पक्की पुल बग्यो, मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढ्यो

हिमाल प्रेस ८ कार्तिक २०८३ ११:२५ | Sunday, October 25, 2026
10
SHARES
पक्की पुल बग्यो, मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढ्यो

धादिङ– त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ । दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको उक्त पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गराउने सूचना टाँसिएको छ । तर, एकै पटक धेरै मोटरसाइकल र स्कुटर प्रवेश गर्दा पैदलयात्रुले पनि साँघुरो ठाउँबाट ओहोरदोहोर गर्नुपरेको छ ।

समाजसेवी शिवराज सापकोटाले झोलुङ्गे पुलमा सवारी चाप बढ्दा सुरक्षा खतरा बढेको बताए । पुलमा भीडभाड बढ्दा स्थानीय प्रशासन वा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको भनाइ छ । पुलभित्र मोटरसाइकल प्रवेश गरेपछि पैदलयात्रुलाई दोहोरो हिँड्न पर्याप्त ठाउँ नहुँदा एकअर्कालाई छलेर पार गर्नुपर्ने अवस्था छ ।

धादिङबाट चितवन फर्कंदै गरेका मोटरसाइकलचालक अभिषेक अधिकारीले पुल पार गर्न लामो समय पालो कुर्नु परेको अनुभव सुनाए । “पुलमा पालो कुर्नका लागि घाममा आधा घण्टाभन्दा बढी जाममा बस्नु पर्‍यो,” उनले भने । पुलको सुरक्षाबारे चिन्ता भए पनि बाध्यताले यही बाटो प्रयोग गर्नु परेको उनको भनाइ छ ।

दसैँअघि स्थानीय युवाले पुलको प्रवेशद्वारमा बसेर एक पटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने गरेका थिए । दसैँ सकिएर काठमाडौँ, पोखरा र चितवन फर्किने यात्रुको सङ्ख्या बढेपछि चाप नियन्त्रण गर्न कठिन भएको हो ।

गत भदौ १० गते आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो । यसपछि सदरमुकाम तथा आसपासका क्षेत्रमा जाने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित: ८ कार्तिक २०८३ ११:२५ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast