सीमासम्बन्धी अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ : हर्क साम्पाङ

हिमाल प्रेस २७ जेठ २०८३ १५:५२ | Wednesday, June 10, 2026
12
SHARES
सीमासम्बन्धी अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ : हर्क साम्पाङ

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी अभिव्यक्ति स्वयं प्रधानमन्त्री नै सदनमा उपस्थित भएर सच्चाउनुपर्ने बताएका छन्।

बुधबार बसेकोे प्रतिनिधिसभा बैठकमा साम्पाङले प्रधानमन्त्रीले राखेको विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने कुरामा आफूहरुको असहमति रहेको भन्दै स्वयं प्रधानमन्त्री नै सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्चाउनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरामा आफूले जोड दिएको उनले बताए। उनले प्रधानमन्त्री सदनमा आउन नसके लिखित रुपमा आफ्नो जवाफ दिन सक्ने उल्लेख गरे।

‘प्रधानमन्त्री भन्ने पदलाई जिम्मेवार बनाउने कुरा हो, उहाँ चाहिँ यहाँ आउँदै नआउने, आउने नै नहुने, न्यायसम्मत छैन, संविधानसम्मत पनि छैन,’ उनले भने,‘सम्बन्धित व्यक्ति जसले गल्ती गर्नुभएको छ उहाँबाट नै जवाफ आउनुपर्छ, उहाँको धारणा के हो त?परराष्ट्रमन्त्रीले आफ्नो धारणा राख्नु हुन्छ, प्रधानमन्त्रीको धारणा के हो त?’

एउटाले गल्ती गरेर अर्कोले सच्याइदिने कुरा मान्य नहुने भन्दै उनले प्रधानमन्त्रीको जवाफ खोज्ने आफूहरूको अडान कायमै रहेको बताए।

सीमा लगायतका विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाएका छन्।

प्रकाशित: २७ जेठ २०८३ १५:५२ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast