काठमाडौँ- जनता समाजवाद पार्टी (जसपा) नेपालले लुम्बनी प्रदेशका आफ्ना चार प्रदेश सांसदलाई पार्टीबाट निष्कासन गरेको छ।
काठमाडौँमा विगत तीन दिनदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरित काम गरेको भन्दै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।
जसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३(१) बाट निर्वाचित सन्तोष पाण्डे, समानुपातिक निर्वाचन तर्फबाट निर्वाचित हेमा वेल्वासे (केसी), बाँके निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र क्षेत्र नम्बर २ (२) बाट निर्वाचिन आदेशकुमार अग्रवाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिए।
पार्टीको निर्देशन र निर्णयविपरित उनीहरू लुम्बनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएकोले अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको झाले बताए।
जसपा नेपालको बैठकले कोशी प्रदेशमा समानुपातिकतर्फबाट निर्वाचित प्रदेश सांसद निर्मला तावालाई पनि पार्टीबाट निष्कासन गरेको छ।
त्यस्तै पार्टीका तर्फबाट निर्वाचिन सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलित्तर महतोसहित अनुशासनविपरित काम गरेका विभिन्न स्थानीय तहका पार्टी नेता कार्यकर्तामाथि अनुशासनको कारबाही गर्दै सधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।
केन्द्रीय कार्यकारिणी समिति बैठकले भोटेकोशी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धार कार्यमा सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा २१ लाख नगद सहयोग गर्ने निर्णय गरेको छ।
महासचिव झाले केन्द्रीय कार्यकारिणी समितिको बैठकले अग्रगामी मोर्चाको गठनलाई सर्वसम्मतिले स्वागत गरेको जानकारी दिए। उनले बैठकले आगामी असोज १३, १४ र १५ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ।




