सामुदायिक विद्यालयका शिक्षकहरू।
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौँमा जारी शैक्षिक आन्दोलनलाई ‘अन्तिम र निर्णायक धक्का’ दिनुपर्ने अवस्था आएको बताएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनलाई अझ सशक्त बनाउँदै अग्रगामी ऐन जारी गराउन अन्तिम धक्का आवश्यक भएको उल्लेख छ। त्यसका लागि महासंघले देशभरका शिक्षक तथा विद्यालय कर्मचारीलाई राजधानी आउन आह्वान गरेको छ।
आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब दिने कार्य कतिपय स्थानीय तहबाट भएकोमा महासंघले आपत्ति जनाएको छ।
संविधानले दिएको सामूहिक सौदावाजीको अधिकारको सम्मान गर्न स्थानीय तहलाई अनुरोध गर्दै महासंघले यस्ता गतिविधिबाट विचलित नहुन सबै शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ।
महासंघले आन्दोलनलाई निर्णायक बनाउँदै शिक्षकको हकहित सुनिश्चित गर्न सम्पूर्ण शिक्षक कर्मचारीलाई साथ दिन आह्वान गरेको छ।
महासंघका अनुसार २०८१ चैत २० गतेबाट सुरु भएको शैक्षिक सडक आन्दोलन २५ दिन नाघिसकेको छ। गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षकमैत्री विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिन सुरु गरिएको आन्दोलन अहिले निर्णायक चरणमा पुगेको महासंघको भनाइ छ।



