दसैँको आज तेस्रो दिन : आज चन्द्रघण्टाको पूजा गरिँदै

हिमाल प्रेस २७ असोज २०८३ ६:२२ | Tuesday, October 13, 2026
दसैँको आज तेस्रो दिन : आज चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौँ-  नवरात्रको आज तेस्रो दिन माता चन्द्रघण्टा देवीको पूजा गरिँदैछ। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ ।

धर्मशास्त्रमा वर्णन गरिएअनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले यिनको नाम चन्द्रघण्टा रहन गएको हो । स्वर्णजस्तै चम्किलो शारीरिक वर्ण भएकी देवी चन्द्रघण्टा दश बाहु (हात) ले युक्त छिन् । उनले हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प र अक्षमाला धारण गरेकी छन् भने वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी छन् ।

सिंह वाहन भएकी देवी चन्द्रघण्टाको घण्टीको तेजिलो ध्वनिले अत्याचारी, दानव, दैत्य तथा नकारात्मक शक्तिहरू डराउने शास्त्रीय मान्यता छ । वैज्ञानिक दृष्टिले यिनलाई सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ भने नित्य पूजाका क्रममा साधकहरूले मणिपुर चक्रमा यिनको ध्यान गर्दछन् ।

शालिन, परम शान्ति प्रदायक र कल्याणकारी स्वरूपकी देवी चन्द्रघण्टाको श्रद्धापूर्वक पूजा गर्नाले सबै प्रकारका संकट, दुःख, कष्ट नाश हुनुका साथै सम्पूर्ण बाधाहरू हट्ने धार्मिक तथा शास्त्रीय विश्वास छ। यिनको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुने, आत्मबल बढ्ने, भय र नकारात्मक ऊर्जाको अन्त्य भई पारिवारिक सुखशान्ति कायम हुने गर्दछ। साथै, साधकमा वीरता, निर्भयता, सौम्यता र विनम्रताको विकास हुन्छ। सुगन्ध मन पराउने माता चन्द्रघण्टालाई पूजामा रातो रङका पुष्प, फलफूल, पक्वान्न, चन्दन, धूप, दीप, बेलपत्र तथा विशेषगरी दूध र दूधजन्य परिकारको नैवेद्य प्रिय मानिन्छ ।

प्रकाशित: २७ असोज २०८३ ६:२२ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast