काठमाडौँ महानगरले थाल्यो एसईई नतिजा सुधारका लागि विशेष कक्षा

हिमाल प्रेस १३ फागुन २०८२ २०:३५ | Wednesday, February 25, 2026
10
SHARES
काठमाडौँ महानगरले थाल्यो एसईई नतिजा सुधारका लागि विशेष कक्षा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि छ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ। गत वर्षका लिइएको एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजनाअनुरूप विशेष कक्षा सुरु गरेको हो।

कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार  पहिलो चरणमा धेरै विद्यार्थी भएका गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुह्येश्वरी बालशिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको हो। यी विद्यालयमा विशेष कक्षाको आवश्यकता भएका ५२३ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइनेछ। विषय विज्ञ, स्रोत शिक्षक, सेवानिवृत्त शिक्षकहरूले यी कक्षाहरू लिनेछन्।

न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्रि माध्यमिक विद्यालयमा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुने ढकालले जानकारी दिए।

यी विद्यालयका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ। यी दुवै समूहमा गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिनेछ।  गीतामाता माविमा कक्षाको सुरुआत गर्दै कामपाको  कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, विद्यार्थीमा परीक्षाको डर हटाउन परीक्षामा आत्मविश्वाशका साथ सहभागी हुन प्रोत्साहन गर्ने, उत्तर लेख्ने सीप सिकाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताइन्।

यस वर्ष कामपाका सामुदायिक विद्यालयबाट करिब चार हजार ५५७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन्। ढकाल भन्छन्, ‘ख्याति पाएका व्यक्तित्वहरू १० वटा प्रयत्न गर्दा एउटामा राम्रो नतिजा प्राप्त गर्नुहुन्छ। उहाँहरू १० वटै प्रयत्नमा सफल हुन १० गुणाबढी मिहिनेत गर्नुहुन्छ। सफल हुने मन्त्र यही हो।’

विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी विद्यार्थीमध्ये ७८९ विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए। यसमा १७ जनाले ४ जीपीए पाए। यो नतिजा २०८० कोभन्दा ४४.७७ प्रतिशत धेरै हो।

प्रकाशित: १३ फागुन २०८२ २०:३५ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast