चितवनसँग हारेपछि जनकपुरको प्लेअफ यात्रा समाप्त

हिमाल प्रेस २७ कार्तिक २०८३ २०:३६ | Friday, November 13, 2026
12
SHARES
चितवनसँग हारेपछि जनकपुरको प्लेअफ यात्रा समाप्त

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेसँगै जनकपुरको प्लेअफ यात्रा समाप्त भएको छ। चितवनले भने प्रतियोगिताको अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा चितवनले सुरुवातमै दबाब सामना गर्नुपरेको थियो। ओपनर अर्जुन साउद दोस्रो बलमै खाता नखोली आउट भए। एकपछि अर्को विकेट गुमाउने क्रममा चितवन ३७ रन जोड्दा पाँच विकेटको क्षतिमा पुगेको थियो।

तर डाविड मालान र कुशल मल्लले छैटौं विकेटका लागि ३० रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाए। मालान ३५ रनमा अविजित रहे। उनले ३९ बलमा एक छक्का प्रहार गरे। कुशलले १५, रवि बोपारले १३ र कमिल मिशाराले १२ रन बनाए।

बलिङतर्फ जनकपुरका राहुल यादवले तीन विकेट लिए भने ललित राजवंशीले दुई र विशाल सुशलिङले एक विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सकेको थियो। चितवनका स्पिनरले जनकपुरको ब्याटिङ क्रमलाई सुरुदेखि नै दबाबमा राखेका थिए।

जनकपुरका कप्तान हर्मीत सिंहले सर्वाधिक २४ रन बनाए। उनले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरे। विशाल सुशलिङले १५ रन जोड्दा सन्तोष कार्कीले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

जनकपुरले नियमित अन्तरालमा विकेट गुमाउँदा ठूलो साझेदारी गर्न सकेन। पाँचौं विकेटका लागि विशाल सुशलिङ र आदित्य महताबीच भएको १८ रनको साझेदारी नै टोलीको सबैभन्दा ठूलो साझेदारी बन्यो।

चितवनका रन्जित कुमारले उत्कृष्ट बलिङ गर्दै तीन ओभरमा एक मेडनसहित दुई रन खर्चेर तीन विकेट लिए। कप्तान सिकन्दर राजाले चार ओभरमा दुई मेडन राख्दै १० रन दिएर दुई विकेट लिए। कमिल मिशाराले पनि दुई विकेट हात पारे। कमल सिंह ऐरी र रिजन ढकालले एक एक विकेट लिए।

यो जितसँगै ६ खेलबाट सात अंक जोडेको चितवन अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। उसको प्लेअफ सम्भावना अब अन्तिम खेलको नतिजासँग जोडिएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ २०:३६ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast