स्वर्णिम वाग्ले, तस्बिर : हिमाल प्रेस
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत आज विशेष संवाद कार्यक्रम आयोजना गर्दैछ।
पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुने उक्त कार्यक्रममा रास्वपाका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।
कार्यक्रमलाई प्रभावकारी बनाउन दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा सर्वसाधारण नागरिकले अर्थमन्त्रीसमक्ष आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षाहरू प्रत्यक्ष रूपमा राख्न पाउनेछन्।
त्यसैगरी, दोस्रो चरणमा नागरिकबाट आएका सुझावहरूसहित समसामयिक र नीतिगत विषयहरूमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच गहन छलफल गरिने जनाइएको छ।
नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार एवं पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने मुख्य उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
आज साँझ ५:०० बजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा हुने यस कार्यक्रममा सक्रिय सहभागिता र सहजीकरणका लागि पार्टीले सम्बन्धित सबैमा अनुरोध गरेको छ।


