फाइल तस्बिर
काठमाडौँ- नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले इजरायल नेपालसँग श्रम सहकार्य विस्तारका लागि इच्छुक रहेको बताएका छन्।
पोखरामा बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले इजरायल र नेपाल सरकारबीच थप श्रम समझदारीका विषयमा छलफल भइरहेको बताए।
राजदूत बासले ‘केयर गिभिङ’, कृषिलगायतका क्षेत्रमा नेपालीलाई थप रोजगारीका अवसर उपलब्ध गराउन पहल भइरहेको बताए।
‘केयर गिभर’का रुपमा नेपाली श्रमिकले इजरायलमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो। राजदूत बासले श्रम, रोजगारीसँगै कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा दुई देशबीचको सहकार्यमा जोड दिए।
सन् २००१ देखि सञ्चालनमा रहेको ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि विषयमा अध्ययनरत नेपाली विद्यार्थीले व्यावहारिक र सीपमूलक प्रशिक्षणको अवसर पाइरहको उनले बताए। उक्त कार्यक्रममार्फत विद्यार्थीले केवल सैद्धान्तिक ज्ञान मात्र नभई आधुनिक कृषि प्रविधिको प्रत्यक्ष अनुभवसमेत प्राप्त गर्ने गरेको उनको भनाइ थियो।
उक्त कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको राजदूत बासले बताए।
इजरायलले आफ्नो प्रविधि र अनुभव विकासशील देशहरूसँग साझेदारी गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राजदूत बासले बताए। उनले पर्यटन क्षेत्रमा पनि नेपाल–इजरायलबीच सहकार्य भइरहेको बताए।
पछिल्लो समय नेपाल भ्रमणमा आउने इजरायली पर्यटकको संख्या वृद्धि भएको उल्लेख गर्दै राजदूत बासले पोखरा–दुबई सिधा उडान सुरु भएपछि पर्यटक आगमनमा थप वृद्धि हुने विश्वास व्यक्त गरे।


