कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने तयारीमा

हिमाल प्रेस ३ भदौ २०८३ १२:१९ | Wednesday, August 19, 2026
10
SHARES
कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने तयारीमा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ।

कांग्रेस केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षले त्यसविरुद्ध कानुनी बाटो रोज्न लागेको हो।

सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दा विचाराधीन रहेकाले महाधिवेशनको प्रक्रिया अघि बढाउन नमिल्ने देउवा पक्षका नेता मीन विश्वकर्माले बताएका छन्।

विश्वकर्माका अनुसार महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी भइरहेको छ। उनले सम्भव भएसम्म बुधबार नै अदालत जाने र नभए एकदुई दिनभित्र मुद्दा दायर गरिने बताए।

यसअघि देउवा पक्षको भेलाले पार्टी सभापति गगन थापालाई स्वीकार नगर्ने निर्णय गर्दै १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निष्कर्ष निकालेको थियो।

संस्थापनइतर पक्षका नेता डा.शशांक कोइरालाले पनि महाधिवेशनको प्रक्रिया तत्काल अघि नबढाउन माग गर्दै निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाइसकेका छन्।

तर सभापति गगन थापा भने निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने अडानमा छन्। असन्तुष्ट पक्षलाई समेत समेट्ने प्रयासस्वरूप उनले यसअघि महाधिवेशनको कार्यतालिका केही पर धकेलेका थिए।

कांग्रेसभित्र नेतृत्व र महाधिवेशनको प्रक्रियालाई लिएर विवाद चर्किँदै गएपछि अब देउवा पक्षले अदालतको बाटो रोज्न लागेको हो।

प्रकाशित: ३ भदौ २०८३ १२:१९ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast