काठमाडौँ- नेपालस्थित इजरायली दूतावासमा इजरायलको नयाँ नेसेट (संसद) निर्वाचनका लागि बिहीबार मतदान सम्पन्न भएको छ।
नेपालका लागि इजरायली राजदूत श्मुअलिक एरी बास तथा दूतावासका अन्य कर्मचारीहरुले दूतावास परिसरभित्रै स्थापना गरिएको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
दूतावासमा मतदान प्रक्रिया पूरा भएपछि सिल गरिएका मतपत्रका खामलाई विमानमार्फत इजरायल पठाइने दूतावासले जनाएको छ। मतपत्रलाई मतगणनाका लागि इजरायली संसद ‘नेसेट’ मा बुझाइने बताइएको छ। इजरायलमा भने मुख्य व्यवस्थापिका निर्वाचन आगामी अक्टोबर २७ मा हुने तय भएको छ।
मतदानपछि राजदूत बासले मतदान गरेको दिनलाई इजरायलको लोकतन्त्रका लागि ऐतिहासिक क्षण बताए।
‘आज एक विशेष दिन हो– इजरायलमा लोकतन्त्रको उत्सव। धेरै वर्षपछि यो निर्वाचन कानुनअनुसार अघिल्लो संसदको कार्यकाल सकिएलगत्तै चार वर्षमा भइरहेको छ,’ उनले भने,‘एक लोकतान्त्रिक राज्यमा हुनुपर्ने विधि र प्रक्रिया यही हो। आज हामी नयाँ संसद चयनका लागि मतदान गर्दैछौँ र म एक जिम्मेवार नागरिकका रुपमा आफ्नो मतदाधिकार प्रयोग गर्न पाउँदा गौरवान्वित छु।’
विदेशमा रहेका इजरायली नागरिक तथा कूटनीतिक नियोगका कर्मचारीहरुका लागि मुख्य निर्वाचनभन्दा केही दिन अगाडि नै मतदान गर्ने व्यवस्था मिलाउने परम्परा अनुसार नेपालमा पनि यो मतदान गराइएको हो।




