बागलुङ- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी सुरक्षित र सशक्त भए मात्रै नागरिकलाई प्रभावकारी सुरक्षा दिन सकिने बताएका छन्।
बागलुङ जिल्ला प्रहरी कार्यालयमा निर्माण सम्पन्न चार ब्यारेक तथा आवास भवन उद्घाटन गर्दै उनले समुदायको साथ र विश्वासबिना प्रहरी सफल हुन नसक्ने बताए। अपराध नियन्त्रण र अनुसन्धानमा नागरिकको सहभागिता महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
उनले लामो समयदेखि आराम गर्ने उपयुक्त पूर्वाधारको अभाव झेल्दै आएको प्रहरीका लागि नयाँ भवनले कार्यसम्पादन सहज बनाएको बताए। नागरिक प्रहरी कार्यालयमा आफ्नै घरजस्तै विश्वासका साथ आउने वातावरण बनाउनुपर्ने र प्रहरीलाई थप प्रविधिमैत्री बनाउन आवश्यक रहेको उनले उल्लेख गरे।
कार्कीका अनुसार देशभर २८५ प्रहरी युनिट अझै जोखिमपूर्ण भवनमा सञ्चालनमा छन् भने थप ९७० युनिटका लागि नयाँ पूर्वाधार आवश्यक छ।
जिल्ला प्रहरी कार्यालयमा नौ करोड ७१ लाख रुपैयाँको लागतमा ब्यारेक, मेस, हिरासत कक्ष, वरिष्ठ प्रहरी अधिकृत आवास र कार्यालय प्रमुख निवास गरी चार भवन निर्माण गरिएको हो।
प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले २०७९ मा सुरु भएको निर्माण २०८३ जेठमा सम्पन्न भएपछि प्रहरीको भाडामा बस्नुपर्ने अवस्था अन्त्य भएको बताए।


