अमेरिका–इरानबीच फेरि टकराव, कस्तो छ होर्मुजको अवस्था?

हिमाल प्रेस २४ असार २०८३ १९:१८ | Wednesday, July 8, 2026
10
SHARES
अमेरिका–इरानबीच फेरि टकराव, कस्तो छ होर्मुजको अवस्था? होर्मुज जलमार्ग। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- मध्य पूर्वमा अमेरिका र इरानबीच बढ्दो तनावका कारण समुद्री सुरक्षाको अवस्था गम्भीर बनेको छ।

स्ट्रेट अफ होर्मुजमा सयौँ जहाजहरुमा सबार करिब ६ हजार मानिस अझै पनि फसिरहेको संयुक्त राष्ट्रसंघको समुद्री निकाय (आईएमओ) का प्रमुख आसेनियो डोमिन्गुएजलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

डोमिन्गुएजले पछिल्ला दुई दिनमा जहाजहरुमाथि भएका आक्रमणको निन्दा गरेका छन्। उनले शिपिङ कम्पनीहरुलाई हालका लागि आफ्ना जहाजहरु यस महत्वपूर्ण जलमार्गबाट नपठाउन अपिल गरेका छन्।

अर्कोतर्फ इरानी नौसेनाले बारम्बार ‘अल मरियाह’ तेल ट्यांकरका कप्तानलाई आफ्नो मार्ग परिवर्तन गर्न निर्देशन दिइरहेको समुद्री रेडियो सञ्चारको एक रेकर्डिङमा सुनिएको बीबीसीले जनाएको छ।

रेकर्डिङमा इरानी नौसेनाले जहाजको हालको मार्ग सुरक्षित नभएको बताएको छ। साथै कप्तानलाई चेतावनी दिँदै भनिएको छ,‘आफ्नो ज्यान खतरामा नपार्नुस्।’

पछिल्ला दुई दिनभित्र होर्मुजको अवस्था बदलिएको छ।

बेलायतको समुद्री सुरक्षा निकाय यूकेएमटीओले होर्मुज क्षेत्रमा पछिल्ला दुई दिनभित्र तीनवटा फरक–फरक घटनाहरु भएको पुष्टि गरेको छ, जसमा तेल ट्यांकर बोकेका जहाजहरुमाथि आक्रमण भएको थियो।

यसमध्ये एउटा तेल ट्यांकरमाथि सोमबार आक्रमण भएको थियो भने बाँकी दुईवटा आक्रमण मंगलबार भएका थिए।

यद्यपि निकायले प्रभावित जहाजहरुको पहिचान सार्वजनिक गरेको छैन। जहाजहरुमाथि कसले आक्रमण गरेको थियो र यसमा कति मानिस हताहत भए भन्ने कुरा प्रस्ट भइसकेको छैन।

इरानले अहिलेसम्म यी आक्रमणहरुको जिम्मेवारी लिएको छैन।

यसैबीच अमेरिकी सेनाले मंगलबार घोषणा गरेअनुसार उसले इरानविरुद्ध शक्तिशाली आक्रमणहरुको शृंखला सुरु गरेको छ र अहिलेसम्म ८० भन्दा बढी ठाउँमा आक्रमण गरिएको छ।

प्रकाशित: २४ असार २०८३ १९:१८ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast