संक्रामक पशु रोग नियन्त्रण विधेयकलाई ‘वान हेल्थ’ अवधारणासँग जोड्न सांसद शेरचनको आग्रह

हिमाल प्रेस ८ असोज २०८३ १३:५६ | Thursday, September 24, 2026
4
SHARES
संक्रामक पशु रोग नियन्त्रण विधेयकलाई ‘वान हेल्थ’ अवधारणासँग जोड्न सांसद शेरचनको आग्रह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.ओजस्वी शेरचनले संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ लाई पशु रोग नियन्त्रणको कानुनमा मात्र सीमित नराखी मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई जोड्ने ‘वान हेल्थ’ अवधारणाअनुसार कार्यान्वयन गर्न आग्रह गरेकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले बर्ड फ्लु, स्वाइन फ्लु र कोभिड-१९ जस्ता महामारीले पशु स्वास्थ्य सुरक्षित नभएसम्म मानव स्वास्थ्य पनि सुरक्षित हुन नसक्ने पाठ सिकाएको बताइन्।

‘यो विधेयकलाई केवल पशु रोग नियन्त्रणको कानुनको रूपमा नभई ‘वान हेल्थ’ अवधारणा अन्तर्गत मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई जोड्ने कानुनी आधारको रूपमा हेर्नुपर्छ,’ उनले भनिन्।

उनले यस्ता रोगका भाइरस निरन्तर ‘म्युटेसन’ हुने भएकाले नयाँ र अझ संक्रामक भेरियन्ट देखा पर्ने तथा त्यसले विद्यमान उपचार प्रणाली र खोपलाई समेत कम प्रभावकारी बनाउन सक्ने बताइन्।

‘यस्तो अवस्थामा सबैभन्दा पहिले गर्नुपर्ने कुरा समयमै क्वारेन्टाइन हो। यही नै सबैभन्दा बलियो रक्षा कवच हो,’ उनले भनिन्।

सांसद शेरचनले राष्ट्रिय, अन्तर्राष्ट्रिय र अन्तरप्रदेशीय क्वारेन्टाइन चेकपोस्टलाई आधुनिक र सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै त्यसले नेपालको जैविक सुरक्षा बलियो बनाउनुका साथै आर्थिक वृद्धि र वातावरण संरक्षणमा पनि सहयोग पुग्ने धारणा राखिन्।

जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम र वातावरणीय असन्तुलनले रोग फैलाउने जीवाणु र भाइरस नयाँ भूगोलमा फैलिन थालेको भन्दै उनले कानुनलाई जलवायु अनुकूल बनाउन सरकारलाई थप कदम चाल्न आग्रह गरिन्।

‘हाम्रा प्रयोगशालामा जिनोमिक सिक्वेन्सिङ र डिजिटल ट्र्याकिङ प्रणाली तुरुन्त स्थापना गर्नुपर्छ, ताकि बदलिँदा भाइरसका भेरियन्टको समयमै अनुमान र निगरानी गर्न सकियोस्,’ उनले भनिन्।

बर्ड फ्लु लगायतका संक्रामक रोगका कारण कुखुरापालक किसानले प्रत्येक वर्ष ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले विधेयकमा प्रस्ताव गरिएको किसान राहत कोष र क्षतिपूर्ति दाबी गर्ने कानुनी अधिकारलाई स्वागत गरिन्।

विधेयकमा निषेधित कार्य गर्ने वा सूचना लुकाउने व्यक्तिलाई जरिवाना र कैदको व्यवस्था गरिएको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयनका क्रममा सोझा किसान अन्यायमा नपर्ने गरी दण्ड र सजायको सन्तुलन कायम गर्नुपर्नेमा पनि जोड दिइन्।

प्रकाशित: ८ असोज २०८३ १३:५६ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast