काठमाडौँ- पछिल्ला सात वर्षमा कुल सार्वजनिक ऋण दोब्बर भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म कुल सार्वजनिक ऋण एक खर्ब ४३ अर्ब ३४ करोड रुपैयाँ थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यो बढेर दुई खर्ब ९३ अर्ब ३७ करोड ९० लाख रुपैयाँ पुगेको छ।
सार्वजनिक खर्च बढ्नु, वैदेशिक अनुदान घट्नु र राजस्व संकलन कमजोर हुनुका कारण स्रोत अभाव पूर्ति गर्न सरकारले सार्वजनिक ऋणतर्फ निर्भर हुनुपरेको छ। परिणामस्वरूप कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सार्वजनिक ऋणको हिस्सा २०७६/७७ मा ३६.४६ प्रतिशतबाट बढेर २०८२/८३ को तेस्रो त्रैमाससम्म ४८.०४ प्रतिशत पुगेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार हाल आन्तरिक ऋण जीडीपीको २२.७३ प्रतिशत छ भने वैदेशिक ऋण २५.३१ प्रतिशत छ।
कुल बक्यौता ऋणमध्ये एक खर्ब २६ अर्ब ८२ करोड २० लाख रुपैयाँ (४७.३१ प्रतिशत) आन्तरिक ऋण हो भने एक खर्ब ४० अर्ब ५८ करोड २० लाख रुपैयाँ (५२.६९ प्रतिशत) वैदेशिक ऋण छ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कुल सार्वजनिक ऋण २५ अर्ब ९७ करोड ४० लाख रुपैयाँले बढेको छ। साउनमा दुई खर्ब ६७ अर्ब ४० करोड ४० लाख रुपैयाँ रहेको सार्वजनिक ऋण बढेर हालको अवस्थामा पुगेको हो।
मुद्रा अवमूल्यनले पनि ऋणको भार बढाएको छ। नेपाली रुपैयाँ प्रमुख अन्तर्राष्ट्रिय मुद्रासँग कमजोर हुँदा वैदेशिक ऋणमा थप ११ अर्ब ५७ करोड ५० लाख रुपैयाँ भार थपिएको छ।
ऋण सेवा खर्च पनि उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले साँवा र ब्याज भुक्तानीका लागि २५ अर्ब ८४ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ, जुन कुल जीडीपीको ४.२३ प्रतिशत हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यसमध्ये २० अर्ब ४० करोड रुपैयाँ साँवा भुक्तानीमा र पाँच अर्ब ४२ करोड ७० लाख रुपैयाँ ब्याजमा खर्च भएको छ। आन्तरिक ऋणतर्फ १६ अर्ब ३७ करोड ७० लाख रुपैयाँ साँवा र चार अर्ब ५६ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको छ भने वैदेशिक ऋणतर्फ चार अर्ब तीन करोड ९० लाख रुपैयाँ साँवा र ८६ करोड ७० लाख रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।
चालु आर्थिक वर्षमा सरकारले ५९ अर्ब ५६ करोड ६० लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। यसमध्ये ३६ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण र २३ अर्ब ३६ करोड ६० लाख रुपैयाँ वैदेशिक ऋणबाट जुटाउने लक्ष्य छ। तेस्रो त्रैमाससम्म ३४ अर्ब ८१ करोड ५० लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ५८.४५ प्रतिशत ऋण परिचालन भइसकेको छ।
आन्तरिक ऋणतर्फ प्रगति तुलनात्मक रूपमा राम्रो देखिएको छ, जहाँ २८ अर्ब ३६ करोड ६० लाख रुपैयाँ (लक्ष्यको ७८.३६ प्रतिशत) उठाइसकिएको छ। तर वैदेशिक ऋण परिचालनमा प्रगति कमजोर देखिएको छ, जहाँ चैत मसान्तसम्म ६ अर्ब ४४ करोड ८० लाख रुपैयाँ (लक्ष्यको २७.६ प्रतिशत) परिचालन गरिएको छ।



