बन्दसत्रमा रविले भने- हिजोकै शैलीले फरक परिणाम आउँदैन

हिमाल प्रेस ९ असार २०८३ १६:१५ | Tuesday, June 23, 2026
12
SHARES
बन्दसत्रमा रविले भने- हिजोकै शैलीले फरक परिणाम आउँदैन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत मंगलबार अपराह्न सवा ३ बजेदेखि बन्दसत्र सुरु भएको छ। सभापति रवि लामिछाने बन्दसत्र स्थलमा पुगेपछि कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो।

बन्दसत्रमा पार्टीका अधिकांश प्रतिनिधि तथा पदाधिकारी सहभागी भए पनि वरिष्ठ नेता बालेन शाह भने अनुपस्थित रहेका छन्।

बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको शुल्क अनिवार्य नरहेको बताए।

अधिकांश प्रतिनिधिले पाँच हजार रुपैयाँका दरले शुल्क बुझाइसकेका भए पनि आर्थिक अवस्था कमजोर भएका प्रतिनिधिलाई शुल्क नतिरे पनि सहभागी हुन सक्ने व्यवस्था गरिएको उनले बताए।

‘तपाईंहरू चितवन बस्दा धेरै खर्च भइसकेको पनि होला। पैसा छैन भने प्रतिनिधि शुल्क अनिवार्य छैन। नसक्नेले नतिर्नुस्, सक्नेले पाँच हजारभन्दा बढी तिरे पनि फरक पर्दैन,’ लामिछानेले भने।

सम्बोधनका क्रममा उनले पार्टीभित्र गुटउपगुटको प्रवृत्ति देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे। गुटउपगुटले पार्टीलाई अपेक्षित परिणाम दिन नसक्ने भन्दै उनले फरक परिणाम चाहिने हो भने फरक अभ्यास आवश्यक रहेको बताए।

‘साथीहरू, हामीसँग पनि गुटउपगुट यस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ। फरक आउँदैन। फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ,’ उनले भने।

लामिछानेले गलत मनसायका साथ केही प्रतिनिधि महाधिवेशनमा ल्याइएको हुन सक्ने आशंका पनि व्यक्त गरे। कसैको प्रभाव वा निर्देशनमा नभई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न उनले प्रतिनिधिहरूलाई आग्रह गरे।

‘यदि गलत तरिकाले कसैले तपाईंलाई यो हलसम्म ल्याइदिएको छ भने त्यो कुरा त्यही रोक्नुस्। कसैले मित्रताका आधारमा यहाँसम्म प्रतिनिधि बनाएर ल्याएको छ भने धन्यवाद दिनुहोला, भोट चाहिँ राम्रालाई दिनुहोला,’ उनले भने।

जसले जिते पनि अन्ततः ‘घण्टीबाहक’ अर्थात् रास्वपा नै विजयी हुने विश्वास व्यक्त गर्दै उनले आफू कुनै समूहको पक्षमा नरही तटस्थ बसेको दाबी गरे। केन्द्रीय समितिमा योग्य र विवेकशील व्यक्तिलाई चयन गर्न उनले प्रतिनिधिहरूलाई आग्रह गरे।

‘गलत प्रवृत्तिको सानो बीउ रोपिन्छ भन्ने चिन्ता छ मलाई,’ उनले भने। पार्टीभित्र विभिन्न अफवाहसमेत सुन्नमा आएको उल्लेख गर्दै उनले कसैको दबाब वा सिफारिसका आधारमा नभई आफ्नै निर्णयअनुसार मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरे।

‘तपाईंले कसलाई भोट हाल्नुहुन्छ, त्यो तपाईंको कुरा हो। तर यसलाई भोट दिनु, उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन,’ लामिछानेले भने।

प्रकाशित: ९ असार २०८३ १६:१५ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast