फिफा विश्वकप

विश्वकप रेफ्री बन्न कस्तो यात्रा तय गर्नुपर्छ, फाइनल खेल सञ्चालन गर्ने अवसर कसरी पाइन्छ?

हिमाल प्रेस २१ असार २०८३ ११:५५ | Sunday, July 5, 2026
10
SHARES
विश्वकप रेफ्री बन्न कस्तो यात्रा तय गर्नुपर्छ, फाइनल खेल सञ्चालन गर्ने अवसर कसरी पाइन्छ?

विश्वकप उपाधि २०२६ का लागि हाल विभिन्न टोलीले प्रतिस्पर्धा गरिरहेका बेला अर्को एउटा समूहले पनि फुटबलको सबैभन्दा ठूलो मञ्चसम्म पुग्न त्यत्तिकै कठिन यात्रा तय गरेको छ। ती हुन् रेफ्रीहरू।

यस विश्वकपका लागि ५२ जना मुख्य रेफ्री, ८८ जना सहायक रेफ्री र ३० जना भिडियो सहायक रेफ्री (भिआर) चयन भएका छन्। ४८ टोली र १०४ खेल समेटिएको विस्तारित विश्वकपका कारण यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो रेफ्री टोली हो।

फिफाका ५० सदस्य राष्ट्रबाट रेफ्री आएका छन्। अमेरिकाबाट मात्र आठ जना रेफ्री छन् भने कतार विश्वकपमा पहिलोपटक महिला रेफ्री समावेश गरेपछि यसपटक पनि ६ जना महिला रेफ्री चयन भएका छन्।

तर,यसपटक रेफ्रीहरू खेलभन्दा बाहिरका कारणले पनि चर्चामा रहे। फाइनल खेल सञ्चालन गर्ने तयारीमा रहेका सोमालियाली रेफ्रीलाई सुरक्षा परीक्षण सम्बन्धी कारण देखाउँदै अमेरिकामा प्रवेश गर्न दिइएन्।

उद्घाटन खेलमै कीर्तिमानी तीन रातो कार्ड देखाइयो। चीनमा भने राष्ट्रिय टोली छनोट हुन नसके पनि त्यहाँका समर्थकहरूले विश्वकपमा सहभागी आफ्ना एकमात्र प्रतिनिधि रेफ्रीलाई विशेष समर्थन गरिरहेका छन्।

सीएनएनका अनुसार सन् २००२ को विश्वकप फाइनलमा ब्राजिल र जर्मनीबीच भएको खेलका सहायक रेफ्री लिफ लिन्डबर्ग सम्झन्छन्,‘त्यो मेरो पहिलो विश्वकप खेल थियो। दक्षिण कोरियामा ५० हजार दर्शक सबै रातो जर्सीमा थिए। त्यो वातावरण अविस्मरणीय थियो। हामी सबैको सपना विश्वकपमा रेफ्री बन्ने नै थियो।’

विश्वकप रेफ्री कसरी छनोट हुन्छन्?

फिफाका अनुसार कतार २०२२ सकिएलगत्तै यस विश्वकपको छनोट प्रक्रिया सुरु भएको थियो। उम्मेदवारहरूले विभिन्न सेमिनारमा सहभागी हुनुपर्छ, शारीरिक तन्दुरुस्ती परीक्षण पास गर्नुपर्छ र फिफाका प्रतियोगितामा अनुभव हासिल गरेको हुनुपर्छ। त्यसपछि उनीहरूको पछिल्ला तीन वर्षको घरेलु तथा अन्तर्राष्ट्रिय प्रदर्शनको विस्तृत मूल्यांकन गरिन्छ।

सन् २०१४ विश्वकप फाइनलका सहायक रेफ्री रेनाटो फाभेरानी भन्छन्,‘हरेक महत्वपूर्ण खेलमा एक वा दुई जना मूल्यांकनकर्ता हुन्छन्। उनीहरूले हाम्रो सम्पूर्ण प्रदर्शनको समीक्षा गर्छन् र अन्य रेफ्री टोलीसँग तुलना गर्छन्।’

विश्वकपका लागि विचार गरिनु नै ठूलो उपलब्धि हो। फाभेरानीले त्यसअघि युरोपियन च्याम्पियन्स लिग, युरोपियन च्याम्पियनसिप र इटालियन सिरी ए लगायतका शीर्ष प्रतियोगितामा खेल सञ्चालन गरिसकेका थिए।

विश्वकप सुरु भएपछि भने प्रत्येक खेलअघि करिब तीन-चार दिनअघि मात्रै रेफ्री नियुक्त गरिन्छ। फिफाले आफ्नै देशको खेल सञ्चालन गर्न रेफ्रीलाई अनुमति दिँदैन।

स्विडेनका लिन्डबर्ग भन्छन्,‘हाम्रो राष्ट्रिय टोली चाँडै बाहिरियो भने मलाई विश्वकपमा अझै अघि बढ्ने अवसर मिल्थ्यो। त्यसैले एउटा हिसाबले उनीहरू पराजित हुनु मेरो लागि भाग्यमानी बन्यो।’

फाइनल खेलको जिम्मेवारी कसरी थाहा हुन्छ?

विश्वकप फाइनलका लागि रेफ्री चयन हुनु कुनै पनि रेफ्रीको जीवनकै सबैभन्दा ठूलो क्षण मानिन्छ। फाभेरानीका अनुसार अभ्यास सकेर होटल फर्किँदा सबै रेफ्रीलाई ठूलो हलमा बोलाइएको थियो। त्यसपछि तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरले कागज खोलेर फाइनल खेलका रेफ्रीहरूको नाम पढ्न थाले।

‘केही सेकेन्ड निकै लामो जस्तो लाग्यो। जब मेरो नाम उच्चारण भयो, त्यो मेरो जीवनकै सबैभन्दा खुसीको क्षण थियो। तर, त्यसको केही घण्टामै अर्को भावना सुरु भयो- अत्यधिक दबाब। त्यसपछि जिम्मेवारीको बोझ महसुस हुन थाल्यो। खेल जतिसक्दो चाँडो सुरु होस् भन्ने लाग्थ्यो किनभने दबाब निकै ठूलो हुन्थ्यो।’

खेलअघि रेफ्रीले गर्ने तयारी

रेफ्रीको तयारी नियमकानुन पढेर मात्रै पूरा हुँदैन। उनीहरूले दैनिक दौड, जिम र अन्य शारीरिक अभ्यास गर्छन्। त्यसबाहेक खेल्ने दुवै टोलीका खेल, रणनीति र खेलाडीहरूको शैलीको घण्टौं भिडियो अध्ययन गर्छन्।

फाभेरानीका अनुसार कुन खेलाडी झगडालु छ, कसले बढी बहस गर्छ, कुन टोली कसरी आक्रमण गर्छ भन्ने सबै बुझ्नुपर्छ। यसले मैदानमा सही निर्णय लिन मद्दत गर्छ।

सन् २०१३ को विश्वकप प्लेअफमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र स्विडेनका ज्लाटन इब्राहिमोभिच आमनेसामने भएका थिए। फाभेरानीका लागि त्यो निकै चुनौतीपूर्ण खेल थियो।

उनी भन्छन्,‘जब खेल सुरु हुन्छ, मैदानमा कुनै स्टार हुँदैन। त्यहाँ केवल ११ विरुद्ध ११ खेलाडी मात्र हुन्छन्।’

एक कठिन अफसाइड निर्णय

सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीका बेनेडिक्ट होवेडेसले गरेको हेडर पोस्टमा लागेर फर्किएपछि थोमस मुलरसम्म पुगेको थियो। तर मुलर करिब १० सेन्टिमिटर अफसाइडमा थिए।

फाभेरानी सम्झन्छन्,‘मैले अत्यन्त ध्यान दिएर झण्डा उठाएँ। पछि समीक्षा गर्दा मेरो निर्णय सही सावित भयो।’

विश्वकपसम्म पुग्न ३० वर्षको संघर्ष

लिन्डबर्ग र फाभेरानी दुवैलाई विश्वकपसम्म पुग्न झण्डै ३० वर्ष लाग्यो। फिफाको अन्तर्राष्ट्रिय सूचीमा रहेका करिब ३,७२५ अधिकारीमध्ये यस विश्वकपमा जम्मा ४.५ प्रतिशत मात्र छनोट भएका छन्। फाइनल खेल सञ्चालन गर्ने अवसर भने अत्यन्त थोरैले पाउँछन्।

धेरैजसो रेफ्रीहरूको स्थायी जागिर पनि हुन्छ। खेल सञ्चालन मात्रै उनीहरूको मुख्य आम्दानी हुँदैन।

लिन्डबर्ग भन्छन्,‘धेरै रेफ्रीको कम्तीमा एकपटक सम्बन्धविच्छेद भएको हुन्छ। परिवार र रेफ्री करिअरमध्ये एउटा रोज्नुपर्ने अवस्था आउँछ।’

फाभेरानी पनि बैंकमा ‘क्रेडिट म्यानेजर’का रूपमा पूर्णकालीन जागिर गर्थे। हप्ताको बीचमा च्याम्पियन्स लिग र सप्ताहन्तमा सिरी ए खेल सञ्चालन गर्दै उनले फोन र इमेलबाट कार्यालयको काम पनि सम्हाल्थे।

उनी भावुक हुँदै भन्छन्,‘आज फर्केर हेर्दा मैले आफ्नो परिवार, श्रीमती, छोरीहरू र आमासँग बिताउनुपर्ने धेरै समय गुमाएँ भन्ने महसुस हुन्छ।’

बढ्दो आलोचना र दुर्व्यवहार

 भिआर प्रविधि आएपछि रेफ्रीका निर्णयहरू अझ धेरै परीक्षणको घेरामा परेका छन्। सामाजिक सञ्जालमा हुने गालीगलौज र धम्की पनि बढेको छ। ‘रेफ्री अब्रोड’ संस्थाका अध्यक्ष डानिएले कुर्सियो भन्छन्,‘आज विश्वभर रेफ्रीप्रतिको विश्वास घट्दै गएको छ। रेफ्री पनि खेलाडीजस्तै गल्ती गर्न सक्छन्। तर उनीहरूको इमानदारीमाथि विश्वास गर्न आवश्यक छ।’

उनका अनुसार रेफ्री बन्नु खेल सञ्चालन गर्ने काम मात्र होइन यसले नेतृत्व, अनुशासन, आत्मविश्वास र निर्णय क्षमता जस्ता जीवनभर उपयोगी सीप पनि सिकाउँछ।

यही कारण, अनेक चुनौती र त्यागका बाबजुद विश्वकपको मैदानमा उभिन पाउनु हरेक रेफ्रीका लागि जीवनकै सबैभन्दा ठूलो सम्मान मानिन्छ।

प्रकाशित: २१ असार २०८३ ११:५५ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast