फाइल तस्बिर
काठमाडौँ- राप्रपाभित्रको किचलोले हिजो अवरुद्ध बनेको बागमती प्रदेशसभा बैठकबाट आज मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो।
हिजो दिउँसो बोलाइएको बैठक साँझ ५ र राति ८ बजे बस्ने गरी निर्धारण गर्दा पनि सत्तासहकार्य गरेका दलकै सांसदको अनुपस्थिति र राप्रपाका कारण बस्न नसकेको हो। सत्तारुढ गठबन्धनभित्रकै असन्तुष्टि, राप्रपाभित्रको विवाद र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधको चेतावनीपछि बैठक पटक–पटक सर्दै सारिएको थियो।
मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात् ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर, सत्तासाझेदार दल नेकपाका सात जना सांसद सोमबार प्रदेशसभा बैठकमा अनुपस्थित रहने देखिएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री थापामगर नेतृत्वको सरकार गठनको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै प्रदेशसभा बैठक सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएको थियो।
राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री नियुक्ति विरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा उत्प्रेषण परमादेशसहितको निवेदन दिएको र अदालतले कारण देखाउ आदेश जारी गर्दै १० भदौमा छलफलका लागि दुवै पक्षलाई बोलाएकोले आजको बैठकमा सुचारु हुने संभवना न्युन छ।


