विदेशी विश्वविद्यालय सम्बन्धन कलेजले शिक्षा तहसनहस पार्‍यो भन्दै अनेरास्ववियुले बुझायो ज्ञापनपत्र

हिमाल प्रेस १५ पुष २०८२ १३:०७ | Tuesday, December 30, 2025
14
SHARES
विदेशी विश्वविद्यालय सम्बन्धन कलेजले शिक्षा तहसनहस पार्‍यो भन्दै अनेरास्ववियुले बुझायो ज्ञापनपत्र

काठमाडौँ- नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नेपालमा सञ्चालित कलेजहरूले शिक्षा क्षेत्रमा गम्भीर विसंगति सिर्जना गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष ज्ञापनपत्र बुझाएको छ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज बुझाइएको ज्ञापनपत्रमा अनेरास्ववियुले यस्ता कलेजहरूले विद्यार्थीको भविष्यसँग खेलबाड गरेको, शिक्षा महँगो बनाएको र नेपाली शैक्षिक वातावरणलाई प्रतिकूल असर पारेको आरोप लगाएको छ। संगठनले विदेशी शिक्षण संस्थासम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या बढेको जनाउँदै यथाशीघ्र आवश्यक ऐन कानुन निर्माण गर्न माग गरेको छ।

ज्ञापनपत्रमा विदेशी सम्बन्धन कलेजहरूको प्रशासनिक अभिलेख, सञ्चालन अनुमति र नवीकरण प्रक्रिया शिक्षा मन्त्रालयमार्फत व्यवस्थापन गरी गुणस्तर सुनिश्चितता, अनुगमन तथा मापदण्ड निर्धारणको जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई दिनुपर्ने माग गरिएको छ। साथै, कक्षा १०+२ पछि ‘फाउन्डेसन कोर्स’ का नाममा समय र आर्थिक भार थप्ने तथा प्रोफेसनल डिप्लोमा कोर्समार्फत विद्यार्थी ठगी गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने उल्लेख छ।

अनेरास्ववियुले तोकिएको मापदण्ड पूरा नगर्ने, एकभन्दा बढी विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालन भएका तथा स्नातक र स्नातकोत्तर तहको अवधि अनावश्यक रूपमा बढाएर विद्यार्थी ठगी गरेको आरोप लगाउँदै दि ब्रिटिश कलेजलगायत त्यस्ता सबै कलेजको दर्ता तत्काल खारेज गर्न माग गरेको छ। यस्तै, अन्यायमा परेका विद्यार्थीको अध्ययन निरन्तरताका लागि वैकल्पिक व्यवस्था र उचित क्षतिपूर्तिको प्रबन्ध गर्नुपर्ने माग पनि राखिएको छ।

संगठनले सबै कलेजलाई अनिवार्य रूपमा QAA मान्यता प्राप्त गर्नुपर्ने, कम्तीमा १० प्रतिशत विद्यार्थीका लागि निःशुल्क छात्रवृत्ति व्यवस्था गर्नुपर्ने र छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक गर्नुपर्ने माग गरेको छ। साथै, विदेशी सम्बन्धन कलेजमा न्यूनतम १० प्रतिशत विदेशी विद्यार्थी र विदेशी अध्यापक अनिवार्य राख्नुपर्ने, पाठ्यक्रम नेपाली विश्वविद्यालयसँग समकक्ष हुने गरी विकास गर्नुपर्ने तथा पारदर्शी परीक्षा प्रणाली लागु गर्नुपर्ने उल्लेख छ।

प्रकाशित: १५ पुष २०८२ १३:०७ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast