मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव/फाइल तस्बिर
काठमाडौँ- मधेश प्रदेशका सरकारका मुख्यमन्त्री, मन्त्री तथा पदाधिकारीहरूले रसुवा बाढीका कारण उत्पन्न विपद् कार्यमा सहयोग पुर् याउन एक दिन बराबरको तलब सहयोग गर्ने भएका छन्।
जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री समीर भट्टराईले विपद् व्यवस्थापनको कार्यमा सहयोग पुर्याउन प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरूलगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय भएको जानकारी दिए।
त्यस्तै बैठकले बाढी प्रभावित क्षेत्रका नागरिकको खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्याउन मधेश प्रदेशका आमनागरिक, बुद्धिजिवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई अपिल गरेको छ।
भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेको छ।


