प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा हर्क साम्पाङको आपत्ति, उपसभामुखप्रति पनि असन्तुष्टि

हिमाल प्रेस २५ वैशाख २०८३ ११:५९ | Friday, May 8, 2026
18
SHARES
प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा हर्क साम्पाङको आपत्ति, उपसभामुखप्रति पनि असन्तुष्टि

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएका छन्। आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुबी कुमारी ठाकुरप्रतिसमेत राईले असन्तुष्टि जनाएका छन्।

सांसदसमेत रहेका अध्यक्ष राईले शुक्रबार जारी गरेको वक्तव्यमा संसद्लाई छलेर राष्ट्रप्रमुखमाथि दबाब सिर्जना गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराइएको र चौथो वरीयताको न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै त्यसलाई गलत कदमको संज्ञा दिएका हुन्।

अध्यक्ष राईले भने,‘संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो। गलत कार्यलाई कदापि सही भन्न सकिन्न।’ उनले सरकारले वरीयतामा चौथो स्थानमा रहेका व्यक्तिलाई नियुक्त गरेर अर्को ठूलो गल्ती गरेको आरोप लगाएका छन्। ‘वरीयताको चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु सरकारको अर्को ठूलो गल्ती हो। हाम्रो घोर आपत्ति छ,’ उनले भने।

राईले सरकारले विधि र सुशासनको प्रतिबद्धता जनाए पनि व्यवहारमा प्रक्रिया मिचेर राजनीतिक तथा कानुनी स्वार्थअनुसार निर्णय गरिरहेको आरोप लगाए। ‘सहकारी ठगी प्रकरण र भदौ २३-२४ को जेन-जेड आन्दोलनजस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन यस्तो नियुक्ति गरिएको हुन सक्ने आशंका प्रशस्त देखिन्छ,’ उनको भनाइ छ।

उनले नियुक्तिसम्बन्धी बैठकका क्रममा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी पनि गरेका छन्।

आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखले समेत वरीयताक्रम उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गरेकोप्रति उनले दुःख व्यक्त गरेका छन्। ‘विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको श्रम संस्कृति पार्टी सधैँ विरोध गर्दछ,’ वक्तव्यमा उल्लेख छ।

ठाकुर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा उपसभामुख बनेकी थिइन्। संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, कानुनमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेता रहने व्यवस्था छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बिहीबारको संवैधानिक परिषद् बैठकले न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो।

प्रकाशित: २५ वैशाख २०८३ ११:५९ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast