‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

हिमाल प्रेस १९ साउन २०८३ २०:५० | Tuesday, August 4, 2026
10
SHARES
‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार
काठमाडौँ- ‘स्ट्रेट  अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो जहाजमा प्रहार भएको बेलायती समुद्री निगरानी निकायले जनाएको छ।
यो घटना अमेरिका र इरानबीच वार्ता भइरहेको विषयमा दुवै पक्षबाट परस्परविरोधी दाबी आइरहेका बेला भएको हो।
युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार स्थानीय समयअनुसार बिहान करिब २ बजे ओमानको अल–खासाबबाट ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको सूचना प्राप्त भएको हो।

यूकेएमटीओले जहाजको झन्डा, कार्गो वा अन्य विवरण सार्वजनिक गरेको छैन। बेलायती समुद्री सुरक्षा कम्पनी एम्ब्रेले जहाजमा क्षति पुगेको जनाए पनि थप विवरण खुलाएको छैन।‘स्ट्रेट  अफ होर्मुज’ विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक हो। युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो।

फेब्रुअरीयता इरानसँगको द्वन्द्वका कारण यस क्षेत्रमा समुद्री सुरक्षा चुनौतीपूर्ण बनेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले पुनः वार्ता सुरु भएको बताएका छन्।

तर इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट गर्दै आफूले ओमानसँग मात्र ‘स्ट्रेट  अफ होर्मुज’ मा सुरक्षित जलयात्रासम्बन्धी विषयमा छलफल गरिरहेको जनाएको छ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले अमेरिकासँग वार्ता भइरहेको दाबी अस्वीकार गरे।

ट्रम्पले भने इरानले वार्ताको प्रस्ताव गरेको दाबी गर्दै तेहरानको सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।

कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले सबै पक्षसँग कूटनीतिक मध्यस्थताको प्रयास जारी रहेको बताए।

उनले समाधानका लागि संवादलाई प्राथमिकता दिइएको उल्लेख गरे पनि वार्तासम्बन्धी थप विवरण खुलाएका छैनन्।

यसैबीच, इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको नज्रान विमानस्थलस्थित एक ‘संवेदनशील लक्ष्य’ मा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्।

साउदी अरबले उक्त दाबीबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

उता गाजामा सन् २०२३ को इजरायली हवाई आक्रमणमा मारिएकामध्ये भग्नावशेषमुनि पुरिएका ११२ प्यालेस्टिनीको शव निकालिएपछि सामूहिक अन्त्येष्टि गरिएको छ।

उद्धार टोलीले १३६ घण्टासम्म खोजी गरेपछि शव फेला पारेको गाजाको सिभिल डिफेन्सले जनाएको छ।

यस्तै, लेबनानको बेरुत बन्दरगाह विस्फोटको पाँचौँ वर्षमा पीडित परिवारजनले घटनास्थलमा श्रद्धाञ्जलि अर्पण गरेका छन्।

सन् २०२० मा भएको उक्त विस्फोटमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

अनुसन्धान अझै टुंगोमा नपुगे पनि यस वर्षभित्र अभियोगपत्र दर्ता गर्ने प्रतिबद्धता लेबनान सरकारले जनाएको छ।-रासस/एपी

प्रकाशित: १९ साउन २०८३ २०:५० | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast