पदयात्रा

चुम भ्याली अर्थात नेपालको छानोमा टेकिएका पाइला

जहाँ हामी आकाशसँग नजिकियौँ

झविन्द्रप्रसाद अर्याल २७ असार २०८३ २१:११ | Saturday, July 11, 2026
6
SHARES
चुम भ्याली अर्थात नेपालको छानोमा टेकिएका पाइला

हिमालश्रृखलाले ओत लागेको देश नेपालका अनेक अनुपम गन्तव्यहरूमध्ये चुम भ्याली एउटा यस्तो ठाउँ रहेछ, जहाँ पुगेपछि प्रकृतिको अनुपम सिर्जनाप्रति सहजै श्रद्धा जाग्छ। संसारले तिब्बतलाई ‘विश्वको छानो’ भनेर चिन्ने गरेको छ। तर चुम भ्यालीको विशाल समथर भूभाग, वरिपरि उभिएका हिमाच्छादित पर्वतशृङ्खला, शान्त बस्ती, बौद्ध संस्कृति र यहाँका सरल तथा आत्मीय मानिसहरूलाई नजिकबाट देखेपछि मलाई लाग्यो, यसलाई ‘नेपालको छानो’ भन्नु अत्युक्ति नहोला।

समुद्री सतहबाट करिब ३,२०० देखि ३,५०० मिटरको उचाइमा फैलिएको यो उपत्यका प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। ठाउँ–ठाउँमा देखिने गुम्बा, स्तूप र छोर्तेनहरूले यहाँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त बनाएका छन्। अधिकांश स्थानीय बासिन्दा बौद्ध धर्मावलम्बी छन्। उनीहरूको मुख्य जीविकोपार्जन उवा, जौ, आलु तथा स्थानीय सागसब्जीको खेती, चौँरीपालन र पदयात्री पर्यटकलाई लक्षित होटल, लज तथा होमस्टे सञ्चालनमा आधारित रहेछ।

यहाँका वासिन्दाहरू अत्यन्त सरल, इमानदार, सहयोगी र आतिथ्यशील लागे। अझ रोचक पक्ष के थियो भने अधिकांशले नेपाली, तिब्बती र स्थानीय भाषा सहज रूपमा बोल्ने रहेछन्। कठिन भौगोलिक अवस्थाका बाबजुद उनीहरूको अनुशासित जीवनशैली र आत्मीय व्यवहारले हामीलाई निकै प्रभावित बनायो।

चुम भ्यालीसम्म पुग्ने यात्रा आफैँमा एउटा रोमाञ्चक अनुभव रहेछ। आधुनिक यातायातको पहुँच अझै पुगेको छैन। साँघुरा भीर, घुमाउरा गोरेटो बाटा र बुढीगण्डकी नदीको शिर पछ्याउँदै हिँड्नुपर्छ। सामान ढुवानीका लागि अझै पनि खच्चर नै प्रमुख साधन रहेछन्।

यिनै प्राकृतिक कठिनाइबीच दुई दिनको पदयात्रापछि हाम्रो तीन सदस्यीय टोली अन्ततः चुम भ्याली पुग्यो। लामो यात्राको थकानभन्दा पनि नयाँ भूगोलमा प्रवेश गरेको उत्साहले हाम्रो मन भरिएको थियो। पहिलो दृष्टिमै चुम भ्यालीले हामीलाई मोहित बनाइसकेको थियो।

आरुघाट-चिसापानी यात्रा

२० बैशाख २०८३ का दिन हामी तीन जनाको टोलीले कुनै गाइड वा पोर्टरको सहारा नलिई आफ्नै योजनामा चुम भ्यालीतर्फको यात्रा प्रारम्भ गर्‍यौं। बिहान सबेरै काठमाडौंबाट सार्वजनिक बस चढेर पृथ्वी राजमार्ग हुँदै मलेखु, धादिङबेँसी पार गर्दै गोरखाको आरुघाट पुग्यौं। बिहानैदेखि यात्रा थालेकाले अपराह्न करिब एक बजेतिर आरुघाट पुग्न सफल भयौं। केही समय विश्राम गरेपछि त्यहाँबाट माछीखोलातर्फ जाने अर्को बस चढ्यौं।

आरुघाटदेखि माछीखोलासम्मको कच्ची सडकमा करिब दुई घण्टा भन्दा बढीको यात्रा आफैंमा साहसिक अनुभव थियो। हाम्रो योजना माछीखोलाबाटै पदयात्रा सुरु गर्ने थियो। तर त्यहाँ पुगेर थाहा भयो माछीखोला, सिर्दिबास, जगात हुँदै बाङसिङसम्म निर्माणाधीन मोटरबाटो पुगेको रहेछ। यद्यपि त्यो सडकमा नियमित सवारी चल्दैनथ्यो; फाट्टफुट्ट चारपाङ्ग्रे जीप मात्र सञ्चालनमा रहेछन्।

हाम्रो भाग्य नै भन्नुपर्छ, त्यही दिन पहिलोपटक नयाँ जीप उक्त मार्गमा जान लागेको रहेछ। चालक यात्रुको प्रतीक्षामा थिए। हामीसँगै अन्य केही यात्रु पनि जान तयार भएपछि हामीले पनि अवसर गुमाएनौं। साँझ ढल्कँदै थियो। कतै साँघुरो, कतै उबडखाबड र भीरालो बाटो। चालक स्वयं पनि पहिलोपटक उक्त मार्गमा गाडी चलाउँदै थिए। त्यसैले यात्राभरि मनमा केही आशंका रहिरह्यो। तर उनले अत्यन्त संयमता र दक्षताका साथ साँझ करिब आठ बजेतिर हामीलाई सुरक्षित रूपमा बाङसिङ पुर्‍याए। हाम्रो कम्तीमा एक दिनको पैदल यात्रा बच्यो।

बाटोमा एक सहयात्रीले यो क्षेत्र चुमनुब्री गाउँपालिकाभित्र पर्ने र वर्तमान गृहमन्त्रीको गृहक्षेत्र पनि यही आसपास रहेको जानकारी गराए। स्थानीय परिवेशबारे सुन्दै यात्रा अझ रोचक बन्दै गयो। बाङसिङ पुगेपछि कहाँ बास बस्ने भन्ने कुनै पूर्वतयारी थिएन। संयोगवश हामीसँगै यात्रा गरिरहेकी चन्द्रिका राई नामकी एक स्वास्थ्यकर्मी साम्दोस्थित एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सञ्चालन गरेको स्वास्थ्य केन्द्रमा कार्यरत रहिछिन्। त्यस क्षेत्रमा पटकपटक आवतजावत गरेकी हुनाले उनले हामीलाई करिब बीस मिनेटको पैदल दूरीमा रहेको चिसापानीमा राम्रो बसोबास र भोजनको व्यवस्था हुने सल्लाह दिइन्।

त्यसपछि हामी सबैले टर्च बाल्यौं। रातको अँध्यारोमा बुढीगण्डकीमाथिको लामो झोलुङ्गे पुल पार गर्दै चिसापानी पुग्यौं। त्यहाँको होटलमा न्यानो आतिथ्य, स्वादिलो भोजन र आरामदायी बासको व्यवस्था पाएपछि पहिलो दिनको यात्रा सुखद रूपमा सम्पन्न भयो। भोलिपल्टदेखि सुरु हुने वास्तविक पदयात्राको उत्सुकता भने मनभरि सञ्चित भइसकेको थियो।

चन्द्रिका राई एक असल स्वयंसेवीका

भोलिपल्ट बिहान सबेरै नित्यकर्म सम्पन्न गरी हल्का चियापानपछि हाम्रो वास्तविक पदयात्रा सुरु भयो। अघिल्लो साँझ परिचय भएकी स्वास्थ्यकर्मी चन्द्रिका राई पनि केही समय हामीसँगै हिँडिन्। त्यसपछि साम्दोतर्फ जाने उनको बाटो र चुम भ्यालीतर्फ जाने हाम्रो गन्तव्य छुट्टियो।

मनास्लु सर्किट ट्रेकिङ्गको प्रस्थान विन्दू पनि त्यही रहेछ। हामीलाई अगाडिको गोरेटो देखाउँदै उनी निर्भीकतापूर्वक भीरालो बाटो हुँदै एक्लै आफ्नो यात्रामा अघि बढिन्। हामी तीन जनामध्ये टोली कप्तान आदरणीय पोषराज सुवेदी अनुभवी पदयात्री मात्र होइन, जीवनका सूक्ष्म पक्षलाई गहिराइमा बुझ्ने व्यक्तित्व पनि हुनुहुन्थ्यो।

स्वयंसेवी चन्द्रिका दृष्टिबाट ओझेल परेपछि उहाँ केही क्षण मौन रहनुभयो। त्यसपछि भावुक हुँदै भन्नुभयो, ‘कति साहसी रहिछिन् यी चन्द्रिका! आफ्नै व्यक्तिगत सुख–सुविधाभन्दा समाजसेवा र मानवीय कर्तव्यलाई ठूलो ठानेर यति दुर्गम क्षेत्रमा सेवा गरिरहेकी छन्।’

हिँड्दाहिँड्दै चन्द्रिकाले आफ्ना कार्यक्षेत्रका अनेक अनुभव उहाँसँग बाँडेकी रहिछिन्। गोरखाको दूर्गम उत्तरी हिमाली भेगस्थित साम्दोमा सरकारी स्वास्थ्य सेवाको पहुँच अत्यन्त सीमित छ। एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सञ्चालन गरेको स्वास्थ्य केन्द्रमा सीमित जनशक्तिका बीच उनले आधारभूत स्वास्थ्य सेवा मात्र होइन, वरपरका सामागाउँ लगायतका गाउँहरूमा समेत आवश्यक पर्दा पुगेर सेवा दिनुपर्ने रहेछ।

विशेषगरी गर्भवती महिलाको उपचार र सुरक्षित प्रसूति सेवा उनका लागि सबैभन्दा संवेदनशील जिम्मेवारी रहेछन्। कतिपय अवस्थामा बिरामीको अवस्था जटिल बन्दा हेलिकोप्टरमार्फत सुविधासम्पन्न अस्पतालमा पठाएर आमा र शिशुको ज्यान जोगाउन सफल भएका घटनाहरू उनले सुनाएकी रहिछन्। ती घटनामा केवल चिकित्सकीय जिम्मेवारी मात्र थिएन; त्यहाँ मानवीय करुणा, समर्पण र सेवाको गहिरो भावना पनि मिसिएको थियो।

पारिवारिक जीवनका बारेमा सोध्दा उनले आफ्ना भाइबहिनीको विवाह भइसकेको, तर आफू भने सेवाकै जिम्मेवारीका कारण वैवाहिक जीवनबारे सोच्ने फुर्सदसमेत नपाएको बताएकी रहिछन्। उनको सरल अभिव्यक्ति, जिम्मेवारीप्रतिको निष्ठा र सेवाभावले हामी सबैलाई गहिरो रूपमा प्रभावित बनायो।

चन्द्रिकाका अनुभव सुनाइसकेपछि टोली नेता सुवेदीजीले भावुक हुँदै भन्नुभयो, ‘यस्तो समर्पण त असाधारण हो। मेरो दृष्टिमा चन्द्रिका राई नेपालकी एक ‘मदर टेरेसा’ हुन्।’ हामीले उहाँको भनाइमा सहजै सहमति जनायौँ। वास्तवमा सेवा कुनै ठूलो शहरमा बसेर मात्र हुँदैन; कहिलेकाहीँ राज्यको पहुँच कमजोर भएका यिनै दुर्गम हिमाली बस्तीहरूमा चुपचाप आफ्नो कर्तव्य निभाइरहेका मानिसहरू नै समाजका वास्तविक नायक हुन्छन्।

चन्द्रिका राई त्यस्तै एक प्रेरणादायी व्यक्तित्वका रूपमा हाम्रो स्मृतिमा सदाका लागि अंकित भइन्। पदयात्रा सकिएपछि पनि जब–जब चुम भ्यालीको सम्झना आउँछ, हिमालका दृश्यसँगै चन्द्रिकाको समर्पित अनुहार पनि आँखाअघि उभिन्छ। यात्राले हामीलाई केवल नयाँ भूगोलसँग होइन, असाधारण मानिसहरूसँग पनि भेट गराउँदो रहेछ भन्ने अनुभूति त्यस दिन अझ गहिरो भयो ।

उकालो, मुस्कान र वर्षासँगको दौड

दोस्रो दिनको पदयात्रा अझ उत्साहपूर्ण रूपमा अघि बढ्यो। बिहानको चिसो हावासँगै हामी बुढीगण्डकीको बहावलाई पछ्याउँदै जंगलको गोरेटो बाटोमा पाइला चाल्दै थियौं। दुवैतर्फ आकाश छुने पहाडहरू, तल गहिरो खोँचमा कलकल बगिरहेको बुढीगण्डकीको मन्द स्वर र वरिपरि फैलिएको हरियालीले यात्रालाई थकाइभन्दा बढी आनन्ददायी बनाइरहेको थियो।

हामी प्रत्येकले पदयात्राका लागि आवश्यक सामग्री बोकेका थियौँ। कसैको हातमा एउटा लठ्ठी थियो भने कसैले दुईवटै ट्रेकिङ पोलको सहारा लिएका थिए। घरी उकालो, घरी ओरालो यात्रा निरन्तर चलिरह्यो। बिहानको खाजाखाने काम सोलुखुम्बू होटलमा गर्‍यौँ। त्यसपछि लोक्पामा पुगेर दिउँसोको भोजनपछि फेरि उकालो समात्यौँ।

स्थानीयहरूले एउटा महत्त्वपूर्ण जानकारी दिएका थिए लोक्पाबाट चुम्लिङसम्म बीचमा बसोबास गर्ने कुनै ठाउँ छैन। त्यसैले त्यो दिन जसरी पनि चुम्लिङ पुग्नैपर्ने थियो। हामीले यात्राको गति नघटाई बीचबीचमा केही मिनेट विश्राम गर्दै अगाडि बढिरह्यौँ। केही घण्टापछि पारिपट्टि डाँडामा चिटिक्क परेको चुम्लिङ गाउँ देखापर्‍यो। आँखाले हेर्दा नजिकै जस्तो लागे पनि हिमाली भूगोलमा देखिने दूरी प्रायः भ्रमपूर्ण हुन्छ भन्ने कुरा हामीले बारम्बार अनुभव गरिसकेका थियौँ।

गाउँ पुग्नुअघि बाटोमा एउटा सानो चिया पसल भेटियो। लामो उकालोपछि केही समय विश्राम गर्दै तातो चिया पिउने निर्णय गर्‍यौँ। त्यहाँ प्रेम तामाङ नाम गरेका करिब तेइस–चौबीस वर्षका एक हँसिला युवा थिए। उनले आत्मीयतापूर्वक चिया बनाएर ल्याइदिए। चिया पिइरहँदा उनी हामीतिर मुस्कुराउँदै बारम्बार हेरिरहेका थिए।

म र टोलीनेता सुवेदीजीले त्यसलाई खासै ध्यान दिएनौँ। तर हाम्रा अर्का सहयात्री प्रकाश सुवेदी मानिसको मनोभाव बुझ्न निकै सिपालु हुनुहुन्थ्यो। उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘प्रेम भाइ, आउनुस् न, हामीसँग एउटा फोटो खिचौँ।’ यति सुन्नासाथ प्रेमको अनुहार अझ उज्यालियो। उनी वास्तवमै हामीसँग तस्बिर खिच्न चाहिरहेका रहेछन्, तर संकोचका कारण भन्न सकेका रहेनछन्। त्यसपछि हाम्रो र उनको मोबाइलमा केही सम्झनायोग्य तस्वीरहरू कैद भए।

त्यो सानो क्षणले हामी सबैको मन छोयो। यात्रामा यस्ता अनपेक्षित भेटघाटले अपरिचित मानिसहरूलाई पनि आफ्नाजस्तै बनाइदिन्छन्। एउटा सामान्य तस्बिरले कसैको अनुहारमा यति धेरै खुशी ल्याउन सक्छ भन्ने अनुभूति हामीले त्यही दिन गर्‍यौँ। अब साँझ पर्न थालिसकेको थियो।

चुम्लिङ पुग्नुअघि फेरि बुढीगण्डकीमाथिको पुल तरेर ठाडो उकालो चढ्नुपर्ने थियो। दिनभरको हिँडाइले शरीर थाकिसकेको थियो। त्यसमाथि पश्चिमतर्फबाट कालो बादल बिस्तारै आकाश ढाक्दै आइरहेको थियो। केही क्षणमै मौसमले ठूलो वर्षाको संकेत दिन थाल्यो।

हामीले चाल स्वाभाविकभन्दा तीव्र बनायौँ। भीरालो उकालोमा सकेसम्म छिटो पाइला चाल्दै गन्तव्यतर्फ अघि बढिरह्यौँ। अन्ततः उकालो पार गरेर भेटिएको पहिलो होटलमा पुग्नासाथ साँझ गाढा भयो। हामी होटलभित्रको ओतमा पुग्नु र मुसलधारे वर्षाको सुरु सङ्गसङ्गै भयो। होटल पहिलेबाट आरक्षण गरिएको थिएन। सौभाग्यवश खाली कोठा उपलब्ध रहेछन्।

आरामदायी बसोबासको व्यवस्था भएपछि हामीले राहतको सास फेर्‍यौँ। यदि केही मिनेट ढिलो भएको भए त्यो वर्षाले बाटोमै हामीलाई निकै दुःख दिने निश्चित थियो।त्यस रात न्यानो भोजनसँगै दिनभरका अनुभवहरू साटासाट गर्दै हामीले प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्‍यौँ। मनमनै लाग्यो सायद यात्रुहरूको पुकार सुनेर वर्षाका देवता इन्द्रले हामीलाई गन्तव्यसम्म पुग्ने अवसर दिएपछि मात्र आफ्नो वर्षा खुलाएका हुन्।

नेपालको छानोमा पहिलो बिहान

तेस्रो दिन बिहान हामी नयाँ उत्साहका साथ उठ्यौं। आजको गन्तव्य थियो – हाम्रो यात्राको प्रमुख उद्देश्य, चुम भ्याली। मौसमले पनि हाम्रो साथ दिएको थियो। रातभरको विश्रामपछि शरीर हलुका लागेको थियो, र सफा आकाशले दिनभरको यात्राको शुभ संकेत गरिरहेको थियो।

होटलबाट निस्किएर बिहानको चिसो हावामा केहीबेर वरिपरि दृष्टि दौडायौँ। हिमालका टाकुरामाथि पहिलो सूर्यकिरण पर्दै थियो। त्यस दृश्यले मनमा नयाँ ऊर्जा भरिदियो। त्यस दिन हामीले करिब एक हजार मिटर थप उकालो चढ्नुपर्ने थियो।

केही घण्टाको पदयात्रापछि रेन्जोम गेष्टहाउसमा पुगेर बिहानको खाजा खाएर केही विश्राम गर्‍यौँ। त्यसपछि यात्रा निरन्तर उकालोतर्फ अघि बढिरह्यो। मध्यान्हतिर घो भन्ने स्थानमा पुगेपछि दिउँसोको भोजन गर्‍यौँ। स्थानीयले फेरि सम्झाए, यहाँबाट छेकम्पार नपुगेसम्म बीचमा बस्ने कुनै व्यवस्था छैन। त्यसैले समय र गति दुवैको उचित व्यवस्थापन आवश्यक थियो।हामीले पनि त्यही तालमेल मिलाएर अघि बढ्दै गर्‍यौं ।

दिउँसो करिब चार बजेतिर साँघुरा भीर र उकालाहरू पार गर्दै हामी एउटा समथर भूभागमा पुग्यौँ। लामो समयको कठिन हिँडाइपछि समथर जमिनमा पाइला टेक्दा शरीरमा छुट्टै हलुकापन महसुस भयो। वरिपरि फैलिएको हरियो पाटन, चिसो हावा र हिमाली शान्तिले मनलाई अकल्पनीय आनन्द दिइरहेको थियो।

करिब दस मिनेट अगाडि बढेपछि एउटा विशाल ढुङ्गामा कलात्मक शैलीमा निर्माण भइरहेको गुम्बा देखापर्‍यो। त्यसलाई पार गरेलगत्तै एउटा सुन्दर बस्ती आँखाअगाडि खुल्यो, त्यो थियो छेकम्पार। सफा, व्यवस्थित र मनमोहक त्यो बस्ती हिमाली सभ्यता र आधुनिक पर्यटनबीचको सुन्दर संगमजस्तै लाग्यो। साना–साना होटल, लज, होमस्टे र यात्रुहरूको सहज बसाइका लागि बनाइएका संरचनाले यस क्षेत्रको पर्यटन विकास क्रमशः अघि बढिरहेको संकेत गरिरहेका थिए।

हामीले एउटा होटलमा बसेर तातो चिया र हल्का नास्ता गर्‍यौँ। लामो यात्रापछि त्यो विश्राम अत्यन्त सुखद लाग्यो। यद्यपि चुम भ्यालीको आकर्षणले हामीलाई त्यहाँ धेरैबेर रोक्न सकेन। मन अझै अगाडि पुग्न उत्सुक थियो।छेकम्पारबाट करिब एक घण्टाको थप पदयात्रापछि समुद्री सतहबाट ३,३०२ मिटर उचाइमा अवस्थित लामा गाउँ पुग्यौँ। त्यहीँको एउटा सानो तर आत्मीय होटलमा बास बस्ने निर्णय गरियो।

साँझ पर्दै जाँदा हिमाली बस्तीमा एक विशेष प्रकारको शान्ति फैलिन थाल्यो। टाढाटाढासम्म कुनै सवारीको आवाज थिएन; केवल चिसो हावाको सुस्केरा, चौँरीका घण्टीको मधुर ध्वनि र हिमाली साँझको मौनता।

त्यो क्षणमा हामीलाई पहिलो पटक गहिरो अनुभूति भयो, हामी साँच्चै नेपालको एउटा विशिष्ट हिमाली सभ्यताभित्र प्रवेश गरिसकेका रहेछौँ। चुम भ्याली अब केवल नक्सामा देखिने नाम मात्र रहेन; त्यो हाम्रो प्रत्यक्ष अनुभव, अनुभूति र स्मृतिको अविभाज्य हिस्सा बनिसकेको थियो।

हिमालको काखमा निद्राविहीन त्यो रात

लामा गाउँमा बिताएको हाम्रो पहिलो साँझ शान्त र मनमोहक थियो। साँझ ढल्कँदै जाँदा हल्का वर्षासँगै चिसो हावाले हिमाली बस्तीलाई थप निस्तब्ध बनायो। होटलको भोजनकक्षमा स्थानीय परिकारको स्वाद लिँदै दिनभरका अनुभवहरू एकअर्कासँग साटासाट गर्यौँ। बाहिर क्रमशः तापक्रम घट्दै थियो।

राति आफ्नो कोठामा पुगेपछि शरीर थाकेको भए पनि निद्राले भने साथ दिएन। पछि थाहा भयो, त्यस रात तापक्रम माइनस पाँच डिग्री सेल्सियससम्म झरेको रहेछ। अत्यधिक चिसो, लामो पदयात्राको थकान वा उच्च हिमाली उचाइको सामान्य प्रभाव, के कारण थियो यकिन गर्न सकिनँ। टाउको हल्का दुखिरह्यो र रातभर निद्रा लागेन। बीच–बीचमा झ्यालबाहिर हावाको सुस्केरा सुन्थेँ र फेरि ओछ्यानमै पल्टिरहन्थेँ।

मेरा सहयात्रीहरू भने निर्धक्क निदाएछन्। उनीहरूको गहिरो निद्रा देखेर आफूलाई भने अलिकति ईर्ष्या नै लाग्यो। हिमालको काखमा बितेको त्यो रात मेरो यात्राको सबैभन्दा लामो रातजस्तो अनुभूत भयो।

बिहान उठेर बाहिर निस्कँदा भने रातको सबै असहजता क्षणभरमै बिर्सिएँ। मौसम पूर्णतः सफा थियो। वरिपरिका हिमालहरू रातभर परेको ताजा हिउँले सेताम्मे देखिन्थे। उदाउँदो सूर्यका किरणहरू हिमशिखरमा पर्दा सुनौलो आभा फैलिएको दृश्य शब्दमा वर्णन गर्न कठिन थियो।

सुरुमा टाउको केही भारी लागे पनि विस्तारै शरीर सहज हुँदै गयो। त्यसपछि हामी स्थानीयका चर्चित गुम्बाहरूको दर्शन गर्दै चुम भ्यालीको थप अवलोकनमा निस्कियौँ।
जति अगाडि बढ्दै गयौँ, त्यति नै चुम भ्यालीको प्राकृतिक बनोटले हामीलाई चकित पार्दै लग्यो। समुद्री सतहबाट तीन हजार तीन सय मिटरभन्दा माथिको उचाइमा यति विशाल, समथर र उर्वर भूमि देख्दा अनायासै तराईका फाँटहरूको सम्झना आयो।

चारैतिर हिमालहरूले घेरेको यो हरियो उपत्यका प्रकृतिको अनुपम वरदानजस्तै लाग्यो। त्यसैले यसलाई मैले मनमनै ‘नेपालको छानो’ भन्ने नाम दिएको थिएँ। मलाई लाग्यो, पदयात्राप्रति रुचि राख्ने र स्वास्थ्यले साथ दिने प्रत्येक नेपालीले जीवनमा कम्तीमा एकपटक चुम भ्याली अवश्य पुग्नुपर्छ। यहाँको प्राकृतिक सौन्दर्य मात्र होइन, यहाँको संस्कृति, जीवनशैली र आत्मीय वातावरणले पनि मानिसलाई समृद्ध बनाउँछ।

हामी भ्यालीको अन्तिम बस्ती निले (चौरिखर्क) र त्यसभन्दा माथि रहेको ऐतिहासिक मुगुम्बासम्म भने जान सकेनौँ। त्यहाँ पुगेर फर्किन थप दुई–तीन दिन आवश्यक पर्ने रहेछ। हाम्रो एक सहयात्रीलाई निर्धारित समयमै काठमाडौं फर्कनुपर्ने बाध्यता थियो।

उता, मेरो आफ्नै स्वास्थ्य पनि रातको अनिद्रा र उचाइका कारण पूर्ण रूपमा सहज थिएन। अझ माथि जाँदा लेक लाग्ने जोखिम बढ्न सक्ने सम्भावनाले पनि हामीलाई सतर्क बनायो। यद्यपि टोली नेता पोषराज सुवेदीजीको विचार फरक थियो। उहाँ अनुभवी पदयात्री हुनुहुन्थ्यो। उहाँको भनाइ थियो, ‘यति टाढा आइसकेपछि दुई–चार दिन थपेर भए पनि सबै महत्वपूर्ण स्थानहरु धितमर्ने गरी हेरेर मात्र फर्किनुपर्छ।’

उहाँको तर्क निश्चय नै उचित थियो। मेरो मन पनि उहाँसँग सहमत थियो। तर यात्रा केवल इच्छाले मात्र पूरा हुँदैन; समय, स्वास्थ्य र परिस्थितिले पनि त्यसलाई निर्देशित गर्छन्। अन्ततः हामीले त्यहीँबाट फर्कने निर्णय गर्यौँ। फर्कने क्रममा छेकम्पार पुगेर एउटा होटलमा दिउसोको भोजन गर्यौँ। खाना सकिएलगत्तै आकस्मिक रूपमा ठूलो वर्षा सुरु भयो।

स्थानीयहरूले भीरालो बाटोमा वर्षाका बेला हिंड्नु जोखिमपूर्ण हुने बताए। खहरेहरू एकाएक बढ्ने, ढुङ्गा खस्ने र बाटो अवरुद्ध हुन सक्ने भएकाले त्यस दिन यात्रा अघि नबढाउन उनीहरूको सुझाव थियो। हामीले पनि हतार नगर्ने निर्णय गर्यौँ। दिउँसैदेखि त्यहीँ बास बस्यौँ। कहिलेकाहीँ यात्रामा अघि बढ्नु मात्र बुद्धिमानी हुँदैन; उचित समयमा रोकिनु पनि सुरक्षित यात्राकै एउटा महत्त्वपूर्ण पक्ष हो भन्ने शिक्षा त्यस दिन हामीले व्यवहारमै अनुभव गर्यौँ।

फर्किने पाइला र मनमा बसिरहने चुम भ्याली

यात्राको सबैभन्दा कठिन क्षण कहिलेकाहीँ उकालो चढ्नु होइन, मन परेको ठाउँलाई पछाडि छोडेर फर्किनु पनि हुदोरहेछ। छेकम्पारमा बिताएको वर्षायुक्त आधा दिन र एक रातपछि भोलिपल्ट बिहान मौसम फेरि खुल्यो। हिमालका शिखरहरू स्वच्छ आकाशमुनि झन् उज्यालिएका थिए।

हामीले चुम भ्यालीलाई अन्तिम पटक नियाल्यौं। केही दिनमै यस उपत्यकाले हामीसँग आत्मीय सम्बन्ध गाँसिसकेको थियो। त्यसैले फर्किने तयारी गर्दै गर्दा मनमा हल्का खिन्नता पनि थियो। हामी बिहानै छेकम्पारबाट ओरालो लाग्यौं। उकालो चढ्दा कठिन लागेका बाटाहरू अब ओरालोमा सहज देखिए पनि पदयात्राको आफ्नै चुनौती थियो। लोक्पा पुगेर त्यस दिनको बास त्यहीँ बस्यौं। अर्को बिहान नयाँफेदीमा बिहानको खाजा खाएर पुनः बाङसिङतर्फ लाग्यौं।

फर्कने क्रममा एउटा सवारीसाधन सहजै भेटियो। यसले हाम्रो यात्रा निकै सहज बनाइदियो र मध्यान्हतिर हामी फेरि आरुघाट पुग्यौं। अब एउटा निर्णय गर्नुपर्ने भयो। त्यस दिन त्यही बास बसेर भोलि बिहानको बसमा काठमाडौं फर्कने कि सोही दिन गोरखाको सदरमुकाम पुग्ने र त्यहाँबाट अर्को दिन काठमाडौं फर्कने? केही छलफलपछि हामीले दोस्रो विकल्प रोज्यौं, त्यही दिन गोरखा बजार पुग्ने र भोलिपल्ट त्यहाँबाट काठमाडौं फर्कने।

आरुघाटमा केही घण्टा बिताउँदा एउटा फरक अनुभूति भयो। कुनै समय उत्तर गोरखाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित यो बजारमा त्यत्तिको चहलपहल देखिएन। कतिपय घर र पसल जीर्ण अवस्थामा थिए। केही भवन भत्काइएका थिए भने केही उजाडजस्ता देखिन्थे। बजारको रौनक हराउँदै गएको आभास भयो।

हामीसँगै बसमा यात्रा गरिरहेका एक स्थानीय विद्यालयका शिक्षकले यसको कारण बताए। प्रस्तावित बुढीगण्डकी जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा पर्ने भएकाले अधिकांश बासिन्दाले क्षतिपूर्ति बुझिसकेका रहेछन्। भविष्यमा यो क्षेत्र विशाल जलाशयमा परिणत हुने अपेक्षाले नयाँ लगानी रोकिएको र पुराना संरचनाको मर्मतसम्भार पनि नगरेको अवस्था रहेछ। त्यो कुरा सुनेपछि आरुघाटका जीर्ण घरहरू केवल पुराना भवनजस्ता लागेनन्; ती भविष्यको प्रतीक्षामा मौन बसेका समयका साक्षीझैँ लागे।

आरुघाटबाट गोरखा बजारतर्फको यात्रा भने भिन्न अनुभूति बोकेको थियो। सोही दिनको केही समय अघि हिमाली दुर्गम बस्तीहरूमा पैदल यात्रा गरेका हामी अहिले कालोपत्रे सडकमा सरर गुडिरहेका थियौं। दायाँबायाँ फैलिएका हरिया खेत तथा बारी, व्यवस्थित बस्ती, वनजङ्गल र सहज यातायातको पहुँचले नेपालको भौगोलिक विविधतालाई फेरि एकपटक जीवन्त रूपमा देखायो।

केही समय अघि हामी खच्चरको भरमा खाद्यान्न ढुवानी हुने दुर्गम बस्तीमा थियौं; अहिले भने फराकिला सडक र सवारीसाधनले सजिलै जोडिएको भूभागमा यात्रा गरिरहेका थियौं। एउटै जिल्लाभित्र पनि विकासका यस्ता फरक–फरक रूप देख्नु आफैंमा एउटा गहन अनुभव थियो। त्यस साँझ हामी गोरखा बजारको एउटा होटलमा बस्यौं।

पाँच-छ दिनपछि प्रशस्त तातो पानीले स्नान गर्दा शरीरको सम्पूर्ण थकान बिस्तारै हराउँदै गयो। पदयात्रापछि न्यानो पानीले नुहाउँदाको आनन्द शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ; त्यो अनुभूति केवल यात्रुले मात्र महसुस गर्न सक्छ। भोलिपल्ट बिहान हाम्रो पदयात्राको अन्तिम दिन थियो। स्नान गरी हामी प्रत्येकले फूल प्रसादको टोकरी लिएर गोरखा दरबार परिसरमा अवस्थित गोरखनाथ र गोरखकालीको दर्शन गर्न पुग्यौं।

हिमाली यात्राको सफल समापनमा आस्था र कृतज्ञताको भाव स्वाभाविक रूपमा मनमा उम्लिरहेको थियो। दर्शन सम्पन्न गरी सार्वजनिक बसमा काठमाडौं फर्कंदै गर्दा झ्यालबाहिरका दृश्यहरू फेरि बदलिँदै गए। तर यसपटक परिवर्तन केवल बाहिरी दृश्यमा थिएन; केही परिवर्तन हामीभित्र पनि भइसकेको थियो।

चुम भ्याली पछाडि छुटिसकेको थियो, तर त्यसका हिमाल, त्यहाँका सरल मानिसहरू, गुम्बाहरू, चौँरीका घण्टी, बुढीगण्डकीको सुसाइ र पदयात्राका ती अविस्मरणीय क्षणहरू भने मनभित्र स्थायी रूपमा बसिसकेका थिए। कतिपय यात्राहरू समाप्त हुँदैनन्; तिनले जीवनलाई हेर्ने दृष्टि नै परिवर्तन गरिदिन्छन्। चुम भ्यालीको यात्रा हाम्रो लागि त्यस्तै एउटा यात्रा बन्यो।

यात्राले चिनाएको… 

कुनै देशलाई नक्सामा हेरेर चिन्न सकिँदैन; त्यसका बाटा हिँड्नुपर्छ, मानिससँग बस्नुपर्छ र प्रकृतिसँग संवाद गर्नुपर्छ। यो पदयात्रा सकिएपछि म बारम्बार एउटै निष्कर्षमा पुगेँ, यात्रा मनोरञ्जन मात्र होइन, एउटा गहन शिक्षा पनि हो। विद्यालय र विश्वविद्यालयले ज्ञान दिन्छन्; तर जीवन, समाज, प्रकृति र मानिसलाई बुझ्ने शिक्षा यात्राले दिन्छ। त्यो शिक्षा कुनै पाठ्यपुस्तकमा सीमित हुँदैन, बरु आफ्नै आँखाले देखेका दृश्य, आफ्नै खुट्टाले हिँडेका बाटा र आफ्नै मनले अनुभूत गरेका क्षणहरूबाट प्राप्त हुन्छ।

म नेपालको पहाडी जिल्ला गुल्मीको ग्रामीण परिवेशमा जन्मेर हुर्किएको हुँ। बाल्यकाल खेतबारी, पशुपालन र गाउँको श्रमशील जीवनसँगै बित्यो। घरको काममा सघाउँदै विद्यालय पुग्ने दिनहरू आज पनि स्मृतिमा ताजै छन्। पछि उच्च शिक्षाका लागि काठमाडौं आएँ। अध्ययन, त्यसपछि सरकारी सेवा, जिम्मेवारी र विदेशस्थित विभिन्न कूटनीतिक नियोगहरुमा निर्वाह गर्नुपर्ने दायित्वले जीवनलाई निरन्तर व्यस्त बनायो। विदेशका विभिन्न भूभाग र संसारका अनेक मुलुक हेर्ने अवसर पाएँ, तर आफ्नै देशका धेरै कुनाकाप्चा भने अझै बाँकी नै रहेछन्।

सेवाबाट अवकाश लिएपछि मैले आफूलाई एउटा प्रश्न सोधेँ, अब बाँकी समय कसरी अर्थपूर्ण बनाउने? त्यही प्रश्नको उत्तर खोज्दै म फेरि यात्रातर्फ फर्किएँ। अहिले समय मिलेसम्म नेपालको दुर्गम गाउँ, हिमाली बस्ती, ऐतिहासिक सम्पदा, प्राकृतिक विविधता र सांस्कृतिक धरोहरहरूको अवलोकन गर्दै हिँड्नु मेरो जीवनको एउटा प्रिय साधना बनेको छ।

पदयात्रा, हाईकिङ, प्रकृतिसँगको साक्षात्कार र त्यसबाट प्राप्त अनुभूतिलाई शब्दमा उतार्ने प्रयास नै अहिलेको मेरो सिर्जनात्मक यात्राको आधार बनेको छ। चुम भ्यालीको यात्राले यो विश्वास अझ दृढ बनायो कि नेपाललाई चिन्ने सबैभन्दा प्रभावकारी माध्यम देशदर्शन नै हो।

करिब एक सय माइलको दूरीभित्र विश्वको सर्वोच्च शिखर सगरमाथादेखि तराईका समथर फाँटसम्मको अद्भुत भौगोलिक विविधता संसारमा विरलै पाइन्छ। हिमाल, पहाड र तराईको यस्तो अद्वितीय संयोजन केवल भूगोलको विषय मात्र होइन; यसले यहाँको संस्कृति, भाषा, जीवनशैली, कृषि, जलवायु र मानवीय सम्बन्धलाई पनि आकार दिएको छ।
चुम भ्याली यसको एउटा जीवन्त उदाहरण हो।

समुद्री सतहबाट तीन हजार तीन सय मिटरभन्दा माथि अवस्थित भएर पनि त्यहाँको समथर र उर्वर भूमि, उवा, जौ, आलु र सागसब्जीको खेती, चौँरीपालन, गुम्बाहरूको शान्त वातावरण र स्थानीय बासिन्दाको सरल जीवनशैलीले मलाई गहिरो रूपमा प्रभावित पार्‍यो। कठिन भौगोलिक अवस्थाबीच पनि उनीहरूको आत्मसम्मान, परिश्रम, इमानदारी र अतिथिप्रतिको आत्मीयता नेपालका अमूल्य सम्पत्ति हुन् भन्ने अनुभूति भयो।

नेपाललाई चिन्ने प्रयास गर्दा मैले बारम्बार महसुस गरेको अर्को सत्य के हो भने हाम्रो वास्तविक शक्ति केवल हिमाल वा प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन। हाम्रो शक्ति हाम्रो विविधतामा छ— भाषाको विविधता, संस्कृतिको विविधता, जीवनपद्धतिको विविधता र सहअस्तित्वको संस्कारमा छ। यही विविधताले नेपाललाई अद्वितीय बनाएको छ।
यात्राले मलाई सिकाएको अर्को पाठ के पनि हो भने विकास केवल सडक, भवन वा संरचना निर्माणको नाम होइन।

विकास भनेको मानिसको जीवनलाई सहज, सुरक्षित, सम्मानजनक र अवसरयुक्त बनाउने प्रक्रिया हो। दुर्गम हिमाली बस्तीका मानिसहरूलाई देख्दा यो अनुभूति अझ गहिरो भयो। उनीहरू कठिन परिस्थितिमा पनि आत्मसम्मानका साथ बाँचिरहेका थिए। राज्यको पहुँच विस्तार हुनु आवश्यक छ, तर त्यससँगै त्यहाँको मौलिक संस्कृति, वातावरण र सामाजिक सद्भावको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ।

यसैले मलाई लाग्छ- नेपाललाई माया गर्ने सबै नेपालीले समय–समयमा आफ्नै देश घुम्नुपर्छ। विदेश भ्रमणले विश्वलाई चिनाउँछ; तर आफ्नै देशको यात्रा नगरी नेपाललाई पूर्ण रूपमा बुझ्न सकिँदैन। देशप्रतिको प्रेम केवल भावनाबाट होइन, प्रत्यक्ष अनुभूतिबाट अझ गहिरो बन्छ।

चुम भ्याली- सम्भावना र चुनौती 

कुनै ठाउँको सुन्दरता केवल प्रकृतिमा हुँदैन, त्यसलाई जोगाउने मानिस, त्यससम्म पुग्ने बाटो र त्यसको भविष्यप्रतिको हाम्रो दृष्टिमा पनि हुन्छ। चुम भ्यालीको पदयात्रा सम्पन्न गरेर फर्किएपछि मेरो मनमा एउटा प्रश्न बारम्बार उठिरह्यो यति अनुपम प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदा बोकेको यो क्षेत्रलाई हामीले यसको वास्तविक सम्भावनाअनुसार विकास गर्न सकेका छौँ त?

मेरो अनुभूति अनुसार चुम भ्याली नेपालको उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एक हो। यहाँको मौलिक संस्कृति, बौद्ध सभ्यता, हिमाली जीवनशैली, प्राकृतिक सौन्दर्य र स्थानीय समुदायको आत्मीय आतिथ्यले यसलाई अन्य धेरै गन्तव्यभन्दा विशिष्ट बनाएको छ। पछिल्ला वर्षहरूमा निजी क्षेत्रले होटल, लज, होमस्टे तथा पर्यटक सेवाको विस्तारमा उल्लेखनीय प्रयास गरेको देखिन्छ। स्थानीय बासिन्दाको सक्रिय सहभागिता पनि उत्साहजनक छ।

यद्यपि पर्यटनको दीर्घकालीन र दिगो विकासका लागि राज्यको भूमिका अझ प्रभावकारी हुन आवश्यक देखिन्छ। पदमार्गको नियमित मर्मतसम्भार, जोखिमयुक्त स्थानमा सुरक्षा व्यवस्था, विश्रामस्थल, संकेतचिन्ह, फोहोर व्यवस्थापन तथा आधारभूत स्वास्थ्य र सञ्चार सेवाको क्रमिक विस्तारले यस क्षेत्रको पर्यटनलाई अझ सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन सक्छ। यस्ता पूर्वाधारले पर्यटकको सुविधामात्र होइन, स्थानीय बासिन्दाको दैनिक जीवनलाई पनि प्रत्यक्ष लाभ पुर्‍याउँछन्।

यो यात्रामा मेरो मनलाई सबैभन्दा बढी छोएको दृश्यमध्ये एउटा थियो, सामान ढुवानी गर्ने खच्चरहरूको अथक परिश्रम। साँघुरा भीरालो बाटामा भारी बोक्दै, थकानले मुखबाट फिँज निकाल्दै, कतिपयका ढाडमा घाउ र खुट्टामा चोट बोकेर पनि उनीहरू निरन्तर हिँडिरहेका थिए। उनीहरूको श्रमबिनाको हिमाली जीवन र पर्यटन दुवै अपूर्ण देखिन्थे। ती निरीह जनावरले कुनै गुनासो गर्दैनन्, तर उनीहरूको मौन पीडाले संवेदनशील यात्रुको मन अवश्य छुन्छ। पर्यटनको विकाससँगै यस्ता श्रमिक जनावरको उचित हेरचाह, उपचार र मानवीय व्यवहारबारे पनि सोच्नु आवश्यक छ भन्ने अनुभूति मैले त्यहीँबाट लिएर फर्किएको हुँ।

यात्राले मलाई अर्को महत्त्वपूर्ण कुरा पनि सिकायो। विकास भन्नु केवल सडक विस्तार वा भवन निर्माण मात्र होइन; विकास भनेको स्थानीय संस्कृति, वातावरण र समुदायको सम्मान गर्दै अवसर सिर्जना गर्नु हो। चुम भ्यालीको मौलिक पहिचान नै यसको सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले यहाँ हुने विकासले स्थानीय जीवनशैलीलाई विस्थापित होइन, सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्छ।

नेपाललाई मायाँ गर्ने, प्रकृतिप्रेमी, चर्चित भूगर्भविद् स्वीस नागरिक टोनी हागन (Toni Hagen) ले नेपाललाई केवल हिमालको देशका रूपमा होइन, अद्वितीय भौगोलिक, सांस्कृतिक र प्राकृतिक विविधताले सम्पन्न राष्ट्रका रूपमा व्याख्या गरेका छन्। उहाँले नेपालको सम्भावना प्रकृतिमा मात्र नभई त्यसको विविधतामा देख्नुभएको थियो। उहाँका कृतिहरू पढ्दा नेपालप्रतिको उहाँको गहिरो आत्मीयता सहजै अनुभूत हुन्छ। उहाँका कतिपय सुझाव तत्कालीन परिस्थितिमा पूर्ण रूपमा कार्यान्वयन हुन नसके पनि नेपाललाई आफ्नै मौलिकता जोगाउँदै विकासको बाटोमा अघि बढाउनुपर्ने उहाँको दृष्टि आज पनि सान्दर्भिक लाग्छ।

मेरो विश्वास छ, कुनै पनि राष्ट्रको समृद्धि केही व्यक्तिको सम्पन्नताले मापन हुँदैन; समग्र नागरिकको जीवनस्तर, अवसरको समानता, सुशासन र सामाजिक न्यायले त्यसको वास्तविक मापन गर्छ। नेपालको विकास पनि यही दृष्टिकोणबाट अघि बढ्नुपर्छ। स्थिर नीति, दूरदर्शी नेतृत्व, सक्षम संस्थागत व्यवस्था र सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभवलाई सम्मानपूर्वक उपयोग गर्न सकेमा हाम्रो देशले आफ्ना अपार सम्भावनालाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्न सक्छ।

चुम भ्यालीको यो यात्राले मलाई नेपालको सुन्दरता मात्र देखाएन; नेपालप्रतिको मेरो विश्वासलाई पनि अझ दृढ बनायो। प्रकृतिले हामीलाई धेरै दिएको छ। अब त्यसलाई बुद्धिमत्तापूर्वक संरक्षण गर्ने, सन्तुलित रूपमा उपयोग गर्ने र भावी पुस्ताका लागि सुरक्षित राख्ने दायित्व हाम्रो हो।

पदयात्राको अन्त्यमा काठमाडौं फर्किएपछि पनि हिमालका ती दृश्य, बुढीगण्डकीको सुसाइ, गुम्बाहरूको शान्त वातावरण, चन्द्रिका राईको सेवाभाव, प्रेम तामाङको निश्छल मुस्कान र चुम भ्यालीका सरल बासिन्दाको आत्मीय व्यवहार बारम्बार स्मृतिमा आइरहन्छन्। यही सम्झनाले मलाई फेरि अर्को यात्राको निम्ता दिन्छ।

अन्ततः म यही निष्कर्षमा पुग्छु, नेपाललाई चिन्न, माया गर्न र यसको वास्तविक सम्भावना बुझ्न देशदर्शनको विकल्प छैन। यात्राले केवल गन्तव्यसम्म पुर्‍याउँदैन; यसले आफ्नै देशलाई नयाँ आँखाले हेर्न सिकाउँछ। शायद यही नै चुम भ्यालीले मलाई दिएको सबैभन्दा ठूलो उपहार हो।

(लेखक: पूर्वराजदूत हुन्।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast