दसैँमा घर जान यातायातको सहज व्यवस्था होस् : सांसद परियार

हिमाल प्रेस ६ असोज २०८३ १५:४६ | Tuesday, September 22, 2026
4
SHARES
दसैँमा घर जान यातायातको सहज व्यवस्था होस् : सांसद परियार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियार। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले दसैँमा नागरिकहरु देशका विभिन्न भूभागबाट आआफ्ना घर जानुपर्ने भएकाले उनीहरुका लागि सार्वजनिक यातायातको राम्रो प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सचेतक परियारले दसैँका बेला नागरिकहरु विशेषगरी काठमाडौँबाट बाहिर अर्थात् आफ्ना घर जाँदा यात्राका क्रममा गाह्रो हुने गरेकाले यस पटक त्यस्तो नहोस् भनेर सरकारको ध्यानाकर्षण गराएका हुन्।

सचेतक परियारले दसैँका समयमा लाखौँ नागरिकले सार्वजनिक सवारीबाट यात्रा गर्ने भएकाले यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारसँग माग गरेका हुन्।

उनले हरेक वर्ष दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट मात्रै १५ लाखभन्दा बढी नागरिक आफ्नो थातथलो फर्किने गरेका तथ्यांक प्रस्तुत गर्दै विगतका वर्षमा नागरिकले भोग्दै आएको सास्ती अहिले कुनै पनि हालतमा भोग्नु नपरोस् भनेर अहिल्यैदेखि सरकारले काम गर्नुपर्ने बताए।

सचेतक परियारले भने,‘पहिले त टिकट पाउनै महाभारत, अनि भेडाबाख्राझैँ कोचिएर यात्रा गर्नुपर्ने बाध्यता। एकातिर बाटोका खाल्डाखुल्डीले थिलथिलो बनाउँछ भने अर्कोतिर मनपरी भाडाले नागरिक प्रताडित छन्।’

देशभरका मुख्य राजमार्गमा रहेका खाल्डाखुल्डी तत्काल पुरेर यातायात सहज बनाउने काममा अहिलेदेखि नै लाग्न र टिकट बुकिङ्लाई पनि व्यवस्थति गर्न सचेतक परियारले आग्रह गरे।

प्रकाशित: ६ असोज २०८३ १५:४६ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast