अमेरिका-इरानबीच होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा

हिमाल प्रेस २४ भदौ २०८३ १६:३५ | Wednesday, September 9, 2026
अमेरिका-इरानबीच होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा फाइल तस्बिर

काठमाडौँ- इरान र संयुक्त राज्य अमेरिकाबीच स्ट्रेट अफ हर्मुजलाई लिएर सैन्य तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम बढेको छ।

इरानले आफ्ना तेल ट्यांकरमाथि अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य तथा सहयोगी राष्ट्रका लक्ष्यमा नयाँ आक्रमण थालेको हो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले बुधबार हर्मुज जलघाटी पार गर्न खोजिरहेका २० अमेरिकी जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ।

विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ हिस्सा ओसारपसार हुने उक्त जलमार्गमा इरानले युद्ध सुरु भएदेखि कडाइ गर्दै आएको छ।

जलघाटी प्रयोग गर्न अनुमति लिनुपर्ने र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्थाका कारण अन्तर्राष्ट्रिय व्यापार तथा ऊर्जा आपूर्ति प्रभावित भएको बताइएको छ।

अमेरिकी सेनाले एक दिनअघि पाँचवटा इरानी तेल ट्यांकर नष्ट गरेपछि इरानले जवाफी कारबाही गरेको आईआरजीसीले जनाएको छ। गार्डका अनुसार जोर्डनस्थित अल–अजराक अमेरिकी हवाई अड्डामा पनि क्षेप्यास्त्र प्रहार गरिएको छ। जोर्डनको सेनाले भने इरानबाट प्रहार गरिएका १८ वटा क्षेप्यास्त्र खसालेको जनाएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण वा आक्रमणको प्रयास जारी राखे हरेकपटक उसका तेल ट्यांकर नष्ट गरिने चेतावनी दिएका छन्।

इरानले पनि आफ्ना ट्यांकरमाथि आक्रमण भए अमेरिकी सहयोगी कुवेत र बहराइनमा रहेका तेल ट्यांकरलाई निशाना बनाउने चेतावनी दिएको छ।

बढ्दो तनावसँगै एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.४६ अमेरिकी डलर तथा वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीआई) को मूल्य ९४.४५ डलर पुगेको छ। मध्यपूर्वबाट तेल आपूर्ति अवरुद्ध हुनसक्ने आशंकाले मूल्य बढेको हो।

यसैबीच, इरानी गार्डले हर्मुजमा अमेरिकी मानवरहित पनडुब्बी ड्रोन नियन्त्रणमा लिएको दाबी गरेको छ। अमेरिकी सेनाले भने उक्त ड्रोन पुरानो मोडेलको र संवेदनशील सूचना नभएको जनाएको छ।

इरानी सरकारी टेलिभिजनले दुई अमेरिकी विध्वंसक पानीजहाजमाथि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरे पनि अमेरिकी सेनाले त्यसबारे तत्काल प्रतिक्रिया जनाएको छैन।

हर्मुजमा जारी गतिरोधले इरान-अमेरिका सैन्य द्वन्द्व थप गहिरिनुका साथै विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापारमा समेत गम्भीर असर पर्नसक्ने चिन्ता बढाएको छ।- रासस/एएफपी

प्रकाशित: २४ भदौ २०८३ १६:३५ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast