राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन/फाइल तस्बिर
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा दायर भएको छ । बागमती प्रदेशका ७ जना सांसदले आफ्नै पार्टीका केन्द्रीय अध्यक्ष लिङ्देनविरूद्ध सोमबार काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती सम्बन्धी मुद्दा दायर गरेका हुन्।
काठमाडौँमा आयोजित पार्टीको एक सार्वजनिक कार्यक्रममा अध्यक्ष लिङ्देनले सांसदहरू खरिदबिक्री भएको तथा अपमानजनक र चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै उनीहरुले मुलुकी अपराध संहिताअनुसार हदैसम्मको सजाय र क्षतिपूर्तिको माग गर्दै फिराद–पत्र दर्ता गराएका हुन् ।
मुद्दा दायर गर्ने सांसदहरुमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरु गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती, राजु विष्ट तथा सांसदहरु मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ रहेका छन् । उनीहरुले वारेसमार्फत अदालतमा फिराद–पत्र दर्ता गराएका हुन्।



