेक सांस्कृतिक गतिविधिलाई ‘थेरापी’ को नाम दिनुपर्छ भन्ने होइन। बरु मानिसहरू संकटसँग जुध्नका लागि पहिले नै बोकेर आएका सामाजिक र सांस्कृतिक शक्तिलाई हामीले देख्न र सम्मान गर्नुपर्छ भन्ने हो। समुदायमा रहेको हाँसो, गीत, नाच, सामूहिक श्रम, धार्मिक–सांस्कृतिक अभ्यास, आपसी सहयोग र साथलाई मनोसामाजिक पुनःस्थापनाका सम्भावित स्रोतका रूपमा बुझ्न सकिन्छ।

सहायताकर्मी उद्धारकर्ता नभई एक सहयात्री

यसैले विपद्को समयमा मनोवैज्ञानिक तथा मनोविमर्शकर्ताको भूमिका आफैँलाई ‘उद्धारकर्ता’ का रूपमा प्रस्तुत गर्नु होइन। समुदायमा पहिल्यै रहेका सम्बन्ध, नेतृत्व, परम्परा, आपसी सहयोग र सामना गर्ने क्षमतालाई पहिचान गर्नु र आवश्यक ठाउँमा त्यसलाई थप बलियो बनाउनु हो। हामीले समुदायको आफ्नै उत्थानशीलतालाई विस्थापित होइन बरु सुदृढ गर्नुपर्छ। यसका लागि सहायताकर्मीले आफ्नो ‘विज्ञता’ सँगै आफ्नो विनम्रता पनि लिएर जानुपर्छ। हामीले समुदायलाई केही दिन सक्छौँ तर समुदायसँग सिक्नुपर्ने कुरा पनि धेरै हुन्छन्। संकटमा मानिसहरू केवल पीडित हुँदैनन् मात्र बरु उनीहरूमा अनुभव, सम्बन्ध, ज्ञान, सीप, विश्वास र सामना गर्ने क्षमता पनि हुन्छ। त्यसलाई नदेख्नु भनेको मानिसलाई उसको आधा जीवन नदेख्नु हो।

२०७२ को भूकम्पपछि गाउँको त्यो आगोछेउको दृश्यले मलाई वर्षौँपछि एउटा कुरा सिकाएको छ- मानिसहरूलाई सधैँ हामीले बचाउनु उठाउनु पर्दैन;  उनीहरूलाई आफूभित्र र आफ्नो समुदायभित्र रहेको बचाउने शक्तिसम्म पुग्ने ठाउँ दिनुपर्छ। हाम्रो ज्ञान त्यहाँ आवश्यक छ जहाँ वास्तविक आवश्यकता छ। हाम्रो हस्तक्षेप त्यहाँ आवश्यक छ जहाँ मानिसको सुरक्षा, कार्यक्षमता वा पुनःस्थापनाका लागि त्यसको अर्थपूर्ण योगदान हुन्छ।तर जहाँ मानिसहरू आफैँ एकअर्कालाई सम्हालिरहेका छन्, जहाँ परिवार र समुदायले पीडा बाँडिरहेका छन्, जहाँ जीवन बिस्तारै आफ्नै लयमा फर्किँदै छ- त्यहाँ हाम्रो भूमिका कहिलेकाहीँ केवल साक्षी, सहयात्री र आवश्यक पर्दा सहयोग गर्न तयार व्यक्ति बन्नु मात्र पनि हुन सक्छ।

विपद्‌मा सबैभन्दा ठूलो पेसागत बुद्धिमत्ता सधैँ धेरै कुरा गर्न सक्नु होइन। कहिले अगाडि बढ्ने, कहिले सुनिदिने, कहिले आवश्यक सेवासँग जोडिन मद्धत गर्ने र कहिले एक कदम पछाडि हटेर मानिसलाई आफ्नै शक्ति र समुदायको शक्तिमा उठने प्रयासको सराहना गर्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण सीप हुन्।

विपद्ले  मानिसको घर भत्काउन सक्छ, उसको सुरक्षित संसार हल्लाउन सक्छ, सम्बन्धहरू टुटाउन सक्छ। तर विपद्को बीचमा पनि मानिससँग केही कुरा बाँकी रहन्छन्- उसको सम्बन्ध, उसको स्मृति, उसको आशा, उसको समुदाय र जीवनलाई फेरि समात्ने उसको क्षमता। मनोसामाजिक सहयोगको काम ती शक्तिलाई ढाक्ने होइन बरु  देख्ने, सम्मान गर्ने र आवश्यक पर्दा बलियो बनाउन सहायता गर्ने हो। सायद त्यसैले आज पनि त्यो गाउँको आगो त्यस वरिपरि झुम्मिएर नाचगान गर्ने मान्छे सम्झँदा लाग्छ अहिलेसम्म वाँचीवर्ती रहेको हाम्रो सामूहिक जीवनप्रणाली नै संकटबाट तङरिने हाम्रो मौलिक तरिका रहेछ यसलाई जोगाउनु र सम्मान गर्नु पनि हाम्रो कर्तव्य रहेछ।

[काठमाडौँ विश्वविद्यालयका एसिस्टन्ट प्रोफेसर खतिवडा मनोविमर्शकर्ता हुन्।]

प्रकाशित: १४ भदौ २०८३ १३:५४ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast