![जसपा नेपालको कार्यविभाजन : पूर्वमुख्यमन्त्री लालबाबुलाई संगठन विभाग, प्रचारमा पूर्ण](https://himalpress.com/wp-content/uploads/2025/02/JASAPA-NEPAL_meeting.jpg)
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागमा कार्यविभाजन सकेको छ। माघ २१ सम्म बसेको केन्द्रीय कार्यकारिणीले कार्यविभाजन टुंग्याउँदै परिपत्र गरेको हो।
संगठन विभाग प्रमुखको जिम्मेवारी मधेसका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता लालबाबु राउतलाई दिइएको छ। उपप्रमुख लाक्पा शेर्पा बनेका छन्। पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख सुरेशकुमार मण्डल बनेका छन्। उपप्रमुख अम्बिका काफ्ले तोकिएकी छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा र उपप्रमुख रेणुका सिंह तोकिएका छ्न्। प्रचार विभाग प्रमुखमा पूर्णबहादुर बस्नेत तोकिएका छन्। उपप्रमुख शम्भु झा बनेका छन्।
महिला विभाग प्रमुख प्रमिला यादव र उपप्रमुख शशी लिङ्देन चयन भएकी छन्। स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र उपप्रमुखमा अब्दुल कलाम अन्सारी तोकिएका छन्।
जसपा नेपालले ४७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। पार्टी उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा विशेष टास्क फोर्स गठन गरेको छ। यसले काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने मधेसी समुदायलाई पार्टीमा आबद्ध तथा संगठित गर्नेछ।
समितिमा खालिद सिद्धिकी, मनिषकुमार सुमन, शैलेन्द्रप्रसाद साह सदस्य छन्। जसपा, नेपालले लुम्बिनी प्रदेश प्रमुख अभियन्ताको रूपमा पार्टी महासचिव रामकुमार शर्मालाई जिम्मेवारी दिएको छ। कर्णाली प्रदेशको प्रमुख अभियन्ताको जिम्मेवारी बलवीर नेपालीले पाएका छन्।