नुवाकोटमा जिप दुर्घटनामा एक जनाको मृत्यु

हिमाल प्रेस १५ जेठ २०८३ ५:३० | Friday, May 29, 2026
2
SHARE
नुवाकोटमा जिप दुर्घटनामा एक जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

नुवाकोट- नुवाकोटमा बिहीबार साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे-टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका-६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी-२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो।

उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए। साथमा रहेको सवारी चालक अनुमतिपत्रका आधारमा उनको सनाखत गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका-५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका-९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

उनका अनुसार ढिकुरेबाट काठमाडौँ जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार छहरे-टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका-६ गुर्जेभञ्याङ नजिकै अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो।

स्थानीयवासीको सहयोगमा प्रहरीले जंगल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाएको थियो।

प्रकाशित: १५ जेठ २०८३ ५:३० | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast